रोकिएको अनशन र फड्को मारेको अभियान
प्रकाशित मिति : २०७३, २३ आश्विन आईतवार १०:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एक जना व्यक्तिले एउटा देशमा गएर एमबीबीएस पढेर नेपाल फर्केछन् । तर डाक्टर बनेको अनुभव नै भएनछ । अर्थात बिरामी जाँच्न सक्छु भन्ने आत्मविश्वास नै आएनछ।
Advertisement
उनी विचलित भएर पढेको देशमा फर्केछन् र प्राध्यापकलाई भनेछन्ः सर, मैले यत्रो डिग्री लिएँ तर डाक्टर बनेको भावना नै आइरहेको छैन, अब के गर्नु? प्राध्यापकले भनेछन्ः केही छैन, अब एमडी गर्नु, सब ठिक भइहाल्छ।
उनले त्यही ठाउँबाट फेरि एमडीको कोर्स पूरा गरेछन् । तर स्थिति उही रहेछ । आजीत भएर उनले फेरि प्राध्यापक गुहारेछन् । उसले भनेछः अब पिएचडी गर, सब ठीक हुन्छ।
अन्ततः ती डाक्टरले कठोर निर्णय गरेछन् । घर फर्केर जग्गा किनबेचको व्यवसायमा होमिएछन् ।
नेपालका एक ज्यूँदा सांसद सुरेन्द्र चौधरीले सुनाएको सत्य घटना हो यो । नेपालमा स्वास्थ्य क्षेत्रको विकृति नजिकबाट हेरेका चौधरीले धाप मार्दै ती डाक्टरलाई भनेछन्: तिम्रो इमान्दारीलाई चाहिं मैले मानें, तिमीजस्तै डिग्री लिएर विना ज्ञान र सीप बिरामीको उपचार गर्ने डाक्टर कति होलान्?
लोकमान सिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव अघि बढाउन हस्ताक्षर गर्ने चौधरी र अर्का सांसद श्याम श्रेष्ठबाहेक तेस्रो व्यक्ति फेला नपरेपछि हामी चिन्तित थियौं । त्यही बेला एकाएक चौधरीको फोन उठ्न छाड्यो । हामी झन् चिन्तित भयौं ।
काँग्रेसभित्रको कसैले चौधरीलाई धम्काउने वा तर्साउने क्षमता राख्दैन भन्ने हामीलाई थाहा थियो । त्यसैले उहाँलाई धान्नै नसक्ने दबाब आएको भए कहाँबाट आएको होला त भनेर हामीले अनुमान लगाउन थाल्यौं । स्वभावतः दक्षिणी छिमेकी शंकाको घेरामा पर्यो ।
तर केही दिनपछि चौधरी सम्पर्कमा आएपछि पत्ता लाग्यो यथार्थ १८० डिग्रीले फरक रहेछ । आफ्नो जिल्लाको गाउँबाट ल्याइएकी सिकिस्त ३५ वर्षे महिलालाई काठमाडौंको एक निजी अस्पतालको आइसियुमा राखेर उपचार गर्ने दौडधुप, खर्च जुटाउने चटारो र व्यस्तताका कारण फोन नउठेको रहेछ । महिलाको दुखद निधन भएपछि उहाँ सरासर हामीलाई भेट्न आउनुभएको थियो ।
हामीलाई भेट्नुभन्दा अघिल्लो साँझ भारतीय राजदुतसँग चौधरीको ३ घण्टा डिनर मिटिंगसमेत भएको रहेछ । त्यहाँ लोकमानबारे एक शब्द पनि चर्चा भएनछ ।
लोकमान भारतको आडमा नेपालमा टिकेको र यहाँका नेताहरुलाई तर्साएको भन्ने कुरालाई वाहियात मान्ने चौधरीको तर्क छ- यहाँ त कतै स्याल करायो भने पनि भारतले लगाएर स्याल करायो भन्ने संस्कृति बसिसक्यो । यहाँका नेताहरु आफूमा इमान नभएका कारण लोकमानविरुद्ध बोल्न नसकेका हुन् । त्यसो भन्न नमिलेपछि भारतको हाउगुजी देखाइदियो, बस् ।
यस अर्थमा एमडी गरेर जग्गा किनबेच व्यवसायमा लागेका डाक्टर हाम्रा लागि नेताहरुभन्दा धेरै इमान्दार देखिए । नेताहरुको चरित्रचाहिं बिरामी छुन पनि नपाउने ठाउँमा डिग्री लिएर एकाएक मानिसको शरीरमा अपरेशन गर्न तम्सिने अनि त्यो धन्दा छुपाउन जीवनभर अनेक गल्ती गरिरहने अर्कै खाले डाक्टरको जस्तो देखियो ।
