आक्रमणकारीबाट यसरी परियो चार घण्टा बन्धकमा
प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार ११:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
गजेन्द्र गुरुङ ।शुक्रबारको दिन बिहान ७ बजेतिर नेपालगन्जको बिपि चोकमा चिया पिईरहेको थिए । नेकपा बाँकेका जिल्ला सदस्य तथा सभासद कृष्णा केसीका निजी सचिब भाइ सुर्य घर्तिमगरको फोन आयो । ‘दाइ अहिले नै राप्तिपारी जानू पर्ने भो, कृष्णा दिदीको निर्बाचन क्षेत्रका मतदाता सङ्गको भेटघाट र अबलोकन गर्ने कार्यक्रम छ, पत्रकार कृष्ण वली र अरु १/२ जनाको टिम छ ।’- उनले भने ।
मैले उनलाई हुन्छ भने अनि बिहान ७:३० बजे तिर हाम्रो टोली नेपालगन्जबाट प्रस्थान भयो गन्तब्य स्थान तर्फ । टोलीमा बाँके क्षेत्र नम्बर १ (क) बाट ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने साँसद कृष्णा केसी ‘नमुना’, पत्रकार भाइ कृष्ण वली, नेकपाका नेता सुर्य घर्तिमगर, काली बहादुर धिताल, चमेली बागबल र म थियौं ।
कहिले नगएको ठाउँ । कस्तो होला के होला भनेर मनमा उमंगका साथ खुल्दुली र कौतुहलता जागिरहेको थियो । बिहानको सवा नौ बजे तिर हामी नरैनापुर पुग्यौं जहाँ पुगेर खाना खायौं । खाना खाईसके पछि नरैनापुर स्थित शसस्त्र प्रहरी बलको बिओपीमा पुग्यौं जहाँबाट शसस्त्र प्रहरी निरीक्षक टीका बहादुर गाहा हाम्रो सुरक्षाका लागि हामी सङ्गै गाडीमा जाने हुनु भो । उहाँ समेतको हाम्रो टोली नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहम्मद शाहको घरमा पुग्यो । त्यहाँ पुग्दा पुर्व निर्धारित कार्यक्रम अनुसार अध्यक्ष शाह पनि तैयारी अबस्थामा हुनुहुन्थ्यो । उहाँ आफ्नो गाडीमा अगाडि अगाडि लाग्नु भो हामी पछि पछि ।
त्यहाँ बाट हामी शसस्त्र प्रहरी बलको कटकुईंया बिओपीमा पुग्यौं । जहाँ शसस्त्र प्रहरी बल कटकुईंया बिओपीका शसस्त्र प्रहरी निरीक्षक पुरन जैसी हामीलाई गाईड गर्नका लागि तयारी अबस्थामा थिए । हामी पुग्नु पहिले नै उनले भारतको शसस्त्र सिमा सुरक्षा बलसङ्ग भारत भएर हिड्नका लागि अनुमति लिईसकेका थिए ।
जैसी नेतृत्वको कटकुईंया बिओपीको गाडी अगाडि त्यसपछी गाउँपालिका अध्यक्ष शाहको गाडी र त्यस्को पछि हामी सवार गाडी भारतको सडक हुँदै अगाडि बढ्यो । जहाँ जहाँ भारतको शसस्त्र सुरक्षा बलको पोष्ट पर्थ्यो त्यहाँ त्यहाँ शसस्त्र प्रहरी निरीक्षक जैसीले ईन्ट्री गर्दै अगाडि बढ्थे ।
