नेपालीले चिनियाँ महिलाको हत्या गरेपछि तिब्बतबाट चीनले फिर्ता पठायो पाँच सय कामदार
प्रकाशित मिति : २०७६, २३ जेष्ठ बिहीबार १५:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हुम्ला।एक जना चिनियाँ महिलाको हत्यापछि चीनले हुम्लाका स्थानीयलाई चीन प्रवेशमा कडाइ गरेको छ।
Advertisement
हुम्लाबाट तिब्बतको ताक्लाकोट नेपाली कामदारमाथि चिनियाँ प्रहरीले धरपकड गरी फिर्ता पठाइदिएको छ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो।
‘बैंक जान लागेकी महिलालाई रडले हानेर मारेकाले समातेका हौं। उनलाई थप अनुसन्धानका लागि ल्हासा लैजाँदैछौं भनेका थिए,’ सहायक प्रजिअ पोखरेलले भने,‘अरू कामदार नेपाली फिर्ता पठाउनेबारे कुरा भएको थिएन। तर अर्को दिनदेखि त धमाधम नेपाली फिर्ता पठाउन थाले।’
तीन सातामा झन्डै पाँच सय नेपाली फिर्ता पठाइएको उनले जानकारी दिए।
चीनसँगको मैत्री सन्धीअनुसार सिमानादेखि ३० किलोमिटरसम्म दुबै देशका नागरिक पासका आधारमा आउजाउ गर्न सक्छन्।
सोही पासको सदुपयोग गर्दै हुम्लावासी हरेक वर्ष ताक्लाकोटमा काम र व्यापार गर्न जान्छन्।
जेठदेखि असोजसम्म मानसरोवर जाने सिजन हुन्छ। त्यो बेला ताक्लाकोटमा काम पाइन्छ। भवन निर्माणदेखि होटल पसलमा काम गर्न र व्यापार गर्न वर्षेनी ५-७ हजार नेपाली ताक्लाकोट जान्छन्।
‘सिजनल काममा दैनिक ५ हजार रूपैयाँसम्म कमाइ हुने भएकाले आम्दानीको राम्रो स्रोत थियो। तर यसपालि समस्या भएको छ,’ पोखरेलले भने,‘चिनियाँ पक्षले धमाधम कामदार फिर्ता पठाउन थालेपछि समाधानका लागि गृह मन्त्रालयमार्फत् परराष्ट्रमा जानकारी गराएका थियौं। कूटनीतिक पहल भएर हो कि दुई दिन यता नेपाली फिर्ता पठाएका छैनन्।’
कामदार फिर्ता पठाउन रोकिए पनि स्थानीय अधिकारीले अब नेपालीलाई काम नदिने चेतावनी दिइरहेका छन्।
चीनमा काम गर्ने वर्क परमिट नेपालीसँग छैन। चिनियाँ पक्षले फिर्ता पठाउँदा नेपालीसँग त्यहाँ काम गर्न पाउने कुनै कानुनी आधार हुँदैन।
‘पक्राउ परेका खडेराको थप अवस्था थाहा छैन, हामीले सीमा वार्ता गरौं भन्ने प्रस्ताव पठाएका छौं,’ पोखरेलले भने,‘असार १५ सम्ममा बैठक बस्ने कुरा छ। बैठकमा हामी सबै कुरा राख्छौं।’
यता परराष्ट्र मन्त्रालयले ताक्लाकोटमा देखिएको समस्या समाधानका लागि कूटनीतिक माध्यमबाट कुरा भइरहेको जनाएको छ।
‘त्यहाँ भएको के हो र कसरी समाधान गर्नेबारे चिनियाँ पक्षसँग कुरा भइरहेको छ,’ परराष्ट्र सचिव शंकरदास वैरागीले भने।
सेतोपाटीबाट।