यार्सागुम्बा टिप्न गएकाहरू रित्तो हात फर्के, ऋण तिर्न रोजगारीका लागि भारत जाँदै
प्रकाशित मिति : २०७६, २ असार सोमबार ०८:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
डोल्पा ।नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्सागुम्बा खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ ।
नलगाड नगरपालिकाका मोती ध्यारको हालत पनि उस्तै छ । यार्सागुम्बा खोज्न डोल्पा गएका उनी पनि रितो हात फर्केको बताउँछन् । तीन वर्षअघि दुई सय १० वटा यार्सागुम्बा टिपेर दुई लाख १० हजार आम्दानी गरेका मोती यो वर्ष प्रवेश शुल्कबापतको रकमसम्म उठाउने यार्सागुम्बा नपाएपछि घर फर्केका छन् । उनले गाउँमा ऋण काढेर डोल्पाका पाटनमा यार्सागुम्बा खोज्न गएको बताए । उनका अनुसार डोल्पाका केही यार्सा पाटन स्थानीयले कब्जा गरेर बसेका छन् । बाहिरबाट जाने संकलनकर्तालाई प्रवेश गर्न दिइएको छैन ।
विगतमा जस्तो यो वर्ष यार्सागुम्बा नपाउँदा संकलनकर्ता निराश बनेका छन् । ऋण काढेर गएकाहरू ऋण नै तिर्ने रकम नउठ्दा निराश बनेको अर्का यार्सा संकलनकर्ता मोतीराम ध्यारले बताए । ज्यानको बाजी लगाएर यार्सा खोज्न गए पनि यार्सा नपाउँदा रित्तो हात फर्कँदा ऋण कसरी तिर्ने चिन्ता लागेको उनको भनाइ छ । काढेको ऋण तिर्न भारत जानुको विकल्प नभएको ध्यारले बताए । उनका अनुसार यार्सागुम्बा टिप्न ऋण लिएर गएका धेरै जाजरकोटवासी रोजगारीका लागि भारत जाने तरखरमा छन् । असारको खेतीबाली नलगाएरै भारत जान लागेको उनीहरूको भनाइ छ ।
यार्सागुम्बा टिप्न १५ हजारभन्दा बढी पुगे, नौको मृत्यु
यस वर्ष यार्सागुम्बा खोज्न डोल्पाका पाटनमा १५ हजारभन्दा बढी सर्वसाधारण पुगेका थिए । तर, यार्सागुम्बा नपाउँदा उनीहरू चिन्तामा परेका छन् । यो वर्ष भारी हिमपात भएका कारण यार्सागुम्बा संकलन कार्य ढिला भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए । उनका अनुसार वर्षेनी पाटनमा प्लास्टिकजन्य फोहोर जम्मा भएर प्रतिकूल प्रभाव परेको छ । वर्षेनी हजारौँ सर्वसाधारण यार्सा खोज्न जाने भएकाले निकै फोहोर बढेको उनको भनाइ छ । यो वर्ष २६ प्रतिशतले राजस्व वृद्धि भएको छ । अन्य सामुदायिक वनले उठाउने शुल्क नजोडेका कारण अझै रकम बढ्न सक्ने निकुञ्जले जनाएको छ । यार्सागुम्बा संकलन गर्ने क्रममा नौजनाको मृत्यु भइसकेको छ । अक्सिजनको कमी र लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
श्रोत : नयाँपत्रिकाबाट।