जो आकाशबाट खसेको उल्कापिण्ड लागेर घाइते भए
प्रकाशित मिति : २०७३, २३ मंसिर बिहीबार १५:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
– स्लेट/स्मिथसोनिया/
आजभन्दा लगभग ६ करोड ६० लाख वर्षअघि एउटा उल्कापिण्ड पृथ्वीमा खसेको थियो। त्यसले पृथ्वीको सतह र वायुमण्डलमा यति ठूलो विनाशलीला मच्चायो, त्यतिबेला पृथ्वीमा पाइने भीमकाय जन्तु डायनोसर लोपै भएर गए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भएको वैज्ञानिक अनुसन्धानले देखाएको छ।
के त्यसपछि उल्कापिण्डसँग पृथ्वीको सामना कहिल्यै भएन?
पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकहरूले भन्दै आएका छन्। आधुनिक इतिहासमा उल्कापिण्डको आकार उतिबेलाको भन्दा सानो भएको र टकराव पनि उहिलेजस्तो भयानक नभएको वैज्ञानिकहरू बताउँछन्।
उदाहरणका लागि, सन् १४९० मा चीनको गान्सु प्रान्तमा उल्कापिण्ड टुक्रिएर ढुंगाको वर्षा भएको र करिब १० हजार मानिसको ज्यान गएको चिनियाँ इतिहास छ। उक्त घटनालाई अनुसन्धानकर्ताहरूले अझै पुष्टि भने गरेका छैनन्।
उल्कापिण्डका सम्बन्धमा अनुसन्धानकर्ताले पुष्टि गरेको र लिखित इतिहासमा दर्ज भएको एउटा मात्र घटना छ, जसमा एक जना व्यक्ति घाइते भएका थिए।
आकाशबाट खसेको उल्कापिण्ड लागेर घाइते भएकी ती महिला थिइन्, आन होजेज।
यो घटना सन् १९५४ नोभेम्बर ३० को हो।
त्यस दिन अपराह्मन पौने ३ बजे अमेरिकाको अलाबामा राज्यमा पर्ने सिलाकाउगा भन्ने ठाउँमा आकाशबाट आगोको मुस्लो झर्यो, जसलाई अमेरिकाका तीन राज्यबाट देखिएको थियो। आकाशबाट पृथ्वीमा खसेको त्यही आगोको मुस्लो नै उल्कापिण्ड थियो।
त्यसको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा छिर्दासम्म जलेर धुवाँ भइसकेको थियो। करिब चार किलो तौलको एउटा टुक्रा भने उछिट्टिएर हजारौं माइल प्रतिघन्टाको गतिमा जमिनतिर खस्यो। त्यसले होजेज बस्ने घरको छानो छेड्यो। कोठामा रहेको ठूलो रेडियोलाई धुलोपिठो नै बनायो।
त्यतिबेला होजेज सिरक ओढेर सोफामा झकाउँदै थिइन्। एकाएक कुनै अज्ञात वस्तु आगो ओकल्दै छत छेडेर कोठाभित्र छिरेपछि उनको तन्द्रा भंग भयो। उनी सम्हालिनै पाएकी थिइनन्, त्यो वस्तु भुइँमा बज्रियो। त्यसको एउटा हिस्साले उनको कम्मरमा पनि चोट पुर्यायो।
यो ढुंगा होजेजमाथि खसेको उल्कापिण्डको टुक्रा होइन। उल्कापिण्डको यो पाँच इन्च लामो टुक्रा साइबेरियामा फेला परेको थियो। तस्बिर: स्मिथसोनिया
उल्कापिण्ड लागेर घाइते हुनु होजेजको दुर्भाग्य थियो। तर, त्यही दुर्भाग्यले उनी रातारात संसारभरि प्रसिद्ध भइन्।
उनी विश्व इतिहासकै एक मात्र यस्ता व्यक्ति हुन्, जो उल्कापिण्ड लागेर घाइते भए।
यो घटनाबारे ‘टाइम’ पत्रिकाले उनको तस्बिरसहित समाचार छापेको थियो। तस्बिरमा उनको घाउ निकै दर्दनाक देखिन्थ्यो। तर, साँच्चैको दर्दनाक कथा त त्यसपछि सुरु भयो।
विरलै हुने यस्तो घटनामा स्वाभाविक रूपले सबैको चासो गयो। होजेजलाई सबैले चिने। उनलाई घाइते बनाए पनि एकाएक कोठाभित्र छिरेको त्यो उल्कापिण्ड ब्रह्माण्डसम्बन्धी वैज्ञानिक खोजको निम्ति ब्रह्मास्त्र नै साबित हुन सक्थ्यो। उनले त्यसलाई बेचेर राम्रो मूल्य पाउन सक्थिन्।
तर, त्यो उल्कापिण्ड बिक्री गर्नु होजेजका लागि सहज थिएन।
होजेज जुन घरमा बस्थिन्, त्यो उनको आफ्नो थिएन। घर मालिक्नी आफ्नो सम्पत्तिमा भौतिक क्षति पुर्याउने त्यो उल्कापिण्डमाथि हकदाबी गर्न आइपुगिन्। उनले त्यसको स्वामित्व र बिक्री गर्ने अधिकार आफ्नो भएको दाबी गरिन्।