डा गोविन्द केसी नवौं पटक आमरण अनशनमा बस्नुभयो । सरकारले उहाँका कुरा सुनेन । संसददेखि सरकारसम्म उहाँलाई भोकै छाडेर दशैं मनाउन लागेपछि उहाँले दशैंभरका लागि आफ्नो सत्याग्रह स्थगित गरेको र त्यसपछि फेरि लड्ने घोषणा गर्नुभयो ।
योसँगै यसपल्टको अनशनका आलोचकहरुले यस्तो विश्लेषण गरेः त्यसरी ज्यानलाई खतरामा होमेर उहाँ अनशन बस्नुभयो तर हात लाग्यो शुन्य । यसले गर्दा अनावश्यक अनशनको हतियार मात्र भुत्ते भयो ।
उनीहरुका अनुसार यो असफलताका लागि उहाँका सल्लाहकारहरु दोषी छन् । आलोचकहरुको बडी ल्यांग्वेज हेर्दा त्यस्ता दोषी सल्लाहकारहरुमध्ये यो पंक्तिकार पनि पर्छ । उनीहरुको गुनासो के पनि छ भने डा केसीको अभियानको आडमा केही व्यक्ति र पार्टीले फाइदा लिए ।
तर मैले देखेको यथार्थ भिन्न छ ।
एक, अभियानको यो चरणको अन्तमा शुन्य हात लागेको छैन । बाहिरबाट सबै कुरा देखिंदैन, त्यो स्वभाविक पनि हो, तर हाम्रो शासन र नेतृत्वको चरित्र बुझ्ने अभूतपूर्व मौका हामीले अहिले पायौं । यस्तो कुरा पढेर थाहा हुँदैन ।
यो अनशनको बीचसम्म ठूला तीन दलका कम्तीमा ५ जना सांसदहरु महाभियोगको प्रस्ताव दर्ता गर्न तयार भएका थिए र नेपालका प्रभावशाली भनिने व्यक्तिहरुले चानचुन अरु दर्जन सांसद आफ्नो खल्तीमा भएको आश्वासन दिएका थिए । समयको कुनै बिन्दुमा तीन जनाले कागजमा हस्ताक्षर गर्न कलम समेत निकालेका थिए । एमालेका सुदुर पश्चिमका एक सांसद आएर नभाँडेका भए काँग्रेसका पश्चिमाञ्चलका एक साँसदले सही गर्नै लागेका थिए । त्यो अवस्थामा बाँकी दुई जनाको हस्ताक्षर त सुनिश्चित नै थियो ।
अन्तमा पाँचमध्ये दुई जनाले धोका दिइसकेपछि र एक जनाले दृढ इच्छा हुँदाहुँदै पनि पार्टी नेतृत्वबाट ग्रिन सिग्नल नपाएपछि जब हामीले अहिलेसम्म यस्ता मुद्दामा निर्भिक देखिएका साना दलहरुलाई पछ्यायौं, तब ढिलो भइसकेको थियो र उनीहरु दशैंका लागि जिल्ला फर्किसकेका थिए । त्यसैले अहिले हस्ताक्षर गर्ने तीन जना सांसद नपुग्नु भनेको दशैं अगाडि त्यो संख्या नपुग्नु मात्रै हो । यसको अर्थ हाम्रो प्रयास खेर गएको भन्ने किमार्थ लाग्दैन । यो प्रयास दशैंपछाडि निश्कर्षमा पुग्नेमा हामी विश्वस्त छौं ।
यो अवधिमा अरु चानचुन आधा दर्जन साँसदहरुसित विभिन्न तहमा अन्तक्र्रिया गर्दा हामीलाई हाम्रो शासन व्यवस्थाको भित्री चरित्रबारे धेरै कुरा थाहा भयो । अब आलोचकहरुले भन्लान्ः थाहा भएर के नाप्छौ त? यसको शब्दमा उत्तर दिन गाह्रो छ तर व्यवस्थालाई उत्तरदायी बनाउन निरन्तर लडिरहने मानिसलाई यस्तो ज्ञानको ठूलो महत्व छ ।
अन्तमा सांसद सुरेन्द्र चौधरीको भारतीय राजदुतसँग भेट अनुभवपछि त ठूलै कुरा पता लाग्यो – धेरै नेताहरुले फुस्फुसाउँदै भारतले नेपालमा ताला लगाएर साँचो आफूसँग राखेको छ र त्यो साँचो लोकमान हो भनेको कुरा सफेद झुट रहेछ । कम्तीमा लोकमानको विषयमा भारतको हाउगुजी त यता नेताहरुलाई आफ्नो अपराध लुकाउने वहाना बनेको पो रहेछ!
