राजनीति मेरो पेशा होइन, जनताप्रतिको सेवा हो–सफिक बेहना
प्रकाशित मिति : २०७४, ८ माघ सोमबार १२:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ ८। नेपालगञ्ज उपमहानगरपलिकामा २३ वडा छन् । २३ वडामै नयाँ जनप्रतिनिधि चुनिएर आएपछि जनताले धेरै आशा गरेका छन् । ४ नम्बर वडा बजार क्षेत्र भएकाले यो वडालाई पनि सबैले चासोका साथ हेरिरहेका छन् । ४ नम्बर वडामा भइरहेका विकास निर्माणका काम र भावी योजनाबारे बागेश्वरी पोष्ट डट्कम्का सौरभ गिरीले वडा अध्यक्ष मो.सफिक बेहनासंग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानी–
Advertisement
१. तपाईं अध्यक्षमा निर्बाचित भएको ६ महिना बितिसक्यो…..कस्तो महसुस भएको छ ?
सबैभन्दा पहिला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षको हैसियतले वडाबासीलाई धन्यबाद दिन चाहन्छु जसले मलाई योग्य ठानेर बिजयी गराउनुभयो। अब मेरो अनुभब भन्नु पर्दा म पहिलो पटक चुनाबमा आएको हुँ र पहिलो पटकमै चुनाब पनि जिते। चुनाब भन्दा पहिला सिंहदरबारको अधिकार वडा कार्यालयमा हुन्छ भन्ने सोच राखेको थिएँ तर त्यस्तो भएको छैन। एउटा सानो कामको लागि समेत नगरपालिकालाई गुहार्न परेको अवस्था रहेको छ। यस्तो हुनु भनेको नगरपालिकाको दोष होइन यो चाहिँ राज्यको नै गल्ती हो। अब स्थानीय चुनाब हुनु पूर्ब जनताहरुलार्इ सबै काम वडा स्तरमै हुन्छ भन्ने थियो तर अहिले सम्म त्यस्तो अधिकार हामीलाई प्राप्त भएको छैन, एउटा कलम समेत किन्न नागरपालिकको सिफारिश लिनु पर्ने अवस्था छ। अब बिस्तारै होला सबै काम गर्ने अधिकार वडालाई पनि। भर्खरै मात्र केन्द्रको निर्बाचन सकिएको छ। प्रदेश सभाको पनि निर्वाचन भएको छ, अब सबै काम कारबाही पूरा हुन्छ। हामीले गर्नु पर्ने काम धेरै छन् । बिस्तारै सबैलाई जानकारी हुनेछ। म जनताहरुले लिएर आएको काम अनि वडाका सबै समस्या चाँडै पूरा हुन्छन्।
२. तपाईंको वडाको बिकाशको लागि के के गर्दै हुनुहुन्छ ?
हाम्रो ४ नम्बर वडाको बिकाशका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट ९० लाख ४० हजार १ सय ३१ रुपैयाँ बजेट रकम पाएका छौं। अब गाह्रो कुरा के छ भने यो सबै बजेट त हामीले गरेको तर यो सबै कामको टेण्डर प्रक्रिया चाहिँ नगरपालिकाले गराउँछ। अहिलेसम्म हामीले हाम्रो वडामा खाता समेत संचालन गर्न सकिएको छैन। त्यसैले गर्दा अलिकति गाह्रो देखिएको छ। सबै काम वडाबाट भइराखेको छैन। हाम्रो वडामा सानो ठूलो गरेर २१ वटा योजना बनाएका छौं। हाम्रो वडामा एडिबीको समेत योजना रहेको छ, त्यो पनि ठूलो योजना हो। साथै सल्यानी बंगलामा केन्द्रिय योजना समेत रहेको छ। हाम्रो वडाको मुख्य ठूलो समस्या भनेको ढल निकासीको हो। बसपार्कदेखि पुरानो सिनेमा हल हुँदै जय बागेशवरी स्कूल नजिकैको नालामा मिलेको छ। यो पनि केन्द्रीय योजनाले गर्दै आएको छ। यो ४, ५ बर्ष भित्र पूरा हुन्छ।
३. तपाईको मूख्य ३ प्राथमिकता के के हुन् ?
सबैभन्दा पहिला त ढल निकासी, फोहर व्यस्थापन लगायत एउटा पार्क बनाउने बिचार हो । अब ढल निकासीको समस्या केही समाधान हुँदै आइरहेको छ तर डम्पिंग साईड नहुँदा फोहर व्यवस्थापनमा समस्या हुँदै आइरहेको छ।
४. तपाईंलाई जनताको साथ कत्तिको मिलेको छ ?
