करप्सन म्याच : कसले हान्ने लोकमान छक्का !
प्रकाशित मिति : २०७३, ८ कार्तिक सोमबार १०:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपाली राजनैतिक मैदानमा अनेकौँ चाखलाग्दा, हाँस्यास्पद र दुर्गन्धित खेल हुने गर्दछ । उचाल्ने–पछार्ने, मारमुङ्ग्री–कुस्ती, आरोप–प्रत्यारोप खेलहरु जारी राख्दै यतिबेला करप्सन क्रिकेट म्याच सुरुआत भईसकेको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भईसकेको छ । पहिलो ओभरमा प्रमुख प्रतिपक्षी दल एमाले लोकमान छक्का बल ब्याटिङ गर्ने प्रयासमा छ । यस विषयमा काङ्ग्रेसले आफ्नो कुनै संलग्नता नरहेको अभिव्यक्ति दिएसँगै उसको पहिचान खुल्दैछ । अरु साना दलहरु आ–आफ्नै डम्फु बजाएर रमितालाग्दो झाँकीसहित पक्ष–विपक्षमा ध्रुवीकृत हुँदैछन । लोकमान ब्याटिङ भईहालेमा एमालेको दसक अघिदेखिको खाइ–पाइ गुमेको फिर्ता आउने ठम्याई रहेकोछ । माओवादी केन्द्र यसैले आफु रहेको म्यादी सरकार म्याद नै नपुगी खुस्किने हो कि भन्ने बेजोड आशङ्का छ । त्यसैले घुमाउरो भाषामा असमर्थता जनाउँ दिन खोज्दै छ । प्रधानमन्त्री प्रचण्डलाई राति निद्रा नलाग्नु, खुकुरीको धारमा हिडेको, घेराबन्दीमा परेको अनुभूत गर्नु, उस्तै परिस्थिति आईपरेमा प्रधानमन्त्रीबाटै राजीनामा दिनेसम्म सोच्नुजस्ता हावादारी अभिव्यक्ति त्यसका उदाहरण हुन् ।
Advertisement
राजनैतिक दलले आ–आफ्ना स्वार्थसिद्ध गर्नका निम्ति ल्याएका भए पनि अहिलेको लोकमानविरुद्धको महाअभियोग प्रस्ताव लोकहितमा छ । सबै जनता सबै दलको जीतमा छ । लोकमानको हार होइन, सिङ्गो भ्रष्ट्राचारीको हार हुनेछ । देशको मायाले ओतप्रोत भएर समाज रुपान्तरणको लागि यदि कसैले कुनै दलले राजनीति गरेको हो भने परिणाम दिने बेला यहि नै उत्तम होला । यसको कारण सरकार ढल्छ भने ढल्न दिनुपर्छ । कसैले यसलाई सरकार ढाल्ने र बनाउने हतियारको रुपमा प्रयोग गर्छ भने त्यसको परिणाम पनि दुर्भाग्यपूर्ण हुन जाला या नजाला । तर, कुनै पनि वहानामा जो–जसले लोकमानको पक्षपोषण गर्छ । भ्रष्ट्राचारी त्यही हो । त्यहाँबाटै कारवाही सुरुआत हुनुपर्दछ ।
यतिखेर लोकमानको पक्ष लिनखोज्नु भनेको भ्रष्ट्राचार गर्न पाउनुपर्छ भन्ने अर्थ लाग्छ । प्रधानमन्त्री प्रचण्डले विशेष पहल गर्नसक्ने यो मौसम हो । लोकमान छक्का बल यदि ब्याटिङ गर्ने हो भने प्रचण्ड सफलताको निकै नजिक देखिन्छन् । यदि, यसलाई नै कारण देखाएर वा कुनै बहानामा काङ्ग्रेस सत्ता बाहिरिए जनताको नाङ्गेझार भाटे–कारवाहीबाट उम्कन सक्ने वातावरण छैन ।
लोकमानविरुद्धको महाअभियोगमा सत्ता प्रमुख प्रतिपक्षसँगै मोर्चाबन्दी गरेर प्रस्ताव पेश भईसकेको कारण एमालेलाई नयाँ सरकारको समीकरण काङ्ग्रेससँग नैतिक सङ्कट पर्न जान्छ । यसकारण प्रचण्ड अनावश्यक थर्कमान हुनु आवश्यक छैन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल साथै सरोकारवाला सबैसँग प्रधानमन्त्री देशकै कार्यकारी प्रमुखको हैसियातले पहलकदमी अघि बढाउनलाई ढिलासुस्ती गर्नु हुँदैन ।
काङ्ग्रेसले आलटाल गर्दै ढुलमुले प्रवृति देखाउँछ भने घातकसिद्ध हुनेछ । यो पुरानो इतिहास बोकेको जनताकै जगमा उभिएको पार्टी हो । यतिखेर अनेक बहानामा पन्छिँदै लोकमानको बचाउ गर्दै भ्रष्ट्राचारको पक्षपोषण गर्छ भने गाउँ, सहर, टोलबाट लखेटिने छ । नत्र, ओली, प्रचण्डको स्पेस लिएर ठूलो दलको हैसियतमा देउवाले पहल अघि बढाउन सक्नुपर्दछ । त्यस्तो पहल लिने वातावरण नभए सकेसम्म अभियानलाई साथ दिन सक्नुपर्दछ । यसमा नै नेपाली काङ्ग्रेसको भलाई हुने छ । किनकि काङ्ग्रेसमा आस्था राख्ने मानिसहरु यहि जमिनमा उभिएर बाँचिरहेका छन् । यो जमिन सदियौँदेखि लोकमानहरुको अधीनमा गुज्रिरहेको छ । पुरै लोक लोकमानहरुको भ्रष्ट्राचारबाट आक्रान्त छ । तसर्थ, काङ्ग्रेसले आँट गर्नुपर्दछ । यसरी पन्छिन खोज्नु समर्थक गुमाउँदै अस्तित्व समाप्त पार्नु बाहेक अरु केही हुन सक्तैन ।
यो म्याचमा कसले छिटो, प्रभावकारी र उत्कृष्ट संयोजन गरेर लोकमान छक्का बल ब्याट गर्न सक्छ ? जनताको अदालतले यो निकै गम्भीरताका साथ हेरिरहेको नबिर्सन सबैलाई अपिल गर्दछ । सर्वोच्च अदालतभन्दा माथि जनताको अदालत समाजमा अमूर्त रहेको र आवश्यक पर्दा निर्णायकरुपमा अघि सर्ने गरेको सबैलाई अवगत नै छ । लोकमानलाई कारवाही होइन, भ्रष्ट्राचारीलाई कारवाही भएको कारण पौने तीन करोड नेपाली लोकमानको विरुद्ध भ्रष्ट्राचारीलाई कारवाहीको पक्षमा उभिन्छ । यसबेला व्यवस्थापिका संसदबाहिर रहेका अन्य दलहरुले पनि उत्तिकै दबाब सिर्जना गरेर सहयोग गर्नुपर्ने देखिन्छ ।