भारतको सडकको बखान गर्दै केही किलोमिटरको यात्रा पछि हाम्रो यात्रा जङ्गलतिरको बाटो हुँदै अगाडी बढ्यो । लगभग २२ किलोमीटरको जङ्गलको यात्रा पूरा भएपछी हामी भौवा नाका बाट नेपालको दाङ्ग जिल्ला प्रवेश गर्यौं । दाङ्ग जिल्लाको राजपुर गाउँपालिका वडा न. ७ त्यहाँ पर्दो रहेछ । त्यहाँ अबस्थित एक माध्यामिक बिद्यालयका शिक्षकहरु सङ्ग त्यहाँको बारेमा बुझेपछी चिया पिएर हामी फिर्ता भयौं ।
फिर्ता भएर उहि जङ्गलको बाटो हुँदै हामी कटकुईंयाको लगभग नजिक नजिक पुगेर फेरि जङ्गलको अर्को बाटो समात्यौ जहाँबाट हाम्रो गन्तव्य स्थान पुग्न सकिन्थ्यो । त्यहाँबाट १३ किलोमीटरको जङ्गल भित्रको यात्रा पछि हामी भच्कई नाकाको भारतिय सिमा सुरक्षा बलको अन्तिम पोस्टमा पुग्यौं । जहाँ पुग्दा दिउँसोको लगभग ढाई बजिसकेको थियो । हामी सवार गाडीहरु त्यही छोडेर हाम्रो पैदल यात्रा शुरु भो । दिउँसोको घाम जङ्गलको बिच बाटो भएर पसिनै पसिना हुँदै लगभग डेढ घन्टाको उकालो चढे पछि हामी पुग्यौं राप्तिसोनारी गाउँपालिका वडा न. ४ बाँकेको गुर्देनगौरी गाउँ ।
त्यहाँका स्थानीयहरु सङ्गको केही घण्टाको बसाई पछि हामी फिर्ता भयौं ।
फिर्ता भएर कटकुईंया आउँदा बेलुकाको लगभग छ बज्न लागेको थियो । हामी त्यहाँ बस्दै गर्दा बिओपी नरैनापुरका शसस्त्र प्रहरी निरीक्षक टीका बहादुर गाहाको फोनको घण्टी बज्यो । फोनमा उनले गरेको कुरा अनुसार नरैनापुर प्रहरी चौकीमा केही गडबड भएको भन्ने बुझिन्थ्यो । हामीले त्यो कुरोलाई त्यति ध्यान दिएनौ र बिओपी कटकुईंयामा बेलको सर्वत र पानी पिएपछी हामी नेपालगन्ज तर्फ रवाना भयौं । हाम्रो साथमा गाउँपालिका अध्यक्ष शाह पनि आए । आउदै गर्दा नरैनापुर गाउँपालिका र ईप्रका नरैनापुरको अगाडि सडक भरी हजारौंको संख्यामा मानिसहरुको भिड देखियो । त्यो भिडले हाम्रो गाडी रोक्यो र गाडीबाट तल झर्न उर्दी जारी गर्यो । हामी अलमल्ल पर्यौं । ‘गाडी साईड लगाओ, निचे उत्रो’ त्यो भिडबाट कसैको आबाज आयो ।
गाडी सडकको किनारा लगाएर हामी तल झर्यौ । त्यसपछी बल्ल जानकारी भयो कि दिउँसो ४ बजेतिर एक भारतिय नागरिकलाई प्रहरीले ५ किलो बढी चरेस सहित पक्राउ गरेर त्यहाँ राखेको रहेछ र त्यो भिड अभियुक्तलाई छुटाउनका लागि दबाब दिन जम्मा भएको रहेछ ।
साँसद नमुनालाई देखेपछी उनिहरुले तिमी हाम्रो क्षेत्रबाट चुनाब जितेको बिधायक पक्राउ परेको व्यक्तिलाई तुरुन्त छोड्न लगाउ भनेर घेरा हाले । कुरो बुझ्न हामी चौकी तिर प्रवेश गर्यौं । हामी चौकी तिर जादा त्यो भिड हाम्रो पछि पछि उतै लाग्यो । चौकी पुर्ण रुपमा घेरियो । सडक भरी पनि ठूलो संख्यामा भिड ।
उनिहरुको माग रहेछ पक्राउ परेको व्यक्ति निर्दोष छ उस्लाई तत्काल छोड । ईलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरी नायब निरीक्षक बलराम भण्डारीको नेतृत्वमा २३ जना प्रहरीको दरबन्दी तर उनको भनाई अनुसार जम्मा जम्मी ४ जना प्रहरी त्यहाँ रहेछन ।
