शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण
प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार ०८:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,११ साउन।नेपाली पञ्चाङ्ग अनुसार आज, २०७५ साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा, उत्तराषाढाको अन्तिम एवम् श्रवण नक्षत्रको पहिलो चरण, मकर राशिमा नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त हुने गरी खग्रास (पूर्ण) चन्द्र ग्रहण लाग्नेछ।
Advertisement
नेपाली पात्रो अनुसार यो ग्रहणको पूरा अवधि ३ घन्टा ५७ मिनेट हुनेछ। तर, नाशाको वेव साइटमा भने २ मिनेट कम जनाइएको छ।
नाशाले आफ्नो वेवसाइटमा सन् १९०१ देखि सन् २१०० सम्मको ग्रहण तालिका राखेको छ। जसमा २०० वर्षको खग्रास चन्द्र ग्रहणहरूलार्इ हेर्दा आजको ग्रहण यो अवधिको सबैभन्दा लामो अर्थात ठूलो हो।
दुर्इ सताब्दी भित्र हेर्दा यो भन्दा २ मिनेट कम सानो चन्द्र ग्रहण सन् १९६४ मा लागेको थियो। यो ग्रहण एसिया, युरोप, दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलियाबाट देखिन्छ।
छाँयाद्वारा सूर्य वा चन्द्रमाको मण्डललाई आवृत्त गर्ने, ढाक्ने, ग्रहण गर्ने स्थितिलाई ग्रहण भनिन्छ।
सूर्य ग्रहणमा चन्द्रमा सूर्यको बिम्बलाई पूर्णतः वा अंशतः छेकिदिन्छ, जब कि चन्द्र ग्रहणमा चन्द्रमा स्वयम् पृथ्वीको छायाँमा प्रवेश गर्छ। अतः सूर्य ग्रहणमा चन्द्रमालाई छादक र चन्द्र ग्रहणमा पृथ्वी छायाँलाई छादक भनिन्छ।
सूर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई ढाक्छ, यसका लागि सूर्य र चन्द्रको गुढयुति हुनु परमावश्यक हुन्छ र यो स्थिति मात्र औंशीको अन्तमा सम्भव हुन्छ।
यसैगरी आफ्नो भ्रमणवृत्त वा विमण्डलमा गोचर गर्दै चन्द्रमा कहिले आकाशमा यस्तो स्थानमा आउँछ जहाँ त्यो पृथ्वीको छायाँमा प्रवेश गर्न सक्छ ।
पृथ्वीका साथ नै यसको छायाँ पनि आकाशमा त्यसैगरी भ्रमण गर्छ जसरी घाममा हामीसँग हाम्रो छायाँ रहन्छ। तर, छायाँको दिशा र स्थिति सूर्यको स्थितिका कारण फेरिरहन्छ।
पृथ्वीको छायाँमा पस्न चन्द्रमालाई पृथ्वीको छायाँको स्थानमा आउनु आवश्यक छ। पृथ्वी आफ्नो छायाँका साथ सदैव सूर्यसँग ६ राशि वा १८० अंश टाढा हुनु पर्छ।
यसकारण चन्द्र र पृथ्वी छायाँको गुढ्युतिको स्थितिमा अर्थात् पूर्णिमाको अन्त समयमा नै चन्द्र ग्रहण सम्भव हुन्छ।
संहिताको क्षेत्र भूगर्भबाट अन्तरिक्षसम्म छ। यसभित्र हुनेवाला परिवर्तन र त्यसका परिणामको निरूपण संहिता स्कन्धले गर्छ। उपलब्ध संहिताहरुमा पाँचौं सताब्दीका वराह मिहिरले रचेको बृहत् संहिता विश्वमै सर्वाधिक प्रतिष्ठित र सुव्यवस्थित ग्रन्थ हो। यसमा संगृहीत विषयलाई हेर्दा आचार्य वराहमिहिरले यत्र–तत्रबाट महत्वपूर्ण विषयको सङ्कलन गरेर भावी पिँढीका लागि गहन अध्ययन र अनुसन्धानको विस्तृत सामाग्री प्रदान गरेका छन्।
ठूला ठूला साहित्य मर्मज्ञलार्इ पनि आश्चर्य चकित पार्ने यो ग्रन्थ संस्कृतको काव्यात्मक शैलीमा लेखिएको छ।
सयभन्दा बढि अध्याय रहेको यो ग्रन्थको पाँचौ अध्यायको ९८ वटा संस्कृत श्लोक मध्ये सुरूका १८ श्लोकमा ग्रहणको विषयमा पौराणिक मतको खण्डन गरेर विशुद्ध वैज्ञानिक दृष्टिकोणलार्इ नै समर्थन गरेका छन्।
बाँकीका श्लोकमा फलित सम्बन्धित विस्तृत चर्चा गरेका छन्। म आजको यस चन्द्र ग्रहणको फलादेशमा बृहत्संहितामा वराहले भनेको कुरा मात्र गर्नेछु।
आज रातिको चन्द्र ग्रहणको समयमा कुन पर्व, अयण, महिना, राशि, नक्षत्र परेको छ? रात्रीमानलार्इ सात भाग गर्दा कुन सप्तम भागको समयमा ग्रहणको प्रारम्भ तथा अन्त भएको छ?