एउटा दलका शीर्षस्थ नेतामध्ये एकले हामीलाई लाचारीपूर्वक हाकाहाकी भनेः लोकमानलाई महाभियोग लगाउने त कुरै छाड, अदालतले गरिराखेको कामलाई सेबोटेज गर्न (हुन नदिन) पार्टीहरु लागिराखेका छन् । तपाइँहरुलाई थाहै छैन यो देश कहाँबाट सञ्चालित छ ।
अर्थात्, देश बाहिरबाट सञ्चालित छ, हामी बाहिरी मेशिनका पूर्जा मात्रै हौं । बाहिरको स्वार्थका लागि आवश्यक पर्यो भने हामी आफ्नो देशको एउटै जीवित निकाय न्यायालयलाई पनि निमोठ्न सक्छौं । तर यो सबमा हामी निर्दोष छौं किनकि सबै कुरा हाम्रो नियन्त्रणभन्दा बाहिर छ । हामी अभिशप्त छौं, नालायक छौं तर दोषी छैनौं, त्यसैले दोष स्वीकारेर त्यसलाई सुधार गर्ने कुनै सम्भावना छैन ।
यस्तो धारणा राख्ने र प्रचार गर्ने नेताहरुको पहिचान गर्न र नंग्याउन पनि हामीलाई अहिलेका अभियान आवश्यक थियो । ठूलो आश बोकेर पुगेका हामीलाई खेद्ने शैलीमा उठाउँदै उनले भनेका थिएः ल, मबाट केही हुन सक्दैन, मिटिंग सकियो । हामीमा पनि विविध शंकाबीच उनको दल र नेतृत्वप्रति जुन बचेखुचेको विश्वास थियो, त्यो उड्यो ।
दुई, अनशनको समय गलत भयो र डा केसीलाई गलत सल्लाह दिइयो भन्ने कुरा । कसैको सल्लाहमा अनशन बस्ने वा रोक्ने मानिस डा केसी हैन तर कति परिस्थितिजन्य कुराहरु हेरेर यस अगाडि केही पल्ट हामीले अनशन रोक्न मनाएका पनि थियौं। यसपल्ट त्यस्तो प्रयास सफल हुन्थ्यो वा हुँदैनथ्यो थाहा छैन तर कम्तीमा मैले त्यस्तो प्रयास नगरेकै हो । कारणः भेटघाटमा केही जिम्मेवार नेताहरुले भनेका थिएः वर्षे अधिवेशन दशैं अगाडि सकिन्छ र हिउँदै अधिवेशन मंसीर अन्ततिर मात्र शुरु हुन्छ ।
त्यसबीच संसदबाट लोकमानलाई जवाफदेही बनाउने मुद्दा तीन महिना अलपत्र पर्नु भनेको उनीविरुद्ध त्यतिबेला बनेको माहोल पूरै सेलाउनु हुन्थ्यो । हामीले मनाएर उहाँले अनशन रोक्ने, तीन महिनाा संसद पनि रोकिने र त्यहीबीच लोकमानको चर्तिकला मौलाउने र अदालतको कामलाई समेत प्रभावित गर्ने अवस्था भएको भए हाम्रो अभियानलाई ठूलो झड्का लाग्थ्यो । त्यसैले तपाइँ अनशन नबसिदिनोस्, हामी दबाब दिने काममा लागिरहन्छौं भन्ने स्थिति पनि थिएन, यसै पनि संवेदनविहीन राजनीतिक नेतृत्वले संसदै नबसेको अवस्थामा झन् लोकमानविरुद्ध केही बोल्ने सम्भावनासमेत थिएन ।
त्यसैले समय प्रतिकुल थियो तर त्यसलाई गलत भन्ने आधार थिएन ।
तीन, अनशनको हतियार भुत्ते होला वा यसको महत्ता कम होला र डा केसीको नैतिक बलमाथि प्रश्न उठ्ला कि भन्ने कुरा ।
