धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो भेटियो
प्रकाशित मिति : २०७६, १२ जेष्ठ आईतवार ०८:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी ।हवाई उडान बन्द गरेर स्तरोन्नतिको काम भइरहेको धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो भेटिएको छ । १८ सय मिटर लामो धावनमार्गको ५२६ मिटर लम्बाइ र ११ मिटर चौडाइ क्षेत्रमा दलदले माटो भेटिएको हो । दलदले माटो भेटिएपछि धावनमार्ग कालोपत्रेको काम लक्ष्यअनुसार हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । पाँच मिटर गहिराइसम्म दलदले माटो भेटिएको स्तरोन्नतिको कामको निरीक्षणमा खटिएका नागरिक उड्डयन प्राधिकरणका कन्सल्ट्यान्ट योगेन्द्रराज शर्माले बताए ।
Advertisement
प्राधिकरणका पूर्वइन्जिनियरसमेत रहेका शर्माका अनुसार सुरुमा धावनमार्गको एक सय मिटर लामो क्षेत्रको बेसकोर्स हटाउने योजना थियो । तर, रोलिङ गर्दा माटो भासिएको उनले बताए । ‘भासिनुको कारण हेर्दा मुनि दलदले माटो रहेछ,’ उनले भने, ‘५१६ सय मिटर क्षेत्रमा करिब पाँच फिटमुनिसम्म दलदले माटो हटाएका छौँ ।’ चार सय मिटर क्षेत्रमा दलदल हटाएर बेस हालेपछि थप १२६ मिटरमा दलदल भेटिएको धनगढी विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले बताए । दलदले माटो निकालेर गिट्टी हाल्ने काम भइरहेको उनको भनाइ छ ।
गत २२ वैशाखदेखि विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ । धावनमार्गको स्तरोन्नति गरेर २२ जेठदेखि हवाई सेवा सुचारु गर्ने उद्देश्य प्राधिकरणको छ । तर, निर्माणमा भइरहेको ढिलाइले निर्धारित अवधिमै हवाई उडान सुचारु हुनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । दलदले माटो भेटिएपछि धावनमार्ग स्तरोन्नतिको काम हालसम्म करिब ३० प्रतिशत मात्र पूरा भएको विमानस्थल प्रमुख बुढ्थापाले बताए । प्राधिकरणका अनुसार १८ सय मिटरमध्ये पाँच सय मिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
निर्धारित अवधिमै उडान सुचारु हुने दाबी
दलदल भेटिँदा पूर्वनिर्धारितभन्दा काम थपिए पनि निर्धारित अवधिमै उडान सुचारु हुने गरी काम सम्पन्न हुने इन्जिनियर शर्माको दाबी छ । ‘दलदले कालो माटो भेटिएकाले समस्या भएको हो । तर, पूर्वनिधारित लक्ष्यअनुसार नै हवाई सेवा सुचारु गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,’ उनले भने । काठमाडौंबाट सुदूरपश्चिम प्रदेशमा नियमित उडान हुने धनगढी विमानस्थल बन्द हँुदा हवाई यात्रा गर्नेहरू समस्यामा परेका छन् । काठमाडौं–धनगढी नियमित पाँचवटा उडान हुँदै आएका थिए । बुद्ध र श्री एयरलाइन्सले दैनिक दुई–दुई तथा नेपाल एयरलाइन्सले हप्तामा तीन दिन यो रुटमा उडान भर्ने गरेको थियो । धावनमार्ग कालोपत्रेसँगै जहाज पार्किङ क्षेत्रसमेत विस्तार गरिनेछ ।
नयाँपत्रिकाबाट शाभार