हथकडी लागेको अभियुक्त भित्र एउटा कोठामा । बाहिर हजारौंको भिड । प्रहरीलाई धकेल्दै भिड लगभग चौकी भित्रै छिर्न लागेको अवस्था । होहल्ला उत्तिक्कै । प्रनानी भण्डारी हस्याङ्ग फस्याङ्ग गर्दै भिडलाई सम्झाउने प्रयासमा । भिडको एउटा मात्र माग ‘तुरुन्त छोड’ ।
समस्याको समाधानका लागि साँसद नमुना लागिरहेकी थिईन । भिडको एउटा नेतृत्व सङ्ग साँसद नमुना र अध्यक्ष शाहको एउटा समझदारी बन्यो । अहिले रातभर अभियुक्तलाई यहि राख्ने, भोलि बिहानै सिडियो, प्रहरी प्रमुख लगायत सङ्ग नमुना आउने र छलफल गर्ने ।
त्यस्पछी हामी सडकमा रहेको गाडीमा आएर बस्यौं । ड्राइभरले गाडी स्टार्ट मात्र के गरेको थियो सडकमा रहेकाहरुले फेरि हाम्रो गाडी घेरे । फेरि उर्दि सुनियो ‘गाडी बन्द करो’ । गाडी बन्द भयो । साँसद नमुनाले गाडी बाटै भिडका नाईकेहरुलाई सम्झाउने प्रयास गर्दै थिईन । बाहिर अल्लि धेरै नै हल्ला खल्ला हुन लागेपछी कृष्ण भाइ गाडी
बाट तल ओर्लियो । एकछिनमा कृष्ण भाई हस्याङ्ग फस्याङ्ग गर्दै आएर साँसद नमुनाको हात समाएर गाडीबाट ओराल्यो र हामीलाई पनि झर्न भन्यो । गाडीबाट बाहिर झरेर हेर्दा त गाडीको चारवटै टाएरको हावा छैन । पछि थाहा भयो टाएरको हावा खोलिसके पछि भिडमा पेट्रोल ल्याएर आगो लगाउने तयारी भएको कृष्णले सुनेको रहेछ ।
फेरि त्यो भिडको होहल्ला र कोलाहल बिच हामी गाउँपालिका भवनको प्राङ्गणमा पुग्यौं । छेउमा रहेको चौकीबाट पड्याङ्ग र पुडुङ्गको आवाज आउन थालिसकेको थियो । तबसम्म त्यो भिडले प्रहरीको गाडी र मोटरसाईकलमा क्षति पुर्याई सकेको रहेछ । प्रहरी माथी ढुङ्गा मुढा र घरेलु हतियारबाट आक्रमण शुरु भइसकेपछी प्रहरीले बाध्य भएर फायर खोलेको रहेछ । गाउँपालिका अध्यक्ष शाहले हामीलाई आफ्नो कार्यकक्षमा लगेर राखे । त्यहाँ पनि हामी माथी बाहिरबाट ढुङ्गाको आक्रमण जारी थियो । आक्रमणकारीहरु हामी बसेको कोठामा पनि भाटा सहित छिरे । हामी आत्तिसकेका थियौं । अध्यक्ष शाहको पनि त्यहाँ भनाई मान्न छोडी सकेका थिए आक्रमणकारीहरु । एकछिनपछी शसस्त्रको टोली आएर उनिहरुलाई त्यहाँ बाट हटायो । हाम्रो बचावटको लागि बाहिर शसस्त्र प्रहरीका निरीक्षकहरु टीका गाहा र पुरन जैसीको नेतृत्वमा शसस्त्र प्रहरीका जवानहरु खटेर लागिरहेका थिए । हामी बन्धक भयौं भन्ने कुरा हामी सबैलाई महशुस थियो ।
बन्धक अबस्थामा नै साँसद नमुनाले जिल्ला प्रहरीका प्रनाउ, शसस्त्रका प्रउ, सिडिओ लगाएत सङ्ग छिटो भन्दा छिटो सुरक्षा फौज बढाउन र हामीलाई उद्दार गर्न भनेर प्रयत्न गरिरहेकी थिईन ।
