नेपाली नागरिकले थरीथरीका परिचय बोकेर हिँड्नुपर्ने झन्झटबाट अब मुक्ति
प्रकाशित मिति : २०७३, ८ पुष शुक्रबार ०७:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,८ पुस । एकजना नेपाली नागरिकले थरीथरीका परिचय बोकेर हिँड्नुपर्ने झन्झटबाट अब मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र’ले नेपाली नागरिकलाई बहुपयोगी बायोमेट्रिक स्मार्ट कार्ड राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसका लागि द्रुत गतिमा कार्य भइरहेको छ । परिचयपत्रमा नेपाल सरकारको लोगो, राष्ट्रिय झण्डा र पृष्ठमा सगरमाथाको चित्र अङ्कित छ ।
परिचयपत्र निर्माणका लागि असार मसान्तमै सम्झौतासमेत भइसकेको छ भने केन्द्रले आगामी साउनदेखि सिंहदरबारबाट वितरण सुरु गर्ने योजना बनाएको छ । केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले भन्नुभयो, ‘‘यो परिचयपत्रको सुरक्षण मुद्रण कार्य हामी नेपाली आफैँ गर्नेछौँ र नेपाल सरकारका प्राविधिकबाटै छपाइ गर्छौं । नेपाली नागरिकको जैविक विवरण पनि यसमा हुने भएकाले त्यसको सुरक्षालाई ध्यानमा राखी यस्तो गर्न लागिएको हो । ’’
यो बायोमेट्रिक स्मार्ट कार्डमा नेपाली नागरिकको धेरै तथ्याङ्क भण्डारण गर्न सकिनेछ । केन्द्रले विकास गरेको कार्डमा सरकारका अन्य निकायहरूले पनि प्रयोग गर्न चाहेमा केन्द्रले लिङ्क उपलब्ध गराउनेछ । लाजपुर्जामा राखिने जग्गाको विवरण पनि यही कार्डमा राख्न सकिने जानकारी केन्द्रका कार्यकारी निर्देशक भट्टराईले दिनुभयो ।
भट्टराई भन्नुहुन्छ, ‘‘केन्द्रले अन्य निकायलाई पनि लिङ्क उपलब्ध गराउँछ, शैक्षिक योग्यता, करको विवरण, लाइसेन्स, निर्वाचन आयोगले चाहेमा मतदाता नामावली लगायतको विवरण पनि समावेश गर्न सकिन्छ । ’’
यो परिचयपत्रको वितरणपछि सरकारले जारी गरेका अन्य विविध परिचयपत्रहरू क्रमशः विस्थापित हुनेछन् । एउटा नेपाली नागरिकले नागरिकता प्रमाणपत्र, लाइसेन्स, कर्मचारी परिचयपत्र, नागरिक लगानी कोष, सञ्चयकोष, मतदाता परिचयपत्रजस्ता थरीथरीका परिचयपत्र बोक्नुपर्ने अवस्था छ । राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको राष्ट्रिय पहिचानसहितको कानुनी दस्तावेज हो । यसमा नागरिकका वैयक्तिक तथा जैविक विवरण सङ्ग्रह गरिन्छ । राष्ट्रिय परिचयपत्रको प्रणाली विकास गर्न फ्रान्सको स्याफ्रन आइडेन्टिटी एन्ड सेक्युरिटीले ठेक्का पाएको छ । सो कम्पनीले ४८ लाख ७८ हजार ६९८ अमेरिकी डलरमा ठेक्का पाएको केन्द्रले जनाएको छ ।
पहिलो चरणको परिचयपत्र वितरणका लागि एसियाली विकास बैङ्कले सहयोग गरेको छ भने त्यसपछिको आर्थिक व्यवस्थापनका लागि नेपाल सरकारले अहिले सोच्नुपर्ने भएको छ । केन्द्रले नागरिकको विवरणलाई सुरक्षित र भरपर्दो हिसाबले राख्नका लागि एक रोपनी १३ आना जग्गामा आफ्नै भवन निर्माणको कार्यलाई अगाडि बढाएको छ । भवन निर्माण कार्य सुस्त भए पनि काम भने भइरहेको छ । केन्द्रले परिचयपत्र वितरण गर्नलाई ऐनको निर्माण गरी गृह मन्त्रालयमा पठाएको छ र त्यो हाल कानुन मन्त्रालयमा छलफलमा रहेको छ । कानुन बनाउँदा व्यक्तिका आवास, सम्पत्ति आदि व्यक्तिगत कुराहरूको गोपनीयता प्रत्याभूतिका लागि आधिकारिक अधिकारीबाहेक अन्य कसैले जानकारी लिन नसक्ने र सूचना दुरुपयोग भएमा उक्त कार्य दण्डनीय हुने गर्नुपर्नेसमेत सुझाव दिइएको छ ।
जैविक तथा वैयक्तिक पहिचान
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको फोटो, औँलाको छाप रहनेछन् । त्यसलाई जैविक विवरण भनिन्छ । वैयक्तिक पहिचान अन्तर्गत व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिङ्ग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू पर्छन् । नागरिकका विवरणलाई सुरक्षित राख्न २४ प्रकारका सुरक्षण विधि अपनाइएको जानकारी केन्द्रले दिएको छ ।
निर्वाचन आयोगले बनाएको मतदाता परिचयपत्रमा चारवटा औँलाको छाप, तस्बिर हुन्छ भने केन्द्रले वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्रमा १० वटै औँलाको छाप रहनेछ । यो परिचयपत्र पाउनका लागि १६ वर्ष उमेर पूरा भएको, नेपाली नागरिकताको प्रमाणपत्र लिएको र नागरिकता प्राप्त गर्न आवश्यक पर्ने योग्यता पूरा भएको हुनुपर्नेछ ।
निर्वाचन आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीको विवरण र गृह मन्त्रालयले तयार गरेको नागरिकता प्रमाणपत्र वितरणको विवरण पनि केन्द्रले प्राप्त गरिसकेको छ । दुवैको तथ्याङ्कलाई आधार मानेर राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।
Advertisement
थरीथरीका परिचयपत्र बोक्नु पर्दैन
दिनेश भट्टराई
कार्यकारी निर्देशक, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र
राष्ट्रिय परिचयपत्रको वितरण कहिलेबाट सुरु हुन्छ ?
