चुनौतीपूर्ण बन्दै गएको नेपालगन्जको फोहर व्यवस्थापन अब चांडै सहज हुने
प्रकाशित मिति : २०७६, ३ जेष्ठ शुक्रबार १०:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण ढुङ्गाना/ नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकामा चुनौतीपूर्ण बन्दै गएको फोहर व्यवस्थापन कार्य सहज हुने भएको छ। एसियाली विकास बैंकको सहयोगमा विगत ३ वर्षदेखि निर्माणाधीन देशकै उत्कृष्ट मानिएको अत्याधुनिक ल्यान्डफिलसाइटको औपचारिकरूपमा सुरु भएपछि फोहर व्यवस्थापन कार्य सहज हुने भएको हो ।
Advertisement
२०७३ साल भदौदेखि निर्माण सुरु भएको ल्यान्डफिलसाइट केही दिनअघि निर्माण सम्पन्न भएपछि बिहिबारदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । ल्यान्डफिलसाइटमा फोहरलाई तीन भागमा वर्गीकरण गरी फोहरबाट मोहर कमाउने योजना उपमहानगरको छ । जसमध्ये गल्ने फोहोरलाई मलको रूपमा उत्पादन गर्ने र नगल्ने प्लास्टिक, फलाम जस्ता फोहर बिक्रीवितरण गरेर आयआर्जन गरिने भएको छ । त्यस्तै बाँकी काम नलाग्ने फोहरलाई अन्तिममा ल्यान्डफिल साईटमा विर्सजन गर्ने योजना छ । सम्झौताअनुसार निर्माण कार्य पुरा भएको १ वर्षसम्म निर्माण व्यवसायीले फोहर संकलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने निर्माण कम्पनी रम्की एन्ड एनएएनसी जेभी काठमाडौंले जनाएको छ । “एक वर्षसम्म हामीले परीक्षणका रूपमा सञ्चालन गरेपछि नेपालगन्ज उपमहानगरलाई हस्तान्तण गर्छौं,” कम्पनीका ईन्जिनियर अशोक पाण्डेले भने ।
एसियाली विकास बैंकको ऋण ८० प्रतिशत, नगर विकास कोषको ऋण १५ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत म्याचिङ फन्ड गरी कुल ३८ करोड ९३ लाखको लागतमा ल्यान्डफिलसाईट निर्माण भएको हो । विगत तीन वर्षदेखि निर्माणाधीन नेपालकै अत्याधुनिक ल्याण्डफिलसाइट सञ्चालनमा आएपछि निकै खुसी भएको भन्दै अव सरसफाइमा नमूना शहरका रूपमा नेपालगन्जलाई अघि बढाउने योजना निर्माण कम्पनीको रहेको नेपालगन्ज ल्याण्डफिल साईटका ईन्चार्ज हेमप्रसाद आचार्यले बताए । “लामो समयपछि देशकै उत्कृष्ट ल्यान्डफिलसाइट सञ्चालनमा ल्याउन पाउँदा खुसी छौं,” उनले भने, “यसलाई नमूनाका रूपमा अघि बढाएर नेपालगन्जको फोहोर सदाका लागि अन्त्य गराउने हाम्रो योजना छ ।”
ल्यान्डफिलसाइट परीक्षणका रूपमा सञ्चालन सुरु भएपछि सुरुमा नगरका घरघरमा जनचेतना जगाउने कार्यक्रम सञ्चालन हुने र डस्टविन वितरण गर्ने योजना उपमहानगरको छ । ल्यान्डफिलसाइट नहुँदा पहिले विभिन्न समस्या आएको भन्दै अब नेपालगन्ज उपमहानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापनका लागि उब्जिने समस्या सदाका लागि अन्त्य हुने नेपालगन्ज उपमहानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । “पहिले हामीलाई फोहर व्यवस्थापन कार्य निकै चुनौतीपूर्ण थियो,” उनले भने, “अब दीर्घकालिन रूपमा फोहर व्यवस्थापन हुनेमा हामी विस्वस्त छौं ।” एकवर्षको परीक्षण अवधिमा यसका राम्रा पक्षलाई अझ राम्रो गर्दै जाने र नराम्रा पक्षलाई सुधार्दै जाने योजना उपमहानगरपालकाको छ ।