केही घन्टापछि नेपालगन्जवासीले धवलशमशेर राणालाई ‘मेयर’ पाउने पक्का
प्रकाशित मिति : २०७४, १९ असार सोमबार ०९:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गजेन्द्र बोहरा,नेपालगन्ज : डा.धवल शमशेर राणालाइ भेरी प्राबिधिक शिक्षालयको गेटको भीडले उहाँलाई ‘अग्रिम’ बधाई दिँदै थियो । ओंठमा अटुट मुस्कानसहित उहाँ भीडलाई नमस्कार गर्दै भित्र छिर्नुभयो । भित्र मतगणना भइरहेको एउटा वडाका वडाध्यक्षका उम्मेदवार आएर भन्दै थिए, ‘डा.साब हजुर त धेरै अगाडि पुगिसक्नुभयो ।’ उहाँले जवाफ फर्काउनुभयो, ‘मेरो कुरा छाड तिमीले जित्छौ कि जित्दैनौ त्यो भन् ।’
वडाध्यक्षका उम्मेदवारको जवाफ आयो, ‘म सय मतले मात्रै अगाडि छु ।’ लगत्तै उहाँले भन्नुभयो, ‘चिन्ता नगर हामी सबै जित्छौँ ।’ केहीबेरदेखि उहाँलाई पछ्याइरहेको संवाददातालाई उहाँले पर्खिन आग्रह गर्दै भन्नुभयो, ‘हेर्नुस् न आफ्नो त छँदै छ, सबै साथीहरूको पनि चिन्ता लाग्छ के गर्नु चुनाव भनेको यस्तै हो।’
यही गतिमा मतगणना अघि बढिरह्यो भने केही घन्टापछि नेपालगन्जवासीले धवलशमशेर राणालाई नगरको ‘मेयर’ पाउनेछन् । २० वर्षपछि यो नगरमा धवलको दोस्रो ‘इनिङ’ सुरुवात हुनेछ । अहिलेसम्मको मत परिणाममा लगभग ३५ सय मतान्तरमा राणाले अग्रता लिइरहनुभएको छ । खसेको मतको प्रकृति हेर्दा सबै भोट ‘क्रस’ भएर उहाँकै चिह्नमा छाप लागेको छ । हलभरि ‘गाई’ बाहेक अरूको नाम सुस्त गुन्जिन्छ । २० वर्षअघिको नगर यात्रापछि अब ‘उपमहानगरपालिका’ मा दोस्रो ‘इनिङ’ का लागि ५२ वर्षीय राणा मात्रै होइन, मतदाताको व्यग्रता उत्तिकै छ ।
बूढापाका मतदातामाझ ‘ब्रान्डेड’ नाम भइसकेको ‘धवलशमशेर’ विकासकै कारण कमाएको पपुलारिटीले २० वर्षपछि मतदानका लागि तयार भएको नयाँ पुस्ताको जमातले पनि मन परायो । मतगणना अघि बढ्दै गर्दा राणाको अनुहारको चमक पनि बढ्दै गएको छ । असार १४ गते साँझ मतपेटिकामा सिलबन्दी भएदेखि उहाँलाई भोक, सुर्ता सबै हराएको छ।
असार १५ गते बिहान मतगणनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्यो । बैठकमा उहाँले भन्नुभयो, ‘हाम्रा प्रतिनिधिलाई विश्वास गर्नुस्, तपाईंको सुरक्षा व्यवस्था मिलाउनुस्, केही धाँधली हुन्न, केही बबाल हुन्न ।’ मध्याह्नदेखि मतगणना सुरु भयो । मतपत्र भुइँमा खन्याइयो । गणक मतपत्र पट्याइरहेका थिए । उता, राणालाई पट्यार लागिरहेको थियो, ‘कतिबेला गन्न सुरु हुने हो ? ‘ केही घन्टामा पतपत्र खोलिए, ‘गाई’ हरू सुरुमै जुर्मुराउन थाले । ‘धेरै चुनाव भोगेँ तर यस्तो हुटहुटी र छटपटी र आतुरता पहिलोपटक फिल गर्दै छु’, अघिल्ला दिनहरूको तुलनामा आइतबार उहाँको अनुहारमा अझ बढी चमक थियो । ‘अब केही घन्टामा टेन्सन खत्तम हुनेवाला छ’, काँधमा झुन्डिइरहेको ‘गम्छा’ ले पसिना पुछ्दै उहाँले भन्नुभयो, ‘अब त जित्छु भन्नेमा ढुक्क छु ।’