यसमा मेरो प्रस्ट मत छः जबसम्म डा केसीभन्दा उच्च नैतिक बल भएको, समय र परिस्थितिको बढी बोध भएको र यथास्थितिलाई अझ जोडतोडका साथ झक्झक्याउन सक्ने अर्को व्यक्ति नेपालमा जन्मिंदैन र जबसम्म हाम्रो राज्यका रक्षक भनिएकाहरु अहिले झैं भक्षकको भुमिकामा रहिरहन्छन्, तबसम्म यो मामलामा मैदानमा उहाँ एक्लै हो।
दोस्रो प्रतिस्पर्धी नै नभएपछि स्वभावतः उहाँलाई अर्काको गल्ती र कमजोरीबाट सिक्ने सुविधा छैन । काम गर्दै, सिक्दै जाँदा उहाँको अभियानका कुनै चरण एकदम सफल छन् त कुनै अलि कम । तर कुनै बेला केही पाइला पछि हट्नुपर्यो भन्दैमा अब बर्बाद भयो भनेर रोइलो गर्नुको कुनै तुक छैन । जुन देश र समाजमा लोकमानजस्तो भ्रष्ट व्यक्ति भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा लिएको निकायको प्रमुख भएर तीन वर्ष गुजार्न सक्छन्, त्यहाँ उहाँको नैतिक बल र निष्ठाप्रति प्रश्न उठाउने मानिस आफैं प्रश्नको घेरामा हुन्छ ।
चार, अभियानबाट फाइदा लिने कुरा । व्यक्तिगत रुपमा मलाई यो आरोप लगाउनेहरुप्रति म कृतज्ञ छु । यस्तो अभियानमा नलागेर धमाधम डाक्टरी गरेको वा खाली लेखेर कुण्ठा मात्र पोखेको भए सम्भवतः मलाई धेरै कम मानिसले चिन्थे होला । मबाट समाजका लागि केही योगदान पुग्छ कि भनेर आशा गर्ने मानिसहरु पनि कम हुन्थे होला । यस्ता अभियानहरु समाजमा व्यापक हुँदै गर्दा यिनलाई काँध थाप्ने मानिसहरुको क्षमता र व्यक्तित्व विकास उत्तिकै महत्वपूर्ण हुन्छ । कसैले आरोप लगाउला भनेर म टेलिभिजनमा झोक्र्याएर देखिने वा क्यामेराबाट भाग्ने वा अन्तर्वार्ता दिएपछि क्षमा याचना गर्ने गर्नुपर्छजस्तो मलाई लाग्दैन । आज मलगायत अभियानमा रहेका साथीहरुको पहिचान यो अभियानबाट बनेको हो र त्यसका लागि कसैलाई स्पष्टीकरण दिइरहनुपर्छजस्तो हामीलाई लाग्दैन ।
डा केसीले स्वास्थ्य क्षेत्र सुधारसँगै समग्र सुशासन र त्यसको अवरोधका रुपमा रहेका लोकमानको विरोध गर्न थालेपछि नेपालका राजनीतिक दलहरुमध्ये कोही त्यसको पक्षमा, कोही विपक्षमा र कोही तटस्थ रहनु स्वभाविक थियो । संस्थागत रुपमा अहिले सबै ठूला पार्टी र धेरै साना पार्टीहरु या त यो अभियानको विपक्षमा छन्, या तटस्थ ।
केही महान् आलोचकहरुका अनुसार हामीले यो अभियानलाई सर्वस्वीकार्य बनाउन या त राजनीतिक दलहरुलाई निषेध गर्नुपथ्र्यो, या त भागवण्डा गरेर सबै दललाई यहाँ उपस्थित गराउनुपथ्र्यो । सक्रिय भएर आउने एउटा राजनीतिक दलको लोगो अभियानमा कतै देखियो भने कि त्यसलाई हटाउनुपथ्र्यो कि अस्तित्वमा रहेका बाँकी सबै दलहरुको लोगो खोजेर ल्याएर टाँग्नुपथ्र्यो ।
