बाल्यकालको बर्दिया सम्झना : दिनभर पौडी र बालुवाको तातो
प्रकाशित मिति : २०७६, २० आश्विन सोमबार १२:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुला अधिकारी । कर्णाली नदीको दुई भंगालोले घेरेको थियो, हाम्रो गोलालाई । हाम्रो स्कुललाई । हाम्रो घर भएको खोनपुर गाउँलाई । माघीमा ठाकुरद्धारा मन्दिरमा मेला भर्न जांदा पनि कर्णालीको गेरुवा भंगालो छिमल्नु पर्ने । शनिबार पारेर टिकापुरको राज सिनेमा हलमा फिल्म हेर्न जांदा पनि कर्णाली नदीको पश्चिम भंगालो तर्नु पर्ने । घरै वरीपरिका वन्जरिया झरन, चारगाउं कुलो, बुढिकुलो त दैनिकी भै हाले ।
Advertisement
श्रीलंकाको टापु नाउं पाएको थियो तत्कालिन एघार गाविसको यो ठाउंले अनि थारु समुदाय वीच भौंरा टप्पुको नामले परिचित । अघिपछि दिक्क लागे पनि वर्षामा गेरुवा नदीमा आएको भेलमा पौडदा भने साह्रा विकटता, असजिला भुलिन्थ्यो । समय पनि गर्मीको । अनि स्कुल पनि वर्षामा पूरै दुई महिना विदा हुने । वर्षाभरी साह्रा केटाकेटी, युवा युवतीहरुको दैनिकी गेरुवा नदीमा वित्थ्यो।
पूरै खोनपुर, तीनघरुवा, खल्लागाउं, सुखारका दर्जनौं केटाकेटीहरुको जुलुस लाएर नदीमा हाम फाल्थ्यौं । पानीले बगाएर तल मनाउ गाउँ पुर्याउने डर हुने भएकाले झण्डै दुई किलोमिटर माथिबाट मात्रै नदीमा पस्नु पर्थ्यो । अनि बल्ल खोनपुर गाउंपारीको डिलमा पुग्न सकिन्थ्यो । फर्किदा फेरी नदीको तिरै तिर उसै गरी उत्तर लागेर नदीमा पसिन्थ्यो ।
पानीको करेन्ट भएको भेलमा हातखुट्टा छोडेर पानीमा तैरदा कस्तरी पानीको हल्कोले बगाउंथ्यो भने आहा।।।।।।।। पानीले उचाल्दै, पछार्दै सललल बगाएर लान्थ्यो जीउ पूरै स्वतन्त्र छोडीदिदा । त्यस्तो आनन्द १० वर्ष अघि थाइल्याण्डको पटायामा पानी जहाज समुन्द्रको हल्कोमा पस्ता मात्रै अनुभूति भएको थियो ।
म जन्मिएको कर्णालीबाट बगेर आउने कर्णाली नदीको भेलको पानी पूरै रातो हुन्थ्यो वर्षामा । त्यहि रातो पानी सफा गरेको भन्दै वीचमा गएर हातले दायां वायां छल्काएर घुटुघुटु पिय पनि कहिले विरामी भैएन । बरु पेटमा पसेका किटाणु मार्न खुवै लडे हुन् प्रतिरोधी लडाकु जीवाणु जस्तो लाग्छ अचेल ।
पौडी खेल्नु, बालुवा ताप्नु, वर्दिया निकुञ्ज छिरेर निउरोको साग टिप्नु हाम्रो दैनिकी थियो । कालो अंधेरो जस्तो घना बर्दिया निकुञ्जमा बाघको उस्तै डर, हात्ती त हिउंदमा गाउं छिरेर ताण्डव गरेको झन् त्यहि बेला याद आउंथ्यो । मुटु ढक्क हुन्थ्यो । छिसिक्क बांदरले हांगो फेर्दा पनि सबै त्राही त्राही भइन्थ्यो ।
ठाउं ठाउंमा कटान रोक्ने तारजाली बांधेका हुन्थे । नदीको डिलमा अग्लो ठाउं तीनै हुन्थे । त्यसैमाथिबाट जिम्न्यास्टिक हान्दै छप्लांङ्ग नदीमा बजारिंदा टाउकोमा झनन्न हुने गरी चोट लाग्थ्यो । पानी नाक भरी पसेर रिंगटा लाग्ला जस्तो हुन्थ्यो । कनेरै सिंगान पानी निचोरे पछि बल्ल टाउको हल्का हुन्थ्यो । तै पनि गाउंका केटाहरु वीच उल्टा सुल्टा जिम्न्यास्टिक हान्न को भन्दा को कम हुन्थ्यो ।