के गर्ने कसो गर्ने भनेर हामी सबै अन्यौलमा थियौ । झल्यास्स याद आयो यो कुरो मिडियामा लैजानु पर्छ भनेर । त्यसै बिचमा म बाहिर निस्के र पछाडी अँध्यारो कुनोमा गएर काँचुली खबरका कार्यकारी सम्पादक भाइ सङ्गिन शर्मालाई त्यहाँ भएका सके जति सबै कुरोको बेलिबिस्तार लगाए र जताकतै छिटो नै पुर्याउन अनुरोध गरे ।
बाहिर होहल्ला र पड्याङ्ग पुडुङ्ग कायमै थियो । हामी सबै जना अताल्लिएका थियौं । झन्डै चार घण्टा बितिसक्दा सम्म पनि जिल्ला तिरबाट थप फौज नपुग्दा उकुसमुकुस अत्याधिक बढेको थियो । तनाब निकै बढिसकेको थियो ।
रातीको पौने दस बजिसकेको थियो । एक्कासी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरत सिंह राठौर कोठा भित्र प्रवेश गरे । हल्का महशुस भयो । अब भने केही राहत भयो मनमा । उनले प्रहरीको गाडी अल्लि पर बाटोमै राखेर पैदल आएका रहेछन हाम्रो उद्दार गर्न । हामीलाई कडा सुरक्षाका साथ उनको टोलिले बाटोमा निकाल्यो । त्यहाँ भएका शसस्त्रको टोलीले पनि साथ दियो। हामी गाडी सम्म पुग्दा बाटोमा अझै त्यो भिड मध्येका केही थिए । आक्रमण भइ हाल्छ कि भनेर मनमा डर थियो नै । अध्यक्ष शाहको गाडी सम्म पुगियो ।
हाम्रो गाडीमा हावा नभएको कारण गाडी र ड्राइभरलाई त्यहीँ सुरक्षितका साथ राखेर उद्दार गर्न गएको प्रहरी टोली र बन्धक भएका हामी सबैजना अटिनअटी कोचाकोच गरेर त्यो गाडीमा बसियो । केही पर प्रहरीको गाडी भएको ठाउँ सम्म पुगेपछी प्रहरी टोली झरेर आफ्नो गाडीमा गयो भने केही प्रहरी हामी बसेकै गाडीबाट अगाडि बढ्यो । बाटोमा जिल्ला बाट गएका शसस्त्रका गाडीहरु हिडिरहेका देखिन्थे । ८ किलोमिटर टाढाको दुरीमा रहेको भोजभगवानपुर इप्रका सम्म हामीलाई सुरक्षित पुर्याए पछि प्रहरी निरीक्षक राठौरको टोली हामी सङ्ग बिदा भएर घटनास्थल तिर फर्कियो ।
पानी पिएर त्यहाँ केही घण्टाको बिश्राम गरेपछी ज्यान हल्का भएको महशुस भयो । शसस्त्र प्रहरी निरीक्षक पुरन जैसीको फोन आयो । गाडीमा हल्का हावा हाल्ने वयवस्था गरेर उनले हाम्रो गाडीमा केही सुरक्षाकर्मी सहित गाडी भगवानपुर पठाईदिन लागेको जानकारी गराए । भगवानपुर पुगेको केही समयमा नै जिल्लाबाट गएको प्रहरी निरीक्षक एस. शाहको नेतृत्वको प्रहरी टोली र शसस्त्र प्रहरी बल ३० न. गणबाट गएको शसस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्य नेतृत्वको शसस्त्र प्रहरी टोली हामी भएको स्थानमा पुगिसकेको थियो ।
जिल्लाबाट पुगेको बाकी प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थललाई नियन्त्रणमा लिन लागेको थियो ।
