अन्नपूर्ण हिमालको आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै
प्रकाशित मिति : २०७४, १९ जेष्ठ शुक्रबार १३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
Advertisement
हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।
अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै पोखराको पर्यटकीय विकासको यात्रा सुरु भएका कारण पनि यसको आरोहण दिवसलाई पोखरामा महत्वका साथ लिने गरिएको छ ।
उक्त पहिलो आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अन्नपूर्ण आरोहण दिवसका रुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरेको सङ्घका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये लगभग १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेको उनले जानकारी दिए ।
“अन्नपूर्ण हिमालको आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको हो,” उनले भने, “पर्यटन क्षेत्रमा यस दिवसको गरिमा र महत्वलाई जीवन्त राख्नु अपरिहार्य छ ।”
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको टान पश्चिमाञ्चल सङ्घका पूर्वअध्यक्ष एवम् राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, पोखराका अध्यक्ष सोम थापाले बताए ।
“आरोहण गर्नेहरू सकेसम्म विश्वको सर्वोच्च शिखर नै आरोहण गर्ने सोच राख्ने कारण अन्नपूर्ण हिमालको आरोहण गर्नेको सङ्ख्या भने कम छ,” उनले भने, “पहिलो हिमाल आरोहणका रुपमा यसको पहिचान आफैंमा महत्वपूर्ण छ, यसको सफल आरोहणले समग्र नेपालको पर्यटन विकासमा समेत टेवा पुगेको पाइन्छ ।”रासस