नेपालगन्जको ब्राईटल्याण्ड स्कुलको ज्यादती रोकिएन, दश बर्षे बालकलाई एक घण्टा घाममा उभ्याएर यातना
प्रकाशित मिति : २०७६, ९ जेष्ठ बिहीबार १०:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।अनुशासनको नाममा स–साना नानीहरुमाथि डण्डा चलाउँदै आएको ब्राईटल्याण्ड स्कुलमा फेरि एउटा बालकलाई यातना दिएको घटना बाहिरिएको छ । स्कुलको शैक्षिक वातावरण राम्रो नभएको र सरसफाईमा पनि पर्याप्त ध्यान नदिएको भनेर कम्प्लेन (सिकायत) गर्ने एक अभिभावकका ४ कक्षामा अध्ययनरत १० बर्षे छोरालाई घाममा उभ्याएर यातना दिईएको थाहा भएको छ।
Advertisement
आफ्ना छोराहरुले स्कुलमा भएका असहजताबारे गुनासो गरेपछि आमा सीता राना सिकायत गर्न सोमबार बिहान स्कुल पुगेगी थिईन् । सिकायत गर्दा नै प्रिन्सिपल विजय लामाले सीतामाथि अभद्र व्यवहार गर्दै तत्काल आफ्ना बच्चाहरुलाई अर्कै विद्यालयमा लैजान भनेर धम्क्याएका थिए । गुनासो गरेकै प्रतिशोधमा आफ्नो कान्छो छोरा शिशिरलाई प्रिन्सिपल लामाले १ घण्टा बाहिर घाममा उभ्याएको र स्कुल विदा भईसकेपछि अफिस कोठामा बोलाई कलर समातेर हल्लाएको सीताको भनाई छ ।
कपडा फोहोर गरेको आरोपमा प्रिन्सिपल लामाले बालकलाई घाममा उभ्याएर यातना दिएको आमा सीताले जानकारी दिईन् । ‘म सिकायत गरेर फर्किसकेपछि सानो छोरोलाई कपडा फोहोर गरेको भन्दै प्रिन्सिपलले एक घण्टा बाहिरै उभ्याईदिनुभएछ । अनि स्कुल विदा भएपछि अफिस कोठामा लगेर किन कपडा फोहर गरेको भन्दै कठालो समातेर पटक–पटक हल्लाउनुभएछ ।’, सीताले भनिन्, ‘कान्छो छोरोले अब त्यो स्कुल जाँदै जाँदैन भनेर भनिरहेको छ ।’
अन्य बालबालिकाको अगाडि यातना दिईएपछि शिशिरको मनोविज्ञानमा पनि नकारात्मक असर परेको छ । आफूलाई एक घण्टा बाहिर उभ्याएर अफिस कोठामा लगेर गाली गरेको साथीभाईले थाहा पाएपछि शिशिरलाई मानसिकरुपमा अशहज महशुस भएको उनीसँगको कुराकानीबाट थाहा हुन्छ । शिशिरले भने, ‘प्रिन्सिपल सरले मलाई कपडा कसरी फोहोर हुन्छ हँ भनेर सोध्नु भो । मैले ट्वाईलेट जाँदा र उभिएर खाना खाँदा भनेँ । अनि सरले किन फोहोर हुन्छ कपडा हँ ? किन फोहोर हुन्छ कपडा हँ रु?भन्दै मेरो कलर समातेर हल्लाउनुभयो ।’ शिशिरले आफू अफिस कोठाबाट फर्किएको सबै साथीहरुले देख्दा लाज भएको भन्दै अब त्यो स्कुलमा नपढ्ने पनि बताए ।
खजुरा रोडमा सानोतिनो होटल चलाएर दुई छोरालाई जसोतसो निजी विद्यालयमा पढाउँदै आएकी आमा सीता स्कुलको रवैयाबाट चिन्तित छन् । विग्रँदो पढाई र असहज वातावरणमा छोराहरुलाई पढाउन त आमा सीताको पनि मन छैन । तर उनले दुवै छोराको लागि सकिनसकी ब्राईटल्याण्डमा भर्ना गर्न थुप्रै लगानी गरिसकेको हुँदा सो रकम डुब्ने डरले असमञ्जसमा परेकी छन् । ‘मैले भर्ना गर्दा तिरेको रकम फिर्ता हुने हो भने म मेरा बच्चाहरुलाई एक दिन पनि त्यहाँ पठाउँदिन ।’, सीताले भनिन्, ‘के गर्ने, के नगर्ने सोच्नै सकेको छैन ।’
स्कुलको वातावरण नराम्रो भएको र प्रिन्सिपलको पछिल्लो ब्यबहार थाहा पाएपछि छोराले पनि त्यहाँ पढ्न मन नगरेको आमा सीताले बताईन् ।
तर ब्राईटल्याण्ड स्कुलका राजा तिमिल्सिनाले भने प्रिन्सिपलले बच्चाको कठालो समातेको भन्ने कुरा सत्य नभएको दाबी गरेका छन्। तिमिल्सिनाले भने, ‘आमाले आएर बच्चाहरु घर फर्कँदा कपडा धेरै फोहोर हुने गरेको कम्प्लेन गरेपछि के रहेछ त भनेर प्रिन्सिपल सरले अफिस रुममा बोलाएर सोध्नु भएको मात्र हो । त्यति सानो बच्चाको कलर समातेर हल्लाउने भन्ने कुरा कहाँ हुन्छ रु’
प्रिन्सिपल लामासँग सम्पर्कका लागि नम्बर माग्दा तिमिल्सिनाले भने, उहाँले (प्रिन्सिपलले) मोबाईल बोक्नु हुँदैन ।’
नियमनकारी उपमहानगरपालिकालाई मतलबै छैन
यसअघि एक साता अघि पनि ब्राईटल्याण्ड स्कुलमा कक्षा ३ मा पढ्ने बालिकालाई शिक्षिकाले कुट्दा नाकबाट रगत आएको घटना सार्वजनिक भएको थियो । तर नगरभित्रका स्कुलहरुलाई नियमन गर्ने निकाय नेपालगन्ज उपमहानगरपालिकाका मेयर संयोजक रहेको नगर शिक्षा समितिले कुनै वास्तै गरेन । त्यो घटनाबारे अहिलेसम्म उपमहानगरपालिकाले घटनाबारे सामान्य सोधपुछसम्म गरेको छैन । नगर शिक्षा समितिका सदस्य अजय कुमार पाठकले मेयर डा। धवल शमशेर राणा लगातार नेपालगन्ज बाहिर भएकाले घटनाबारे बुझ्न नभ्याएको प्रष्टिकरण दिएका छन् ।
श्रोत: इअवध पोस्ट डटकम