म राजनीतिमा आउनु भन्दा अघि एउटा ब्यापारी पनि हो। नेपालगन्जका धेरै ब्यक्तिहरुसंग मेरो राम्रो सम्बन्ध पनि छ। राजनीति मेरो पेशा होइन, यो चाहिँ मेरो जनताप्रतिको सेवा हो। मैले चुनाब अघि नै एउटा बाचा जनतासंग गरिसकेको छु कि मैले कुनै तलब भत्ता नलिने भनेर । तर यी सबै कुरा अहिलेसम्म प्राप्त भएको छैन, यो प्राप्त भएपछि सबै राम्रो काममा लगाउँछु। मलाई जिताएर यहाँसम्म पुर्याउने मेरा वडाबासीले तपाईंलाई साथ हामी दिन्छौं, तपाईं राम्रो काम गर्नुस् भनेर भन्दै आइरहनुभएको छ र म त्यही अनुसार गर्नेछु।
५. २० बर्षपछि जनप्रतिनिधि आउँदा जनता जुन हिसाबले उत्साहित थिए, समय बित्दै गर्दा खासै आशाबादी देखिएका छैनन् भनिन्छ। तपाईंको वडाको के छ अवस्था ?
अब कुरा त्यही हो, जनतालाई एउटा आशा के थियो भने वडा स्तरमा कार्यालय आएपछि सिंहदरबारका अधिकार पनि वडा बाट नै हुन्छ भन्ने तर त्यस्तो व्यवस्था राज्यले गर्न नसक्दा जनता लाई समस्या परेको हो। अब वडामा जनप्रतिनिधि आइसकेपछि वडामा काम नहुँदा अप्ठ्यारो मान्नु सही कुरा हो, उहाँहरुलाई तत्काल रिजल्ट चाहिएको हुन्छ तर त्यस्तो नहुँदा समस्या भएको छ। अघि मैले भनिसकें एउटा सानो कामको लागि नगरपालिका धाउनु पर्ने अवस्था छ। म उहाँहरुलाई भन्न चाहन्छु कि तपाईंहरुको सबै अधिकार वडामै आउँछ, हामी त्यो अधिकार दिलाउँछौ। हामीसंग बजेट छ तर त्यो सरकारी सम्पत्ति हो त्यसलाई हामीले आफ्नो वडामा सही ढंगबाट उपयोग गर्नेछौं। हामीले सबै काम कारबाही वडाबाट गर्ने व्यवस्था मिलाउँछौं।
६. नेपालगन्जका मेयर र वडा अध्यक्षहरु बीच खासै राम्रो सम्बन्ध बनिरहेको छैन भन्ने हल्ला छ नि ?
त्यस्तो कुरा केही होइन। कसैलाई त्यस्तो लागेको हुनसक्ला तर के बुझ्नुपर्छ भने मेयर साब साह्रै राम्रो मान्छे हुनुहुन्छ। यसअघि पनि यहाँ मेयर भइसकेको मान्छेलाई सबै कुराको ज्ञान छ, कसरी के गर्ने भनेर। उहाँले हामी सबै राम्रो तरिकाले काम गर्नु पर्छ भन्दै आइरहनु भएको छ। अब एउटै घरमा धेरै जनाको परिवार भएपछि त सामान्य बिबाद हुन्छ, तितो मिठो हुन्छ तर त्यस्तो कुनै मतभेद मेयर साबबाट हुँदैन। हामीलाई बिकाश निर्माणका काम गर्नलाई मेयर साबबाट पूरै सहयोग मिलेको छ।
७. नेपालगन्जको मुख्य ब्यापारिक केन्द्र न्यू रोड समेटिएको यो वडामा सानो पानी पर्दा पूरै डुबान हुने स्थान छन्। फोहर व्यवस्थापन राम्रो देखिएको छैन। यसमा तपाईंको पहल कदमी के छ ?
यो वडाको सबैभन्दा ठूलो समस्या ढल निकासको हो । न्यू रोड हाम्रो सहरी बिकाश अन्तर्गत् आउँछ। त्यो निकायसंग हामीले सहकार्य गर्दै त्यतातिरको ढल निकासको ब्यबस्थापनमा हामी लागेका छौं र यो चाँडै पूरा हुन्छ। अबका दिनमा त्यस्तो हुँदैन, म वडाबासीलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु। फोहर व्यस्थापन भने २, ३ महिनामै पूर्ण रुपमा समाधान हुन्छ। पहिला हामीसंग सरसफाई गर्ने कर्मचारी थिएनन् तर अहिले हामीले ४ जना कर्मचारीको व्यवस्था गरेको हुनाले पहिलाको तुलनामा राम्रो भएको छ।
८. अन्त्यमा वडाबासीलाई के भन्न चाहनुहुन्छ ?
तपाईंहरुका सबै समस्या हामी समाधान गरिरहेका छौं। सबै पूरा गर्ने छौं। समस्या लिएर आउनुहोस वडा कार्यालयमा हामी सधैं तपाईंहरुको सेवामा हाजिर हुन्छौ। तपाईंहरुको वडाको मुख्य समस्या चाँडै समाधान गर्नेछौं।