डिएसपी र सहसचिव सगै दर्जन अधिकृतको दसैँ पनि अख्तियारको थुनामा
प्रकाशित मिति : २०७५, ३० आश्विन मंगलवार ०९:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ,३० असोज।अख्तियारको हिरासतमा दसैँ मनाउनेहरूमा डिएसपीदेखि सहसचिवसम्म छन् । उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता (सहसचिव) सुरेन्द्रबहादुर थापादेखि डिएसपी श्यामकुमार राईको दसैँ अख्तियारको हिरासतमै बित्ने भएको छ । सहन्यायाधिवक्ता थापा पाँच लाख रुपैयाँ घुससहित २४ असोजमा पक्राउ परेका थिए । जिल्ला अदालतबाट अभियुक्तको पक्षमा फैसला भएको ठगी मुद्दा उच्च अदालतमा पुनरावेदन नगर्ने भन्दै उनले घुस लिएका थिए ।
Advertisement
महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राई भने २० असोजमा एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा कारोबार गर्ने व्यक्तिसँग उनले घुस लिएका थिए ।
काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको पनि दसैँ हिरासतमै बित्नेछ । उनी आइतबार अख्तियारको ‘स्टिङ अप्रेसन’मा परेका हुन् । एक लाख रुपैयाँ घुससहित कार्यकक्षमै उनी पक्राउ परेका थिए । टोखा– ७ मा उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको भुक्तानी रोकेर उनले एक लाख ‘दसैँ खर्च’ मागेका थिए । घुस लिएलगत्तै उनी पक्राउ परेका थिए ।
कम्पनी रजिस्ट्रारको कार्यालयका उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेल पनि आयोगको हिरासतमा छन् । १० असोजमा उनीहरू काठमाडौं जिल्ला अदालतबाट छुटेलगत्तै पक्राउ परेका थिए ।
उनीहरूले धनीलाई थाहै नदिई ७० करोड रुपैयाँ सम्पत्ति भएको कम्पनी बिक्री गर्ने गिरोहलाई सघाएका थिए ।
इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पनि आयोगको हिरासतमा छन् । उनीहरूले चोर पक्राउ गर्न सहयोग गर्ने भन्दै घुस लिएका थिए ।
२५ असोजमा ४० हजार घुससहित पक्राउ परेका शिक्षा विकास तथा समन्वय इकाइ पर्साका इकाइ प्रमुख उपसचिव लालबाबु शाह पनि अख्तियारकै हिरासतमा छन् । भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरणका लागि उनले घुस लिएका थिए ।
२३ असोजमा मालपोत कार्यालय, कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा ५० हजार घुससहित पक्राउ परेका थिए ।
त्यस्तै, मालपोत कार्यालय झापाका ५ कर्मचारी पनि अख्तियारको हिरासतमा छन् । जग्गा किर्ते गरेर पास गर्न खोजेको आरोपमा अख्तियारले अधिकृत अग्नि घिमिरेसहित नायब सुब्बाहरू डिल्ली कोइराला, जयन्द्र खड्का, राजेन्द्र बस्नेत र रोशनकुमार गिरीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
१९ असोजमा यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा नवराज पराजुली पाँच हजार घुससहित पक्राउ परेका थिए । उनले लाइसेन्सको परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिएका थिए ।
१६ असोजमा पक्राउ परेका जिल्ला प्रहरी कार्यायल सर्लाहीका हवल्दार नुरुल होदा अन्सारी पनि थुनामै छन् । उनी ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनले सीमा क्षेत्रमा तस्करीका लागि सहज बनाइदिने भन्दै घुस लिएका थिए ।
१४ असोजमा नेपाल विद्युत् प्राधिकरण काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठका कर्मचारी कृष्णप्रसाद शर्मा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
नयाँ पत्रिकाबाट।