पत्रकार, शुभचिन्तक र घरपरिवार बाट फोन गरेर अवस्था बुझ्ने क्रम जारी नै थियो । केही समयपछी हाम्रो गाडी पनि त्यहाँ पुग्यो । हाम्रो गाडीमा हावा कम भएको कारण एकजना सुरक्षाकर्मी मात्र त्यो गाडीमा जाने कुरो भो । बाकी हामी अध्यक्ष र जिल्ला प्रहरीको गाडीमा बाडीएर चढ्यौ ।
भोजभगवानपुर ईप्रका बाट रातिको लगभग १२ बजेतिर हामी नेपालगन्ज तिरको यात्रा शुरु गर्यौ । अगाडि जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी निरीक्षक एस. शाह नेतृत्वको स्कर्टिङ्ग गाडी त्यसपछी क्रमशः हाम्रो हावा कम भएको गाडी त्यस्को पछि साँसद नमुना लगाएत चढेको गाडी र सब भन्दा पछाडी शसस्त्र प्रहरी बल ३० न. गणका शसस्त्र प्रहरीका प्रनाउ सुदन आचार्य नेतृत्वको शसस्त्र प्रहरीको ट्रक ।
केही किलोमीटरको यात्रा पछि नरैनापुर र राप्तिसोनारी गाउँपालिकाको सिमानामा पुगियो । जहाँ टायरमा हावा हाल्ने पसल रहेछ तर मान्छे बाहिरै सुतिरहेका देखिए । हामीले गाडी रोकेर उनिहरुलाई उठाएर हावा हाल्नलाई अनुरोध गर्यौं । उठेर हाम्रो गाडीमा हावा भरिदिए । त्यसपछी हामी हिड्यौ । राप्ती नदिको पुलमा पुगेपछी भाइ सुर्य घर्तिमगरको फोन बज्यो । उनले कुरा गरे । थाहा भयो बाँकेका प्रजिअ मदन भुजेल थिए उनी । उनले साँसद नमुना लगाएत हाम्रो टोलीलाई भेट्न खोजेका रहेछन । फोनबाटै उनले बस्ने वयवस्थाका बारेमा पनि सोधेका रहेछन । हामी बिचमा सल्लाह भयो सबै आ आफ्नो घर जाने तर गाउँपालिका अध्यक्ष शाहलाई होटल सिद्दार्थ भ्युमा बस्ने व्यवस्था गरिदिने । सोही अनुसार भाइ सुर्यले प्रजिअ भुजेललाई जानकारी गराए हामी होटल सिद्दार्थ भ्यु जादैछौ ।
हामी होटल पुग्दा बिहानको डेढ बजिसकेको थियो । हामी त्यहाँ पुग्दा प्रजिअ भुजेल अगाडि नै पुगेर बसिरहेका रहेछन । हामी पुगेपछी प्रजिअ खुशी मुद्रामा देखिन्थे । उनले साँसद नमुना र प्रहरीका कमान्डरहरु सङ्ग घटनाका बारेमा जानकारी लिए र बस्ने खाना खाने बारेमा होटलमै व्यवस्थापन गर्ने प्रस्ताव राखे । तर हामीले ईन्कार गर्यौं बरु चिया पिउने र सबै आ आफ्नो घर तिर जाने सोही अनुसार चिया पिएर गाउँपालिका अध्यक्ष शाहलाई होटलमै छोडी हामी आ आफ्नो घर तिर लाग्यौं । घर पुग्दा बिहानको दुई बजिसकेको थियो । त्यति बेला सम्म पनि श्रीमतिले खाना नखाई पर्खिरहेकी रहेछिन । उनको मुहार चम्किलो देखियो र सङ्गै खाना खाएर सुत्ने प्रयास गरे ।
उद्दार कार्यमा सहयोग गर्ने नेपाल प्रहरी र शसस्त्र प्रहरीका कमान्डर लगाएत टोली, समन्वय गरेर सहयोग गर्ने बाँके प्रजिअ लगाएत सबैमा हार्दिक आभार सहित धन्यवाद ।
गजेन्द्र गुरुङ बाँकेका पत्रकार हुन् ।