ग्रहण लाग्ने ग्रहलार्इ कुन ग्रहले हेरेको छ? ग्रहण देखिने ठाउँहरूमा माथि संकेत गरिएको संयोगहरूले, व्यक्ति, समाज, राष्ट्र तथा चराचर विश्वमा के कस्तो प्रभाव पार्न सक्छ?
यी सबै प्रकारका लक्षणहरूलार्इ एक एक गरेर सरल रूपले संक्षिप्तमा बुझाउने छु। ६ महिनाअघि ग्रहणकै दिन सेतोपाटीमा प्रकाशित ‘कस्तो हुन्छ चन्द्र ग्रहणको प्रभाव?’ प्रचीन ऋषिहरूले कल्पना गरिराखेका पर्वेश वा पर्वचक्रको परिचय गराएको थिएँ।
त्यो बेला वरूण पर्वमा ग्रहण परेको थियो,जसको फल – वारुण पर्व – शासक र नेताहरुका लागि अशुभ, अतिवृष्टिको सम्भावना, बाढी आदिबाट हानी, जन सामान्यमा शान्ति रहन्छ भनेर भनिएको थियो।
यसपाली आग्नेय पर्वमा चन्द्र ग्रहण परेको छ।
१. आग्नेयपर्व फल– केही ग्रन्थमा यसलाई मित्र वा मैत्रपर्व पनि भनिएको छ। यो राम्रो हो, मान्छेहरूमा निरोगता, राम्रो उब्जनी र सुख शान्ति रहन्छ र सामान्य वर्षा हुन्छ।
२. चतुर्थ सप्तम भागमा ग्रहणको प्रारम्भ हुनुको फल- केन्द्रीय शासन तथा देशको मध्यभागमा अस्थिरता हुने मानिन्छ।
३. सप्तम भागमा मोक्ष भएको फल – अपराधीहरूको अपराधिक गतिविधिहरू बढ्न सक्ने प्रभाव बुझिन्छ।
४. चन्द्रमा आफ्नो उत्तरायणमा पर्ने मकरमा ग्रस्त फल – शासकवर्गा, ठूला नेताहरु र शासनका लागि अशुभ हुन्छ।
५. राशिअनुसार ग्रहण फल मकर – डाक्टर, शल्य चिकित्सक, चतुर्थ श्रेणी कर्मचारी, वृद्धजन, र ठूलो परिवारसँग सम्बन्धित विवाद र कष्ट आउँछ।
६. ग्रहणको बेला चन्द्रमा जुन राशि नक्षत्रमा छ, त्यस राशि नक्षत्रवाला शासक र प्रसिद्ध मान्छे, देश, प्रदेश र राशि नक्षत्रको कारक क्षेत्रमा विशेष कष्ट हुन्छ।
७. हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीजीको नाम, राशि नक्षत्रको विचार गर्दा यो ग्रहणले उहाँलार्इ हरेक दृष्टिकोणले विशेष गरी नजिकका ६ महिना सजग रहन संकेत पनि गरेको छ।
८. उत्तराषाढा नक्षत्र फल – ठूला गिरोह र तिनका मुखिया, ठूला मेसिनरी उपकरण र तिनका निर्माण स्थान, पहलवान, बडीविल्डर, योद्धा, देउताहरुका स्थान, सबै वनस्पतिहरु, मल्ल युद्धका प्रतियोगितारु, ठूलो भघवन निर्माण स्थान आदि।
९. श्रवण नक्षत्र फल – चलाख, धूर्त, ठग, मायावी व्यक्ति, ठूला उद्योगपति, भगवान्का भक्त, धर्मका व्यवसाय गर्ने व्यक्ति, मेलमिलाप सम्झौता गराउने मध्यस्थकर्ता, ठूला मन्दिर वा पूजा स्थान, वायुसेना, तीर्थ स्थान आदि ।
१०. बुधले हेरेको फल – मन्त्रीहरुलाई कष्ट, घ्यू तेल आदिको कमी तथा राजाहरूको हानी।
११.महिनानुसार ग्रहणफल आषाढ – नदी, बाँध, पानीको स्थानमा अशान्ति, फल र सब्जी (तरकारी) को हानी अफगाननिस्तान, चीन, कश्मीरमा उपद्रव।
संहितातत्वको फल त्यस वर्गलाई धेरै प्राप्त हुन्छ, जसको कुशल वा कष्ट सामान्य जनको कष्ट वा कुशलताका कारण बन्दछ।
धर्म शास्त्र अनुसार ग्रहणमा के गर्ने के नगर्ने
यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा चन्द्रमाबाट आउने विषमय तथा विकृत किरणहरूको तरंगले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्छ। यस कारण पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्।
धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।
चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्छ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन।
ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग पिसाब गर्नाले दरिद्रता तथा दिसा गर्नु पनि नराम्रो नै मानिन्छ। त्यसैले ग्रहण लाग्नु अलि अघि देखिनै सक्दो पानी पनि न पिउनु राम्रो।
ग्रहणका बेला मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ।
शिब पोखरेल(वास्तु एवम् ज्योतिषशास्त्री)