तर ती आलोचक के बुझ्न चाहँदैनन् भने यस्तो अभियान कुनै राजनीतिक दल निर्माणजस्तो एकत्रित र शीर्ष तहबाट नियन्त्रित हुँदैन । सोलिडारिटी फर डा केसी अलायन्स नाम दिएर हामीले चलाएको सञ्जालको संयोजक म भन्नुको मतलब संयोजक नै हो, पार्टीको अध्यक्ष जस्तो हैन । हामीले सिर्जना गरिदिएको प्लेटफर्ममा कुनै व्यक्ति, समुह वा राजनीतिक दल आएर सक्रिय हुन वा नहुन स्वतन्त्र छन् । जो आउँछ, ऊ अलायन्सको कार्यकर्ता भएर आफ्नो पृष्ठभुमि बिर्सेर आउने हैन, आफ्नो राजनीतिक वा गैर राजनीतिक आस्था र पहिचानसहित आउँछ ।
भोलि काँग्रेस वा एमाले पूरा बलका साथ यो अभियानमा आए र अहिले ५० जना मानिस उतार्ने एउटा दलसँगै आफूले २०० मानिस उतारे भने अभियान स्वतः उनीहरुको नियन्त्रणमा जान्छ । त्यसमा हाम्रो गुनासो रहँदैन, वास्तवमा यो जिम्मेवारी नै उनीहरुजस्ता राजनीतिक दलको हो । उनीहरुको निकम्मापन र नालायकीकै कारण यस्तो राजनीतिक मुद्दामा हामीले अगुवाइ लिएर अभियान चलाउनु परेको हो ।
पाराडाइम शिफ्ट
अभियानको यो चरणले सिकाएको पाठः हाम्रो सामाजिक र राजनीतिक जीवनमा पात्र र प्रवृत्तिहरु मात्र बदलिइरहेका छैनन्, ती उभिने धरातल पनि बिस्तारै सर्दै गइरहेको छ । जसले समयसित कदम मिलाउन जान्दैनन्, भोलि ती राजनीतिक शक्तिहरुको पैतालामुनि जमिनको सट्टा पानी वा हावा हुने र ती फेरि कहिल्यै उठ्न नसक्ने गरी बिलाउने सम्भावना रहन्छ ।
हाम्रो सामाजिक परिदृश्य र राजनीतिक मुद्दाहरुमा नागरिकले देखाउने सरोकार र प्रतिक्रियाको एउटा उदाहरण हेरौं । पछिल्ला ३ दिनमा हाम्रो अभियानले नेताहरुका घरमा गरेको घरदैलो कार्यक्रमको भिडियोहरु अहिले साढे तीन लाख पल्ट हेरिइसकेका छन् र दशैंसम्म त्यो संख्या ५ लाख पुग्ने निश्चित छ । त्यस्तै सडकमा गरिएका कार्यक्रमहरु चानचुन २ लाख पल्ट हेरिइसकेका छन् । सकारात्मक कमेन्ट, लाइक र शेयरको संख्या बीसौं हजार पुगेको छ । अहिले कायम नेपालको राजनीतिक नेतृत्वप्रति आम मानिसको वितृष्णाको उत्कर्ष त्यहाँका कमेन्टहरुमा देख्न पाइन्छ । संसारभरको ट्रेण्ड हेर्दा अहिले लाखको हिसाबले दर्शक तान्न सक्ने यस्तो गतिशील माध्यमले दशौं लाखको संख्यामा दर्शक तान्न लामो समय लाग्दैन ।
सुचना प्रविधिको विकाससँगै पारदर्शिता बढ्दै जाँदा र समग्रतामा मानिसहरुको चेतनास्तर बढ्दै गएसँगै एक छाक रक्सी र मासु ख्वाएर भोट किन्ने अवस्था बिस्तारै बन्द हुने अपेक्षा गर्न सकिन्छ । त्यतिखेर मतदाताहरुलाई उधारो वाचा र छलछाम गरेर भुलाइरहन कठिनै पर्ला ।