आगामी वर्षको साउनबाट वितरण सुरु गर्ने तयारीमा छौँ । पहिलो चरणमा सिंहदरबारभित्रका कर्मचारीलाई वितरण गर्नेछौँ । त्यसको सँगसँगै कुनै एउटा जिल्ला छनोट गरेर एक लाख १० हजार नागरिकलाई यो परिचयपत्र वितरण गरिनेछ । त्यसको समयावधि बढीमा छ महिना हुनेछ ।
देशव्यापी रूपमा कहिलेसम्म राष्ट्रिय परिचयपत्र वितरण हुन्छ ?
हामीले चार चरणमा नेपालभरि वितरण गर्ने लक्ष्य छ । पहिलो चरण १८ महिनाको छ । दोस्रो चरणमा १५ जिल्लामा जान्छौँ र त्यसको अवधि एक वर्षको हुनेछ । तेस्रो चारणमा हामी २५ जिल्लामा जानेछौँ र त्यसको अवधि दुई वर्षको राखेका छौँ । चौथो चरणमा बाँकी सबै जिल्लामा जानेछौँ । पाँच वर्षभित्र नेपालभरि पुग्ने योजना छ । त्यसको स्रोतसाधन उपलब्ध गराउन नेपाल सरकारले समयमै निर्णय गर्नु आवश्यक छ ।
यो परिचयपत्र कसले वितरण गर्छ ?
अहिले हामी प्रत्यक्ष दर्ता गरेर जाने पक्षमा छौँ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयहरू नै अग्रभागमा रहन्छन् । कानुन बन्दैछ, कानुन बनेपछि त्यसमा थप प्रस्ट हुनेछ । अहिले प्रारम्भिक योजनामा जिल्ला प्रशासन कार्यालयहरू, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालयहरू प्रत्यक्ष दर्ता र वितरणमा संलग्न हुन्छन् । त्यसका लागि घुम्ती टोलीहरू पनि खटाउने सोचमा छौँ । अहिलेको नागरिकता वितरणजस्तो वैयक्तिक खालको मात्र नभएर सङ्कलन र वितरण पनि विद्युतीय प्रविधिमा आधारित हुन्छ ।
वितरणका आधारहरू के के हुनेछन् ?
अहिले त नेपाली नागरिकताको आधारमा वितरण गरिनेछ । नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेका छौँ । कानुन निर्माण भएर आएपछि यसका आधारहरू थप प्रस्ट भएर आउनेछन् । पहिलो चरणमा यो परिचयपत्र निःशुल्क भनेका छौँ ।
यो परिचयपत्रमा के के कुरा हुनेछन् ?
यसमा अहिले दुई थरीका विवरण राख्नेछौँ । त्यसमा आँखाले देख्नसक्ने र सामान्य व्यक्तिले पढ्न सक्छ । अर्को यसमा रहने विद्युतीय चिप्समा रहने विवरणलाई मेसिनले मात्रै पढ्नसक्छ । छापिने विवरणमा हामीले नागरिकतामा हुने विवरण नै राख्छौँ । त्यसमा हजुरबुवाको नाम थपिनेछ । कार्डको प्रारम्भिक डिजाइन स्वीकृत भइसकेको छ तर अन्तिम नमुना पनि मन्त्रिपरिषद्बाटै स्वीकृत हुने हो । चिप्सको क्षमताका आधारमा त्यसमा धेरै विवरण राख्न सक्छौँ । सुरुमा प्रारम्भिक विवरण मात्रै राख्छौँ, अन्य निकायहरूले राख्न चाहेमा थपिएर जानेछन् ।
यो परिचयपत्रमा बनेपछि सरकारबाटै जारी अन्य परिचयपत्र के हुन्छन् ?
यो परिचयपत्र बन्नुको प्रमुख उद्देश्य भनेकै थरीथरीका परिचयपत्र विस्थापित गरी एकीकृत बहुउपयोगी परिचयपत्र वितरण गर्न लागेका हौँ । थरीथरीका परिचय बोक्नुपर्ने झन्झटबाट मुक्ति दिलाउनु नै यसको प्राथमिक उद्देश्य हो ।