लप्पन छप्पन: न कथा विश्वासिलो, न अभिनय लोभलाग्दो
प्रकाशित मिति : २०७३, १२ चैत्र शनिबार १७:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालमा त्यति धेरै सस्पेन्स थ्रिलर चलचित्र बन्दैनन् । बनेका चलचित्र सस्पेन्स भनिएपनि तिनमा रहस्य नै हुँदैन । सारै झुर हुन्छन् ।
Advertisement
चलचित्र ‘लूट’ सस्पेन्स चलचित्रको थिममा बनेको एउटा सफल चलचित्र थियो । त्यसपछि अन्य केही चलचित्रले पनि त्यो ट्रेन्ड अपनाउन थाले । थोरबहुत चलचित्र सफल पनि भए ।
चलचित्र ‘लप्पन छप्पन’ को कहानी पैसाको वरिपरि घुमेको छ । त्यो पनि थोरै रकम हैन, पूरै ५ अर्ब ।
पाकेटमार तथा ह्याकर दुई युवालाई जसरी पनि पैसा कमाउनुपर्नेछ । पैसाकै अभावले ती ह्याकरले आईटी पढ्न पाएका छैनन् । होटल चलाएर बस्ने चमेरो (अर्पण थापा) लाई पनि टन्न पैसा कमाउनुछ । पूर्वमन्त्रीको हत्या गरेर फरार भएको बाका (सौगात मल्ल) बेल्जियममा बसेर गुण्डागर्दी गर्छ ।
बेबी (वर्षा शिवाकोटी) र टंक (दयाहाङ राई) को भूमिका पनि चलचित्रमा देखिन्छ । सस्पेन्स चलचित्रको सबै सस्पेन्स यहाँ नखोलौं ।
चलचित्रको सबैभन्दा सबल पक्ष यसको ब्याकग्राउण्ड म्युजिक हो । चलचित्रको कथा पनि त्यति झुर छैन । तर केही दृश्यहरू साँच्चै झ्याउलाग्दा छन् ।
सबै कलाकारले अब्बल अभिनय गरेका छन् । पुराना केही कलाकारले आफ्ना अन्य फिल्मको ह्याङओभरलाई भने मेटाउन सकेका छैनन् ।
चलचित्रका संवाद ठीकठीकै लाग्छन् । कथानकको घटनाक्रम लयात्मक छ । तर चरित्र विकास र कथानकको संयोजन भने कतिपय दृश्यमा जम्न सकेको छैन । मुकुन्द भट्टले सानो समूहसँग काम गरेका हुन् भने उनको काम प्रशंसनीय छ । तर समग्र चलचित्र हेर्दा उनी औसत निर्देशक मात्र हुन् ।
अर्को कुरा निर्देशकले पात्रलाई संवादको माध्यमबाट मात्र जबर्जस्ती अगाडि बढाएका छन् । परिवेशलाई हाउभाउको माध्यमबाट पनि क्याच गर्न सकेको भए उनको निर्देशकीय क्षमता अझ तिखारिन्थ्यो ।
नवअभिनेता प्रकाशजंग शाह र सिड खरेलले राम्रै अभिनय गरेका छन् । सौगात र दयाहाङको अभिनय भने अन्य फिल्मको ह्याङओभरजस्तो लाग्छ । वर्षा र अर्पण थापा पात्रअनुसार जमेका छन् । साँच्चिकै वर्षाले यो फिल्ममा आफूलाई बोल्ड बनाएकी छिन् । उनको अभिनय अब्बल लाग्छ । उनले आफूलाई केन्द्रमा राखेकी छिन् । यो उनको खुबी पनि हो ।
चलचित्रको छायांकन पक्ष औसत छ । केही दृश्यहरू आकर्षक लागेपनि धेरैजसो दृश्यहरू हुनुपर्ने जति आकर्षक छैनन् । केही राम्रा र केही झुर छायांकनको कारण यसलाई अब्बल छ भन्न सकिन्न ।
फिल्म हेर्दा सलल कथा बगेजस्तो लागेपनि चलचित्रको प्रस्तुतीकरण साँच्चिकै कमजोर छ । निर्देशकले अझै धेरै फिल्ममा डुबेर हरेक दृश्यलाई उस्तै कलात्मक बनाउन सक्नुपर्थ्यो ।
फिल्म नसोच्ने हो भने, दुई युवाले आफ्नै प्राइभेट ह्याकिङ सफ्टवेयर बनाएको भनिएको छ । विश्वकै सबैभन्दा धेरै कालो धन्दा गर्नेहरुको कोडिङ गर्ने ठाउँ भनिएको छ । तर फिल्ममा आईटी नै नबुझी कसरी डिकोड गर्छन् ? त्यो पनि १५ मिनेटमै ।
के त्यति कमजोर हुन सक्थ्यो त्यो बिल्डिङ ? तडकभडक गरेर फिल्मलाई राम्रो बनाउन खोज्नुको साटो फिल्मलाई कलात्मक र कारणसहित पेश गर्न सकेको भए अझै राम्रो बन्थ्यो । फिल्मका गीत संगीत राम्रा छन् । निश्चल बस्नेत र सबिन राईको उपस्थिति स्वाभाविक लाग्छ ।
चलचित्रको अर्को पक्ष यो पनि हो कि नेपाली दर्शकले युरोपका विभिन्न स्थानका दृश्य आफ्नो भाषाको सिनेमामा हेर्न पाउँछन् । दर्शकलाई मनोरञ्जन दिने पाटो यो पनि हुन सक्छ ।
समग्रमा चलचित्र ‘लप्पन छप्पन’ औसत चलचित्र हो । चलचित्रमा नयाँ प्रयोग गर्न खोजिएको छ । प्रस्तुति त्यति आकर्षक छैन । केही कलाकारबाहेक अरूको अभिनय दोहोरिएको छ ।
कथा छरिएको छ तर कमजोर भनिहाल्न मिल्दैन । प्राविधिक कमजोरी धेरै भएपनि चलचित्रले मनोरञ्जन भने अवश्य दिन्छ ।
सिक्वेल निर्माण गर्न प्रशस्त बाटो छोडेको छ चलचित्रले । ‘लप्पन छप्पन’ हेरिसकेपछि साह्रै झुर चलचित्र भनेर दर्शकले पक्कै भन्ने छैनन् । ‘वाह !’ चाहिँ नभन्न सक्छन् ।