अर्कोतिर हिजो न्युजरुमहरुमा सेना पठाएर मिडियाको घाँटी निमोठ्न अभ्यस्त लोकमान प्रवृत्ति अहिले राजस्व विभाग र सम्पत्ति शुद्धीकरण विभागजस्ता राज्यका अंगहरु दुरुपयोग गरेर मिडियामाथि नियन्त्रण लाद्न प्रयासरत छ । तर सामाजिक सञ्जालबाटै दशौं लाख मानिससम्म अभियन्ताहरुले सन्देश पठाउन र त्यसैबाट मानिसहरुलाई सुसुचित र संगठित गर्न सके भने नियन्त्रणको प्रयास गर्ने राज्य र ऊसँग तर्सिने मिडिया दुवै हार्नेछन् र जुनसुकै माध्यमबाट पारदर्शिता र जवाफदेहिता स्थापित गर्न खोज्ने नागरिकहरुले जित्नेछन् ।
अन्तमा,
प्राविधिक रुपमा डा केसीका मागहरु पूरा नभई यो अनशन टुंगिएको छ । भन्नेहरु यसलाई उहाँको हार भन्न पनि स्वतन्त्र छन् । तर नेतृत्वको भ्रष्टाचार, उत्तरदायित्वविहीनता अनि आम मानिसको किंकर्तव्यविमुढताले नेपाली समाजमा सिर्जना गरेको निसासलाग्दो यथास्थितिलाई यसले भंग गरेको छ । यो देशमा केही हुँदैन भनेर आशा मारिसकेका नागरिकहरुमा आशाको सञ्चार गराइदिएको छ र अनेक तिकडम गरेर कमाएको राजनीतिक पुँजीलाई स्थायी सम्झने धृष्टता गरेका राजनीतिक शक्तिहरुलाई झक्झक्याएको छ ।
नेपाली समाज अब फेरि कहिल्यै त्यस्तो अवस्थामा फर्कने छैन जब राजा ज्ञानेन्द्रले फलामे हातले शासन गर्दा पञ्चायतदेखिको गौरवशाली इतिहास भएका ठूला दलका विद्यार्थी र युवा संगठनहरु अलप थिए र सडक मण्डलेहरुको कब्जामा गएको थियो ।
चौतर्फी निराशाबीच पनि हामीकहाँ सुरेन्द्र चौधरी र श्याम श्रेष्ठजस्ता ज्यूँदा सांसद र राजनीतिज्ञहरु पनि छन् र यो व्यवस्थाप्रति आशा मार्ने बेला भएको छैन भन्ने पनि अभियानको यो चरणको अर्को पाठ हो । पद्धतिभित्रका खराब तत्वसित लड्दै जाने र असल तत्वहरुलाई जोगाउने, हुर्काउने अभिभारा अहिले हाम्रा सामू छ । नेपालका राजनीतिक दलहरुले अझै यो कुरा महसुस नगरेको प्रतित हुन्छ तर डा केसीको अबको अनशनको कम्पन यहाँ मात्र सीमित रहने छैन । बदलिएको नेपाल देख्ने हुटहुटी बोकेर संसारभर पसिना बगाइरहेका नेपालीहरु अब उहाँसँगै एकसाथ चलायमान हुनेछन् । मेरो विचारमा त यो अभियान लोकमानलाई फालेर पनि रोकिने छैन, या त यो देशको राजनीतिक नेतृत्वलाई आफ्ना करतुतहरुका लागि पूर्ण उत्तरदायी बनाएर रोकिने छ, त्यो सम्भव भएन भने तिनको विकल्प आउने अवस्था सिर्जना गरेर यो रोकिनेछ ।
लेखक South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन् । Twitter: @jkshetry