पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार ०७:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सल्यान, १८ भदौ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन।बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् ।
Advertisement
पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।
फाईल तस्बिर
बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिनुभयो ।
घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष वलीले बताउनुभयो । “पहिरो खस्नेक्रम अहिले पनि रोकिएको छैन”, उहाँले भन्नुभयो । पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।
घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझन नसकिएको जानकारी बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले दिनुभयो । “घटना भएको सुन्नेबित्तिकै उद्धारका लागि म हिँडेको छु, विपद्को यस घडीमा उद्धार कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्दछु”, प्रमुख बुढाथोकीले भन्नुभयो ।
घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वर्षा नरोकिएको र पाँच घण्टा पैदल हिँड्नुपर्ने भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । रासस।