बुढीकुलो हिउंदमा टीठ लाग्दो हुन्थ्यो । हामी चिचिलाहरुको पनि ढाड मुनीको । राजापुर भौंराका एघार गाविस उक्केर बर्खा लाग्नु अघि देशावर जाने भएकाले त हो नि रोपाईंका वेला बुढीकुलाले स्कुलेका अगाडी रौद्र रूप देखाउन सकेको १ आफैले बांध बांधेर रोत्याएको बुढीकुलो वर्षा भरी डरलाग्दो गरी सुसाउंथ्यो आसपासका गाउं सम्मै ।
‘माथी कर्नाली नदीको दोभानमा कच्ची बाँध लाउन कस्तो मेला जस्तो हुन्छ’ माईला थारू भन्थे ( ‘दिनभर मरीमरी काम गर्यो राती हुलमुलमा जांड खाएर रमाइलो गर्दा दिनभरको थकान चट्’ । पिकनिक हो किसानको, स्कुल जाने मेरा अलि जेठा थारू साथीले भन्या सम्झन्छु । थारु समुदायका धेरै जसो साथीहरु हामी भन्दा कम्तिमा दुईतीन वर्ष जेठै हुन्थे ।
खेतमा पानी ल्याउन हरेक वर्ष किसानहरूको श्रमदानको मेला लाग्थ्यो । अघि पछि सुनसान हुने कर्णाली फाटेको दोभानमा उत्सव जस्तो । किसान, लडिया, डनलप, ट्याक्टर, रांगा, गोरुको लर्को । देशावर भनिन्थ्यो आफ्नोकाम आफै गर्ने त्यो परम्परालाई । कुलापानीका अगुवाले संयोजन गर्थे त्यसको ।
झालापाता र केहि दिनको सामल बोकेर लडियाका लस्कर जान्थे । लडिया हेर्न कस्तो मज्जा आउंछ नि रु भरखर पहाडबाट वसाईं सरी आएका केटाहरूले गाउंको एकमात्र साधनका बारेमा भन्थे कि भन्थेनन् कुन्नी याद कस्ले गर्यो रु। ‘थारू मात्रै त हुन्छन् रे’ म संग पढ्ने थारू साथीहरूले मुख विगारे होलान् त त्यसबेला रु । तेस्तो भन्या भए अछामी साथीहरूले पक्कै भने हुन् ‘धत्, पहाडी पनि धेरै हुन्छन् रे बे’ । हुन पनि बसाईं सरी आउने पहाडीहरू हरेक हिउंदमा बढेका बढेई थिए ।
अछामबाट बसाईं सरी आएका साथीहरू स्कुलमा र बाहिर पनि ‘दादा’ हुन्थे । आफुलाई लागेकै हुनु पर्ने उनीहरु ठान्थे। हुल बांधेर हिंड्थे । अनि ढिलो स्कुल सुरु गर्नाले होला ठूलो जीउ भएका हुनाले पनि अछामी साथीहरुले खेलकुद जस्ता अरु क्रियाकलापमा पनि नेतृत्व लिन्थे । कुटपीट, झगडामा पनि अगाडी नै हुन्थे । अली पहिले वसाईं सरेकाहरु पछि आउनेलाई होच्याउंथे । कर्णालीबाट बसाईं सरी आएका हामीलाई जुम्ली भन्थे । फेरी जुम्ली भन्दा कति पीडा र लाज लाग्थ्यो भने नि त्यसवेला हामीलाई । असैह्य भए पछि बेला बेलामा प्रतिवाद गर्थें ‘म त कालिकोटबाट आ हो के’ । त्यसपछि त के चाहियो एसएलसी पढ्दासम्म ‘कालिकोटे’ नाउं रह्यो ।
हुन त स्कुल भरी उखान पनि चल्या थ्यो ‘अछामी हरांमी दैलेखी चोर’ । हामी प्रतिवाद गर्ने अवस्था पाए यहि उखानको सहारा लिन्थ्यौं । हुन पनि तीनघरूवामा २०४४ साल तिर स्कुल आए पछि कैयौं वर्ष स्कुलका टेवल र वेन्च जोगाउन धौ धौ भयो । राती राती स्कुलका टेवल बेन्च स्थानीयका घरघरमा पुगेका हुन्थे । दैलेखी वस्तीको विचमा जनता मावि थ्यो ।