०४९ सालदेखि प्रत्यक्ष राजनीतिमा जोडिनुभएका धवल पहिला कुनै पनि पार्टीमा खुलेर आउनुभएको थिएन । विद्यार्थीकालदेखि नै राजनीतिमा चासो त थियो तर खुल्नुभएको थिएन । ०४९ सालमा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघको जिल्ला सचिव भएर औपचारिक रूपमा राजनीतिक यात्रा थाल्नुभयो । दुई वर्षपछि फेरि माहोल अलि फरक भइसकेको थियो, उहाँ ०५१ सालको चुनावमा नेपालगन्जबाट ‘स्वतन्त्र’ बनेर संसद्का लागि चुनाव लड्नुभयो । तर, जित धेरै पर थियो । समाउनै सकिएन । ०५२ सालमा उहाँ एमालेमा प्रवेश गर्नुभयो । राप्रपाको जल्दोबल्दो ‘युवक’ स्वतन्त्र भएर चुनाव लडिसकेको । नेपालगन्जमा एमालेका लागि ‘धवल’ एक सम्भावना बोकेको नेता भइदियो । ०५४ सालमा एमालेले उहाँलाई नेपालगन्ज नगरपालिकाका लागि मेयरको टिकट दियो ।
०५४ सालमा देशभरि एमालेको लहर थियो । त्यही लहरले उहाँलाई पनि पछ्याइदियो । ०५१ सालमा संसद्को चुनाव लडेको युवा ०५४ सालमा नेपालगन्ज नगरपालिकाको मेयर भइसकेको थियो । काम गरेर देखाउने र जनताको मन जित्ने ‘प्लेटफर्म’ थियो त्यो । ‘पैसा त मलाई चाहिएको पनि थिएन, त्यसैले मैले तलब नलिने घोषणा गरेँ त्यो बेलै आएको तलबले ठाउँ-ठाउँमा प्रतीक्षालय बनाएँ’, उहाँले भन्नुभयो ।
गर्मीयाममा ४३ डिग्रीको पारो चढ्ने नेपालगन्जको गर्मीमा सुस्ताउने ठाउँहरू अहिले तिनै प्रतीक्षालय बनेका छन् । त्यही बेला बन्यो नेपालगन्जमा ‘वाटरपार्क’, ‘रानी तलाउ’ अनि ‘महेन्द्र पार्क’ । नेपालगन्जलाई चिनाउने यी तीनवटा ‘आइकन’ सँग जोडिएर आउने धवलशमशेरको नाम धेरै नेपालगन्जवासीको मनमा ‘अमीट’ बनिसकेको छ ।
कार्यकाल सकियो । ०५४ पछि देशमा स्थानीय निकायको चुनाव हुन सकेन । तर, राणाको मनभित्र चुनाव लड्ने हुटहुटी कायमै थियो । ०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ यही नेपालगन्जबाटै चुनाव लड्नुभयो । तर, जित भएन । त्यो बेला मधेसभरि फोरमको लहर थियो, कांग्रेसका तत्कालीन पार्टी सभापति स्व.सुशील कोइरालालाई हराउँदै उपेन्द्र यादव नेतृत्वको फोरमबाट चुनाव लड्नुभएका सर्वदेव ओझाले जित्नुभयो । राणा पनि पराजित हुनुभयो । अझै चुनावी भोक मेटिएन । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि लड्नुभयो । फेरि सुशील कोइराला आफैं मैदानमा आउनुभयो । वृद्ध कोइरालालाई राणाले आत्थुआत्थु पारिदिनुभयो र झिनो मतान्तरले कोइरालाको साख जोगियो । ‘दुवै चुनाव कोइरालासँग लडे पनि जित्न सकिएन’, उहाँ सम्झिनुहुन्छ, ‘तर, धेरै दुःखी थिइनँ किनभने देशको नेताले चुनाव जित्नुभएको थियो ।’
०५४ सालमा नेपालगन्जमा धेरै विकास भयो । ०४८ सालमा कांग्रेसबाट जितेर मेयर हुनुभएका विजयकुमार गुप्ताले नेपालगन्जको नक्सा कोरिसक्नुभएको थियो । तर, त्यो पूरा गर्न नपाउँदै उहाँको कार्यकाल सकियो । ०५४ सालमा राणा निर्वाचित भएपछि त्यो नक्साले मूर्तरूप पायो । खुज्जमुज्ज भएर साँघुरिएको नेपालगन्ज बजारका घर भत्किन थाले । त्यही साँघुरो सहरको बीचमा चार लेनको फराकिलो बाटो बन्यो । अहिले नेपालगन्ज सहरको त्यही बजार ‘न्युरोड’ भएर स्थापित छ । त्यत्ति मात्रै होइन, राणाका पालामा नेपालगन्जमा धेरै विकास भएका छन् ।
सडक, बजार, सरसफाइजस्ता जनतासँग सिधै जोडिएका विषयमा राणाको चासो थियो । ‘मलाई त काम गर्ने हुटहुटी थियो, एकछिन घरमा बस्न सक्दिनथेँ, बिदा त कहिल्यै लिइनँ, तलब पनि लिइनँ म मेरो परिवारसँग भन्दा नेपालगन्जका गल्ली-गल्लीका बस्तीमा धेरै हुन्छु’, उहाँ भन्नुहुन्छ ‘त्यही गुण यसपालि पनि जनताले लगाएका हुन् कि जस्तो लागेको छ ।’
