चार वर्षमा एक हजार ६०० को शल्यक्रिया
प्रकाशित मिति : २०७३, २३ कार्तिक मंगलवार ०९:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले आफ्नो सेवा प्रारम्भ गरेदेखि हालसम्म एक हजार ६४९ बिरामीको शल्यक्रिया गरेको छ ।
Advertisement
प्रतिष्ठानले विसं २०६९ मा आफ्नो सेवा प्रारम्भ गरेको थियो । सेवा थालनी गरेको चार वर्षको अवधिमा यसले ७३६ बिरामीको मेजर (ठूला) र बाँकीको माइनर (साना) अपरेसन गरेको प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश थापामगरले जानकारी दिनुभयो ।
“हालसम्म हामीले एपेन्डिसाइटिस, हाडजोर्नी, ल्याप्रोक्सटोमी, सिएस, हर्निया, भ्यासेक्टोमी, हेमियोटोमी, डेब्रिडिमेन्ट, पाठेघरको, स्किन ग्राफ्ट, मिर्गौला प्रत्यारोपण र बाह्य वस्तुसहितको मेजर तथा माइनर अप्रेसन गरेका छौँ,” डा थापामगरले भन्नुभयो । त्यसमा अहिलेसम्म सबैभन्दा बढी ६७ एपेन्डिसाइटिसका बिरामीको अपरेसन गरिएको उहाँले बताउनुभयो ।
जुम्लामा प्रतिष्ठान स्थापना भएपश्चात मुगु, कालीकोट, जाजरकोट, बाजुराका बिरामीले बढी सेवा लिइरहेका छन् । प्रतिष्ठानका कारण अहिले कर्णालीवासीले अकालमा ज्यान गुमाउनु नपरेको चन्दननाथ नगरपालिका–६ का स्थानीय हरिबहादुर भण्डारीले बताउनुभयो ।
भण्डारीले भन्नुभयो, “सामान्यतः हात भाँचिएमा नेपालगन्ज, काठमाडौँ जान्थ्यौँ र लाखौँ खर्च गर्नुपथ्र्यो, तर अहिले नचिताएका अपरेसन पनि जुम्लामै भइरहेका छन्, यसबाट हामी हर्षित छौँ ।” यता डा थापामगरले दुर्गम क्षेत्रका जनताको जीवन बचाउने सुवर्ण अवसर पाएकोमा आत्मसन्तुष्टि बढेको बताउनुभयो ।
शव परीक्षण गर्न डाक्टर कुर्नुपर्ने, सुरक्षित सुत्केरी हुन नसकी धेरै महिलाले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता पछिल्लो समयमा हटेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान अहिले यहाँका नागरिकका लागि वरदान सावित भएको स्थानीय मनोज बुढाथोकी मगरले जनाउनुभयो । उहाँका अनुसार यसको सही व्यवस्थापनका लागि सरकारले यथाशीघ्र पदाधिकारी नियुक्ति गर्नुपर्दछ ।रासस