जुम्ली उपमा पाउंदा एउटा कुरामा भने काइदाको लाभ भएको थियो । ‘जुम्लीहरु मुद्दा लड्नमा सिपालु हुन्छन्’, हल्ला थियो ‘यीन्ले मुद्दा लडी लडीकन सडकमा ल्याउंदा छन्’ । कतिपय बेला यहि हल्लाले हाम्लाई हेपिनबाट जोगाउंथ्यो ।
हाम्रो घरछेउको सडक किनारमा कुलो थियो । ठूला केटाहरू सुखार गाउंको चारगाउं कुलामा नुहाउन जान्थे । पौडी जानेका अझै ठूलाहरू कर्नालीको भंगालो गेरूवा नदीमा जान्थे । चारगाउं कुलाको बाँधमा हाम्फालेर तल निस्कन सक्ने हुनु सवैका लागि कम्तिको साहसिलो काम हुन्थेन । सुखार गाउँमा पानी लान बांध लाइएको थियो । बांधबाट पानी खस्दा तल पानीको भुमरी परेको थियो । भुमरी छलेर तल किनारमा आउन शिप र बल दुवै चाहिन्थ्यो । त्यहि भएर सिकारु र कमजोर आंत भएकाले आंट गर्थेनन् । भुमरीमा परेर गाउँका केहिको लाश पनि नपाइएको वुढापाकाबाट सुनेकाहरुको त झन् त्यसै मुटु कांप्थ्यो । तर, एक न एक दिन त जो पनि बांधमा हाम्फाल्थ्यो ।
बाजेलाई हामी बोब भन्थेम् । बोब हामीलाई टोटकी भन्थे। भन्थे ‘टोटकी चारगाउं कुला नजानु’ । मेरी मामा घरकी बज्यै संधै पिरलो गर्थिन् ‘यो नानु छ काउंदो डुब्न्या हो यो रु’ सानो हुंदा वर्षामा घरछेउ कै कुलामा नुहाउने अनि ढिक माथीको बालुवा ताप्ने हाम्रो दैनिकी हुन्थ्यो । एक दिन मैले बालुवाको जुँगा बनाएँ । मेरो ठुलीआमाको छोरा उमा दाईले मेरो नाम राखी हाले ‘जुंगे माछो’ । त्यसपछि त मेरा तीन नाम भै हाले नि ।
चार गाउंकुलोमा चांहि बुढिकुलोबाट बांध बांधेर पानी आउंथ्यो । त्यहि चारगाउँकुलोबाट हाम्रो गाउंको कुलोमा पानी आउंथ्यो । कर्णालीको पानी ठाउँठाउँको बांधबाट छेकिदै छेकिदै हामीले डुवुल्की मार्ने हाम्रो गाउंको आँगनमा आइपुग्दो रहेछ । हामी केटाकेटीले स्कुल सक्नेबेला मात्रै यो थाहा पाइयो ।
बुढीकुलामा ठाउँ ठाउँमा काठको लामो डुंगा अर्थात् नाउ लाग्थ्यो । ठेक्कामा लिनेले पैसा असुल्थे वारपार गराएको। धेरैजसो पूराना हुन्थे नाउ । भारतको कतर्नियासम्म पुगेर नाउ किनेर ल्याउंछन् भन्ने हल्ला थ्यो । वेलाबेलामा नाउले सन्तुलन गुमाउंथ्यो अनि घोप्टिहाल्थ्यो । हतारो छ भन्दै सबै ह्वार्र चढ्ने अनि उत्रन कोहि नमान्ने । हुलमुलमा कैयौं पल्ट नाउ घोप्टिने । यस्तोमा वृद्धवृद्धा र केटाकेटी अनि दुई जीउ भएका महिलालाई सबै भन्दा सकस हुन्थ्यो । तर, छेउमा हुनाले मानिसहरु झोला, कपडासंगै भिज्थे अनि बलियाले सबैलाई उतारी हाल्थे, ठूलै दुर्घटना हुन पाउंथेन । चुहिने भएका पूराना नाउबाट मुल फुटि रहन्थ्यो । एउटाको कामै नाउमा जम्मा भएको पानी मगबाट बुढीकुलामैं हुर्याउने हुन्थ्यो ।