त्यो बेला मेयर हुँदा नेपालगन्जमा के काम गर्न बिर्सनुभयो ? फेरि मेयर हुने रहर जाग्यो ? भनी सोध्दा उहाँले भन्नुभयो, ‘त्यो बेला मैले धेरै गरेँ तर मनमा लागिरहेको एउटा काम गर्न सकिनँ त्यो के भने, मुस्लिम विश्वविद्यालय खोल्ने ।’ उहाँ भन्नुहुन्छ, ‘म विश्वस्त छु, मेयर भएँ भने आफ्नो कार्यकालभित्रै नेपालगन्जमा मुस्लिम विश्वविद्यालय खोल्छु ।’ ‘पर्दा’ र ‘बुर्का’ का नाममा अझैँ पनि मुस्लिम अनि मधेसी समुदायमा छोरीचेलीलाई उच्च शिक्षासम्म पढ्न नदिने प्रचलन छ ।
‘त्यही कुरा खट्किरहेको थियो मलाई, जितियो भने आफ्नो कार्यकालमा त्यो पूरा गर्छु’, उहाँले भन्नुभयो, ‘विकास त नियमित प्रक्रिया हो, त्यो भइरहन्छ ।’
देश बनाउने बाटोमा हिँडेको मान्छे, सांसदका लागि धेरै चुनाव लडिसकेको मान्छे फेरि नगरमै किन त ? राणासँग सटीक जवाफ छ, ‘यो मेरो नगर हो, मेरो घर हो, घर लथालिंग पारेर देश बनाउन कसरी सक्छु र पहिलो आफ्नो घर, नगर बनाउँछु अनि मात्रै देश बनाउनतिर जान्छु ।’
Advertisement
म मेयर भएँ भने आफ्नो कार्यकालभित्रै नेपालगन्जलमा मुस्मिल विश्वविद्यालय खोल्छु । डा. धबलमशशेर राणा
यसपालि पनि उहाँले आफूले मेयरबापतको पारि श्रमिक नलिने घोषणा गर्नुभएको छ । यो बीचमा उहाँले स्थानीय विकासमा पिएचडीसमेत गरिसक्नुभएको छ । नेपालगन्जकै खानदानी राणा परिवारका उहाँ नेताभन्दा पहिला शिक्षक हुनुहुन्थ्यो । आफ्नै लगानीमा नेपालगन्जमा मोर्डन पब्लिक स्कुल स्थापना गरी त्यहाँबाट उहाँले धेरै जनशक्ति जन्माइसक्नुभएको छ । आफू संस्थापक भए पनि उहाँले नौ र दश कक्षाका विद्यार्थीलाई अंग्रेजी पढाउनुहुन्थ्यो ।
उहाँकी श्रीमती प्रतिमाले पनि लामो समयसम्म त्यही स्कुलमा प्रिन्सिपल भएर अंग्रेजी विषय पढाउनुभयो । उहाँको एक सन्तान छोरी सिवांगिनी राणा हुनुहुन्छ । स्विजरल्यान्डबाट होटल म्यानेजमेन्ट पढ्नुभएकी उहाँ अहिले होटल सोल्टीको म्यानेजर हुनुहुन्छ । नेपालगन्जवासीले उहाँलाई ‘राप्रपा’ वा ‘गाई’ वा उहाँको पार्टीले उठाएको ‘हिन्दू राज्य अनि राजतन्त्र’को नारालाई समर्थन गर्दै भोट दिएका होइनन् । जनताले विकास रोजे, समाजका लागि काम गर्ने मान्छे खोजे अनि धवल नै चाहे ।
‘नेपालगन्जले धवल पाउनु विकासको एउटा शिखर चढ्नु हो’, उहाँलाई नजिकैबाट स्कुले जीवनदेखि नियाल्दै आउनुभएका नेपालगन्जवासी योगेश स्वाँर भन्नुहुन्छ, ‘सबैले गाईलाई वा राप्रपालाई मान्छन् भन्ने छैन तर यहाँका जनता विकास चाहन्छन्, उहाँ कसैका लागि राप्रपाको नेता होला तर नेपालगन्जवासीका लागि नेता पनि हो, बाउआमा, अंकल, दाइ, भाइ सबै हो ।’
राणा आफैंलाई पनि लाग्छ यो पार्टीले जित्ने चुनाव होइन । ‘पार्टी भनेर मलाई भोट गरेका होइनन्, जनताले मैले केही गर्न सक्छु भन्ने विश्वास अझै छ’, उहाँ भन्नुहुन्छ, ‘यो विकासको चाहना हो, पार्टीको सिद्धान्त आफ्नो ठाउँमा होला म मेयर हुँदैमा मेरा पार्टीका सिद्धान्त स्थापित हुने होइनन्, त्यहाँ काम गर्ने हो सिद्धान्त पढाउने होइन ।’
नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामध्ये आधाभन्दा बढीको मतगणना भइसकेको छ भने अहिले सम्म डा राणा ३ हजारले मतले अगाडी हुदै आउनुभएको छ।