पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरि तनाबमा
प्रकाशित मिति : २०७४, २७ फाल्गुन आईतवार ११:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पर्वत, २७ फागुन । विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
Advertisement
जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय र सञ्चार माध्यम चौपट बनेका हुन् ।
यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठलगायत एक दर्जनभन्दा बढी उद्योग समस्यामा परेका छन् ।
त्यस्तै झण्डै दुई दर्जनभन्दा बढी सञ्चार माध्यम प्रभावित भएका छन् । दैनिक दश घण्टाभन्दा बढी विद्युत् जाने भएकाले एफएम रेडियो र केबुल टेलिभिजन दिनभर बन्द गर्ने गरिएको छ । ‘लाइन बेलुका ५ बजे आउने भने पनि ७ बजेसम्म आउँदैन, त्यतिबेलासम्म ब्याट्री र जेनेरेटरले पनि धान्दैन’ त्यसैले बन्द गरेर बस्नुको विकल्प नभएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले मोदी–पोखरा १३२ केभी प्रसारण लाइनअन्तर्गत टावर नं ३५ बदली गर्न नयाँ टावर फेर्नका लागि फागुन २३ गतेदेखि लगातार विद्युत् सेवा बन्द गरेको हो । सन् २००० मा मोदीखोला जलविद्युत् केन्द्र निर्माण गर्ने बेलामा बनाइएको उक्त टावर जीर्ण भएकाले अहिले परिवर्तन गर्नु परेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखाका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “शनिबार साँझदेखि नियमित विद्युत् दिने तयारी भए पनि वर्षाका कारण काम गर्न नसकेकाले लम्बिएको हो ।”
यो सँगै गर्मीयाम लागेपछि यस क्षेत्रमा विद्युत् अनियमित हुने गरेको छ । खोलामा पानीको बहाबसमेत कम हुँदा उत्पादन घटेको छ भने हावाहुरीका कारण पटक पटक विद्युत् अवरुद्ध हुने गरेको छ । एक दिनमै पचासौँ पटक लाइन आउने जाने समस्याले झनै समस्या उत्पन्न हुने गरेको छ । टावर मर्मत सँगै अन्य क्षेत्रका रूखबिरुवा काट्ने र लाइनसमेत सफा गर्न वितरण शाखालाई निर्देशन दिएको प्रजिअ राजेश पन्थीले बताउनुभयो । कुश्मामा सबस्टेसनसमेत सञ्चालनमा आइसकेकाले पर्वतमा समस्या भए पनि अन्य जिल्लामा विद्युत् नियमित गर्ने र अन्य जिल्लामा समस्या भए पनि पर्वतमा नियमित गर्न सकिने भएकाले अबदेखि लामो समय विद्युत्मा समस्या नआउने पनि शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।