पूरानो नाउले त्यसबेला ‘व्यालेन्स’ गुमाउंदा मेरा उमाकान्त र मणिदाईले कति दिन भिजेका किताव बोकेर घर फर्के हुनन्, हिसाब होला कि नाईं रु यूरिया मलका बोरा भित्रको वाक्लो प्लास्टिक घोटीघोटी पखालेर गाता हालेका किताब रूझ्दा मेरा बालसखी ती दाईहरू रोए हुनान् त रु एक दुई वर्ष पढेका पूराना किताव किन्या भए त झन् पानीले गलायो होला है रु। त्यसवेला तीन चार खेपसम्म पुराना किताव पढ्ने चलन थियो । चलन के भन्नु नयां किताव किन्न नसक्ने अधिकांशको वाध्यता थियो ।
अनि सांच्ची, ती दाईहरूले जस्तै मेरा बाले मलाई सानो छ भन्दै नदी तर्नु पर्ने पाताभार स्कुल नहालेकामा म खुसीले कहिले नांचे हुंला त त्यसबेला रु१ के नाचें हुला र रु१ घरछेउको सानो वन्जरिया खोलाले पनि कम्ता दुःख दिन्थ्यो र ? खेतको पानी बगेर आउने झरन पनि वर्खामा हामी स्कुलेका लागि कर्णाली नदी भन्दा ठूलो हुन्थ्यो । पुल थिएन । छाती माथी सम्मको पानी हुन्थ्यो । मान्छेले तर्ने बनाएको ठाउं अलिक कम गहिरो हुन्थ्यो । तर, कस्तो वेगको हुन्थ्यो भने अड्कल गरेर हुत्तिएर पारी नपुगे बगाएर गहिरोमा धकेलिदिन्थ्यो ।
कपडा, चप्पल, किताव सबै टाउकामा राखेर हामी पारी जान्थेम् । रातभरी जोडदार पानी परेका दिन भोली पल्ट स्कुल चांदा त्यहि बन्जरिया झरन पनि सुसाएको हुन्थ्यो । एकले अर्कोको हात समातेर बाल साङ्लो बनाएर खोला तर्दथ्यौं त्यस्तो बेला । टाउकामा चप्पल, किताव र कपडा एक हातले च्यापेर खोलो तर्दा साना हात गलेर फतक्कै हुन्थे । वर्षा विदा पछिको भदौ एक गतेदेखि लगभग दशैं विदा नहुन्जेल यहि नियति सधैं दोहोरिन्थ्यो ।
तीन चार कक्षा पढ्ने हामी चिचिलालाई नांगै देखेर ठूला केटाकेटीहरुले पानीमा सर्पले मुत्ने डस्ला है भन्दै तर्साएको सम्झँदा अहिले पनि हांसो उठ्छ । डर लाग्छ । लाज पनि लाग्छ ।
अंग्रेजी, गणित र पछि पछि विज्ञान विषयको ‘टिउसन’ पढ्ने फेशन जस्तै थियो । बाध्यता पनि थियो । बाध्यता फेशन जस्तै पनि बनेको थियो । पाताभारका वीएस्सी सर गणितको ‘टिउसन’को लागि एरियाकै नामुद दिए । कालिकोटको एउटा विद्यार्थी उनको भात पकाउंथ्यो । ‘फिरिमा टिउसन पढ्छ यो त’ अरूले भन्थे । उ पनि सुनाउंथ्यो ‘चामल जस्तो सारो भात खान्छन् वीएस्सी सर’भन्थ्यो‘बिहान ६ बजेदेखि रातीसम्म पढाउंछन् । भोक लाग्दैन रे’ । सुनेर सबै दंग परिन्थ्यो ।
गणितको ‘टिउसन’ पढ्न जाने पाताभार स्कुलबाट शुक्रवार घर फर्कदै थियौं । शनिवार छुट्टी हुने भएकाले हामी संधै शुक्रबार घर जान्थ्यौं । बुढीकुलो आइहाल्यो । धेरै जना थियौं केटाकेटी ।
बुढीकुलो पार गर्दा कट्टु भिजाउने सम्मको पानी थियो । मैले फिता नभएको खुट्टा छिराउने चप्पल लाएको थिएं । हामी टिउसन अवधी भरी एकप्रिय माविमैं वस्ने भएकाले म रित्तै थिएं । केहि केटाहरु पाताभार वस्थ्यौं । केटीहरु घरबाटै आउने जाने गर्थे । बेन्च जोडेर हामीले खाट वनाएर कक्षा कोठामा सुत्ने वनाएका थियौं । वर्षा विदाको सुरुको बेला रैछ कि ?