लामो कानुनी लडाइँ सुरु भयो।
कानुनतः उक्त उल्कापिण्ड घर मालिक्नीकै हुन्थ्यो। तर, अधिकांश सर्वसाधारणको सहानुभूति उल्कापिण्ड लागेर घाइते भएकी होजेजको पक्षमा गयो।
यसैमा लामो कानुनी लडाइँ लड्दा–लड्दै होजेज शारीरिक र मानसिक रूपले कमजोर हुँदै गइन्। अन्त्यमा घर मालिक्नीले मुद्दा फिर्ता लिएपछि बल्ल त्यो उल्कापिण्ड होजेजको स्वामित्वमा गयो।
दुर्भाग्य त के भने, जतिबेला होजेजले उल्कापिण्डको कानुनी स्वामित्व पाइन्, त्यतिबेलासम्म मानिसको चासो नै हराइसकेको थियो। कसैले पनि त्यो वस्तु किन्न रुचि देखाएनन्। अन्त्यमा उनले ‘अलबामा म्युजियम अफ नेचुरल हिस्ट्री’ लाई त्यो वस्तु दान गरिन्।
घटना तात्तातो भएका बेला आकाशबाट खसेको त्यो ढुंगामा सबैको चासो थियो। मान्छे जति पैसा हाल्न पनि तयार भएर आएका थिए। कतिसम्म भने, त्यही ढुंगाबाट उछिट्टिएको एउटा अंश छिमेकको एक जना किसानले भेटेको थियो। उसले त्यो ढुंगाको टुक्रा बेचेर आएको पैसाबाट एउटा घर र एउटा कार किन्यो।
होजेजको जीवनमा भने त्यो पिण्ड श्रापजस्तै भयो।
त्यो घटनापछि होजेजको आफ्ना पतिसँग सम्बन्ध विच्छेद भयो। मिर्गौलाले काम नगरेपछि उनको पनि ५२ वर्षको उमेरमै निधन भयो।
होजेजकै सम्झनामा आज पनि त्यो उल्कापिण्डलाई ‘होजेज पिण्ड’ भनिन्छ।
होजेज पिण्ड पृथ्वीमा खसेको एक साता अघि मात्र ६२ वर्ष पूरा भएको छ। त्यसयता र त्यसअघि पनि आकाशबाट खसेको उल्का कुनै व्यक्तिमाथि बज्रिएको घटना सुनिएको छैन।
यसको मतलब, आकाशे पिण्ड पृथ्वीमा वर्षने क्रम हराएर गयो भन्ने होइन।
आफ्नो बाटोमा घुमिरेका उल्कापिण्डहरू कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन्। अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डल परिवारमा हलचल ल्याउँछ। त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ। भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्ने वैज्ञानिकहरूको भनाइ छ।
सन् १९९२ मा न्यूयोर्कको पिकस्किल भन्ने ठाउँमा उल्कापिण्ड खसेर एक महिलाको कारमा बज्रिएको थियो। यो घटनामा ती महिला घाइते त भइनन्, तर कार मर्मतको खर्चले उनलाई पक्कै घाइते बनाएको हुनुपर्छ।
सन् २००३ मा अमेरिकाको न्यू ओर्लियन्समा उल्कापिण्ड खसेर एउटा घरको छानो छेडेको थियो। संजोगले यो घटनामा पनि कोही घाइते भएनन्।
नेसनल जियोग्राफीका ब्रायन होवार्डका अनुसार पेरुमा त्यस्तै पिण्डबाट निस्किएको आर्सनिक पदार्थ खानेपानीको स्रोतमा मिसिएर पानी पिउने मानिस बिरामी परेका थिए।
सन् २०१३ मा मध्य रसियामा अर्को आकाशे पिण्ड बज्रिएको थियो। त्यसले ल्याएको कम्पनले नै १ हजार २ सय जना घाइते भएका थिए भने ३३ लाख डलर बराबर क्षति भएको थियो।
वैज्ञानिकहरूका अनुसार आकाशे पिण्ड खसेर मानिसको मृत्यु नै हुने सम्भावना अत्यन्त कम हुन्छ। यो सम्भावना भनेको १६ लाखमा १ मात्र हो। जबकि, चट्याङ लागेर मान्छेको मृत्यु हुने सम्भावना १३ लाखमा १ हुन्छ।
अन्दाज गर्नुस् त, अमेरिकाको पावरबल भन्ने चिठ्ठामा नाम निस्कने सम्भावना कति होला? त्यस्तो सम्भावना १९ करोडमा १ हो।
यसको अर्थ, अमेरिकाको पावरबल चिठ्ठा जित्नेभन्दा उल्कापिण्ड लागेर मृत्यु हुने सम्भावना धेरै हुँदो रहेछ।
तैपनि एउटा कुरा भने भन्न सकिन्छ, ६ करोड ६० लाख वर्षअघि उल्कापिण्ड खसेर डायनोसर लगायत जीवजन्तु लोप भएजस्तै अब हामी सबै मानव जति पनि उल्कापिण्डकै असरले लोप हुने सम्भावना कमै छ।
तर, के बेर!