प्रदेशसभा सदस्यको सपथ आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?
प्रकाशित मिति : २०७४, ७ माघ आईतवार ०९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ७ माघ । गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ । सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण हुन लागेको हो । उनीहरुलाई सम्बन्धित प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
Advertisement
प्रदेश नं १ का प्रदेशसभा सदस्यको सपथग्रहण प्रादेशिक अस्थायी राजधानी विराटनगरमा हुँदैछ ।
वीरेन्द्र सभागृहमा बिहान १० बजेदेखि सपथ ग्रहण कार्यक्रम हुन लागेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
प्रदेशसभाका प्रमुख डा गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य ओम सरावगीलाई शपथग्रहण गराउने छन् । त्यसपछि, ज्येष्ठ सदस्यले अन्य प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन् ।
प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेश नं १ मा मोरङबाट १२ जना, झापाबाट १० जना, सुनसरीबाट आठजना, इलामबाट चारजना, उदयपुरबाट चार जना प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका छन् ।
त्यस्तै, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुम जिल्लाबाट २–२ जना प्रदेशसभामा निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण अस्थायी राजधानी जनकपुरस्थित उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा गर्ने कार्यक्रम तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले जानकारी दिए ।
शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसकेको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी शनिबार नै पूरा भइसकेको उनले बताए । प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन् ।
यता ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको सपथ हेटौडामा हुँदैछ । सरकारले अन्तिम समयमा आएर एकाएक भक्तपुरबाट सारेर हेटौडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकेको थियो ।
आइतबार ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ ।
बिहान १० बजे ज्येष्ठ सदस्य पौडेलले अन्य ११० प्रदेशसभा सदस्यलाई ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।
पोखरा अस्थायी मुकाम तोकिएको प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
उनले साविकको नगर प्रशिक्षण कार्यालयमा प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले ज्येष्ठ प्रदेशसभा सदस्यलाई बिहान नौ बजे कुँवरले शपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी दिए ।
ज्येष्ठ सदस्यले शपथ लिएसँगै अन्य सदस्यले ज्येष्ठ सदस्यबाट विहान १० बजे शपथ लिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
यसैगरी बुटवल अस्थायी राजधानी तोकिएको प्रदेश नं ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सदस्यलाई पद तथा गोपनियताको सपथ गराउने छन् ।
बिहान ११ बजे बुटवल स्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ ग्रहण कार्यक्रम तय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए
५ नं प्रदेशमा प्रत्यक्षतर्फ ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसद निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश ६ का प्रदेशसभा सदस्यलाई सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने कार्यक्रम छ । प्रदेश नम्बर ६ को अस्थायी मुकाम सुर्खेत तोकिएको छ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् ।
यस्तै ७ नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएको धनगढीमा आइतबार जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा सपथग्रहणको कार्यक्रम राखिएको छ ।
९ जिल्ला रहेका ७ नं प्रदेशमा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यो प्रदेशमा प्रदेशसभाको प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ प्रदेश सांसद रहेका छन् ।
निर्वाचन आयोगले शुक्रबार प्रदेशप्रमुखको राष्ट्रपति भवनमा शपथ गराएलगत्तै प्रदेश प्रदेशसभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको थियो । सो प्रतिवेदन राजपत्रमा प्रकाशित गराएर आइतबारको लागि सपथ ग्रहण कार्यक्रम राखिएको हो ।
प्रदेशसभा सदस्यको शपथग्रहण समारोहमा राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, लब्धप्रतिष्ठित व्यक्तित्व, पत्रकारलगायतलाई निमन्त्रणा गरिएको बताइएको छ ।