डुडुवाको विषयगत समितिद्वारा बजेट विनियोजन कार्यान्वयनका लागि सिफारिस
प्रकाशित मिति : २०७५, २० असार बुधबार १८:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा (बाँके), २० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को बजेटका लागि विषयगत समितिबाट विकास बजेटतर्फको रकम विनियोजन गरी सिफारिस गरेको छ ।
विभिन्न ६ वटा विषयगत समितिहरुको छुट्टाछुट्टै आज बुधबार बसेको बैठकले रु. ९ करोड २८ लाख ३२ हजारको प्रस्तावित बजेट विनियोजन गरेको हो । त्यस अन्तर्गत् पुर्वाधार विकासतर्फ रु. ४ करोड २० लाख ३२ हजार, आर्थिक विकासतर्फ रु. १ करोड ५० लाख, सामाजिक विकासतर्फ रु. २ करोड ३८ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु. ६० लाख, वातावरण तथा विपत् व्यवस्थापनतर्फ रु. ५० लाख, वित्तिय सुशासनतर्फ रु. १० लाख बजेट विनियोजन गरिएको हो ।
समितिले समुदायस्तरमा वडा भेला गरी प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम छनौट गरी सोही आधारमा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार आज छानिएका विषयगत योजनालाई शिर्षक अनुरुप बजेट बाँडफाँड गरी गाउँसभाबाट पारित गराइनेछ ।
गाउँपालिकाको नयाँ आर्थिक बर्षका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट रु. २४ करोड ५ लाख ७८ हजार रहेको छ । जस अनुसार चालुतर्फ रु. ३ करोड ८८ लाख, सम्पुरकतर्फ रु. ३ करोड, ससर्ततर्फ रु. ७ करोड ३१ लाख, विकासतर्फ रु. ८ करोड र प्रदेश सरकारबाट अनुदान रु. १ करोड ८६ लाख ७८ हजार रहेको छ ।
यो चालू वर्ष भन्दा नयाँ आर्थिक बर्षको बजेट कम रहेको छ । गाउँपालिकाले असार १० गते ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गरेको आधारमा बजेट विनियोजन गरी अबको केही दिनभित्र गाउँसभाको बैठकबाट पारित गरिने जनाएको छ । गाउँपालिकाको नयाँ आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि पशु स्वास्थ्यका अभियानलाई प्रभावकारी बनाई दिगो बनाउने र विकास निमार्णको कार्यलाई नमुना बनाउने मुख्य प्राथमिकता रहेको छ ।
विषयगत समितिमा जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागितामा बजेट निर्धारण गरिएको हो ।
यसैबीच गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा नारायण प्रसाद रेग्मी आउनुभएको छ । प्रदेश ५ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उहाँ डुडुवामा आउनुभएको हो । यो भन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद पौडेल सेवा निबृत्त भएपछि रित्त पदमा रेग्मी आउनुभएको हो । उहाँले आजदेखि कार्यालय प्रशासनको कार्य सम्हाल्नुभएको छ ।
Advertisement