के कांग्रेस नेतृत्वले नेता शंकर गिरीको योगदानको मूल्याङ्कन गर्ला ?
प्रकाशित मिति : २०७४, १५ जेष्ठ सोमबार १२:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर, दाङ । नेपाली कांग्रेसभित्र लामो इतिहास बोकेका तर पार्टीले इतिहासका हरेक कालखण्डमा बिर्सेका दाङ कांग्रेसका पुराना र सक्रिय नेता शंकर गिरीलाई यो पटक कांग्रेस नेतृत्वले न्याय गर्न लागेको संकेत देखिएका छन् ।
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा प्रष्ट बक्ताका रुपमा चिनिने, इमान्दार, जुझारु, सक्रिय तथा पार्टीको केन्द्रिय प्रशिक्षक समेत रहेका गिरीलाई उम्मेदवार बनाउन लागेको चर्चा आजकाल निकै चलेको छ । यो चर्चाले सार्थकता पाए लामो समयदेखि उनीमाथि भइरहेको अन्याय रोकिने कांग्रेसीहरुको बुझाई छ ।
आजभन्दा करिब ४७ वर्ष अगाडि अर्थात् २०२७ साल पौष १ गते राति तत्कालीन राप्ती अंचलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीतिको शुभारम्भ गरेका गिरीले हालसम्म कुनै लाभको पद पाएका छैनन् न त प्रत्यक्षरुपमा कुनै आम निर्वाचनमा उम्मेदवार हुन पाएका छन् । विभिन्न समयमा नेपालगञ्जदेखि दाङमा पटक पटक गरी गिरफ्तार, हिरासत तथा नजरबन्दमा परेका गिरी थुप्रै पटक पार्टीको आन्तरिक गुटवन्दीको शिकार हुन पुगेका छन् । दोश्रो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक कोटाबाट उम्मेदवार बनेका थिए तर तत्कालीन सभापति शुशील कोइरालाका अति विश्वास पात्र भएर पनि अन्तिम समयमा उनको नाम काटिएको थियो ।
Advertisement
२०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४१ सालमा राप्ती अंचल केन्द्रिय सम्पर्क समितिको सदस्य भएका थिए । पार्टीको नवौं, दशौं, एघारौं, बाह्रौं र १३औं महाधिवेसनमा प्रतिनिधित्व गरेका थिए । १२औं महाधिनेशनमा नेपाली कांग्रेस दाङको सभापतिमा उम्मेदवारी दिएका गिरी दोश्रो चरणको निर्वाचनमा पराजित भएका थिए ।
भारतको आगरा विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यामिक विद्यालय उरहरीमा प्रधानाध्यापक भई सक्रिय शैक्षिक नेतृत्व समेत गरेका थिए । कुशल राजनीतिज्ञरुपमा चिनिने गिरीले तुलसीपुर क्षेत्रमा उच्च शिक्षाका लागि राम्रो शैक्षिक संस्थाको कमीलाई पूर्ति गर्न राप्ती बबई क्याम्पसको स्थापनाको परिकल्पना गर्न महत्वपूर्ण योगदान दिएका छन् । त्यस्तै तत्कालीन उरहरी २ कचिलामा २०५३ सालदेखि निजी स्कूल दिब्यज्योति खोली त्यस क्षेत्रको शैक्षिक विकासमा पनि महत्वपूर्ण योगदान गरेका थिए ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका गिरी २०५९ पछिका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका छन् । चाहे त्यो राजाद्वारा गराइएको नगर निर्वाचनको विरुद्धमा प्रहरी हिरासतमा जाँदा होस् या २०६२/६३ को आन्दोलनमा चाहे त्यो माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता अभियानमा दर्जनौं पटक वार्तामा जाँदा होस् उनी निस्वार्थ कुनै पदको लोभ विना नेतृत्वदायी भूमिकामा रहे । त्यसो त उनी समानुपातिक सभासद्को नाम काटिँदा तत्कालीन सभापति शुशील कोइरालासंग कुनै बार्गेनिङ गरेको भए पार्टीको केन्द्रिय सदस्य, तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको राजनैतिक सल्लाहकार या भनै कुनै उच्च पदमा आसिन हुने थिए तर निस्वार्थ भावनाले लागेका गिरी पार्टी नेतृत्वले गरेको निर्णयलाई निरन्तर आत्मसाथ गर्दै सक्रिय राजनीतिमा लागिरहेका छन् ।
नेपालको संविधानले स्थानीय कार्यपालिकामा सिंहदरवारको अधिकार दिएकाले यस पटकको चुनावलाई निकै महत्वका साथ हेरिएको छ । कुशल राजनीतिज्ञ, विभिन्न विषयबस्तुलाई तार्किकता साथ चिर्न सक्ने, विकासप्रेमी, भिजनरी र आफ्नो जीवनको सम्पूर्ण उर्जावान समय करिव ५ दशकसम्म निस्वार्थ पार्टीमा लागेका दाङ कांग्रेसका पुराना र सक्रिय नेता गिरीलाई यो पटक अवश्य पनि कांग्रेस नेतृत्वले मूल्याङ्कन गर्ने आमकार्यकर्ताको विश्वास छ ।