बुढीकुलामा खै किन म हौसिएं । चप्पल हुर्र फाल्दै टिप्तै गर्दै थिएं । पानी छ्याप्दै, भिज्दै पानीमा रमाएँ । पारी किनार पट्टी पानी सलल बगेको थियो । चप्पल टिप्न नपाई बगायो । खोज्दा पनि पाइएन । खुब उफ्रेको थिस् ठिक्क परिस्, भीडबाट कस्ले रिस गर्दै भन्यो । मैले ठम्याउन सकिन ।
सबैका खुट्टामा बकुल्ला छाप फिते चप्पल हुन्थे । मैले विन्द्राको असलम खानको किराना पसलबाट किन्या ‘स्टाइल’को चप्पल बग्यो । म कालो भएं । रून पनि सकिन । असलम खांन भारतबाट आएर २५ वर्षदेखि पसल गरिरहेका वृद्ध थिए । किराना पसल भने पनि उनको पसल अचेलको डिपार्टमेन्ट स्टोर जस्तो थियो । कपडा, खाद्यान्न, जुत्ता चप्पल मात्र होइन समोसा, जेरी र बर्सोला मिठाइ पनि पाइन्थ्यो त्यहाँ । पूर्व गेरुवा नदी छेउको गुप्तीपुर, दक्षिणको जोधिपुर, पश्चिम सुखार देखि उत्तर तिनघरुवा र खल्ला गाउं सम्मका ठाउँबाट ग्राहक ओइरिन्थे । अन्यत्र पसल थिएनन् । कि राजापुर जानु पर्थ्यो ।घरमा किराना पसल हुंदाका दिन सम्झें । बालुवामा चप्पल लुकाई खेल्दा खेल्दै चप्पल हराउंथे । अनि लुसुक्क राती घर पुग्यो, उस्तै रंग र नम्बरको चप्पल चोर्यो । झन् नयां पाइने । कस्तो आनन्द । तर, नयां चप्पलमा वालुवा र माटो धसारेर पूरानो बनाउन एकछिन भने कम्ता दुख हुन्थ्यो र रु। नत्र बाले थाहा पाए भकुराई खाने डर । हुन त मेरा बाले मलाई कुटेको याद छैन । तीन कक्षा सम्म संगै पढेको साथी विष्णुका बुवाले त आंगनको बबुरको रुखमा झुण्ड्याएर तातो पन्युले डाम्न खोज्थे । पैसा चोरेको कवुल गरे पछि वल्ल खोल्थे डोरी । चोर्न पनि जति गरे पनि छाड्थेन । उसले पैसा चोरेर बाको कुटाई खाए पनि हाम्लाई भने मोज हुन्थ्यो । दशकौंदेखि थारु गाउंको वीचमा बसेर चलेको वीन्द्राको अर्को मुन्सी खानको पसलमा जेरी, वर्सोला मिठाई र गोट्टा खुब ख्वाउंथ्यो । सिजनमा थारुका घरबाट किनेर उखु पनि खान पाइन्थ्यो उसको संगतले ।एक पल्ट लहलहैमा लागेर पचास रुपिया चोर्दा सडकमा लछार्दै पिटेर घर लगेको मात्र याद छ । अरु विर्सें कि पिटेनन् एक दिन बालाई सोध्नु पर्ला!
तुला अधिकारी नेपालगन्ज स्थित रेडियो कृष्णसारका स्टेशन प्रमुख हुन् । उनी बिगत २२ बर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।