‘चर्चावाली’ र फोटोग्राफी इथिक्स
प्रकाशित मिति : २०७३, २५ कार्तिक बिहीबार १७:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालमा अहिले भारतका राष्ट्रपति जति चर्चामा छन् सायद त्यो भन्दा पनि बेसि चर्चामा गोरखाकी तरकारीवाली कुसुम श्रेष्ठ छिन् । बरु संविधान संशोधनको चर्चा सेलाएको छ । सारा मिडिया तरकारीवालीको चर्चामा मग्न छन् । थाहै नभई एकाएक रातारात एक्कासी सामाजिक संजालमार्फत सर्वत्र उनको सुन्दर तस्बिरले होहल्ला नै मच्चाएको छ ।
Advertisement
अहिले सामाजिक सञ्जाल फेसबुक खोल्यो कि वालमा ‘तरकारीवाली’ भनेर उनको नाममा स्टाटस, फोटो र लेख प्रकाशित गरिएको पाइन्छ । उनको चर्चा नभएका अनलाईन साइट वा पत्रपत्रिका सायदै नहोलान् । नेपाल टेलिभिजनमा समेत पत्रकार महाप्रसाद लामिछानेले यी ‘वाली’को अन्तरवार्ता लिइसकेका छन् । मानौं हाम्रा राष्ट्रका पत्रकारहरुको अरु कामै छैनजस्तो । हुन त म पनि एउटा पत्रकार नै हुँ । अन्त्यमा ‘वाली’को लेख लेख्न मलाई पनि छटपटी भै नै हाल्यो । अतः केही शब्द कोर्न गइरहेकी छु ।
तरकारीवालीको सिको गर्दै कसैले ‘स्कुटरवाली’, कसैले ‘भैँसीवाली’ अनि कसैले ‘चस्मावाली’ भनेर फोटा अपलोड गर्ने क्रम सुरु भएको छ । कतिपय फेसबुक मित्रहरुले आफ्नी श्रीमतीको तस्बिर शेयर गरेर ‘मुस्कानवाली’ पनि भन्न भ्याइसकेका छन् । तरकारीवालीको क्रेजले सबको दिमाग खलबल्याइरहेको छ ।
के फोटोग्राफरले तरकारीवाली कुसुमले क्रेटमा भरिएको गोलभेडा बोकेर पुलपार गरिरहेको मिहिनेतलाई आफ्नो क्यामराको लेन्सबाट कैद गर्न खोजेका हुन् त ? उनको सुन्दरतालाई नदेखि उनको मिहिनेतलाई मात्र देख्न भ्याएकै हुन त ? भन्न सकिन्न । टाढैबाट मिठो मुस्कान दिँदै आफ्नै तालमा हिड्दै आएकी कुसुमको सौन्दर्य नै फोटोग्राफरको क्यामरामा कैद भएको देखिन्छ । फेसबुकमा त्यो फोटो शेयर गर्दा पनि ‘तरकारीवाली कम सुन्दर हुँदैनन्’ भनिएकाले उनको सौन्दर्यलाई नै फोकस गरिएको बुझ्न सकिन्छ ।
मज्जाको कुरो त यो छ कि फोटो खिच्ने र फोटोमा खिचिने दुवै साधारण व्यक्तिहरु थाहै नभई एकाएक चर्चित हुन पुगेका छन् । कुनै पनि व्यक्तिले वर्षौंको लगन र मिहिनेत पश्चात हासिल गर्नसक्ने चर्चा उनीहरुले रातारात पाएका छन् । सायद, उनीहरुको भाग्यमा त्यसरी नै नाम कमाउँन लेखिएको रहेछ । सायद यी किशोरी र फोटोग्राफरको पनि भाग्य बलियो नै रहेछ । कुसुम त चर्चामा आइन् आइन्, फोटोग्राफर पनि चर्चित भए । सायद उनीहरुलाई आफु त्यसरी चर्चामा आइएला भनेर सुरुमा थाहै थिएन ।
अरुको फोन आएपछि मात्र दुवै झसङ्ग भइ डराए पनि । कुसुम एउटी केटी भएकोले डराउनु स्वभाविकै थियो । कसले, कहाँ र कसरी भन्ने प्रश्न त उठिहाल्छ । धन्न तस्बिर राम्रो थियो र उनको मिहिनेतलाई कैद गरिएको थियो भनि विश्वास दिलाइयो, जसले गर्दा नराम्रो सन्देश गएन । फोटोग्राफर पनि डराएका थिए, कतै आफुले खिचेको तस्बिरले कुसुमलाई कुनै सङ्कटमा पार्ने हो कि भनेर । जे होस्, परिणाम राम्रै भयो, यसले समस्या खडा गरेन ।
तर प्रश्न भने ज्वलन्त छ–के कुनै फोटोग्राफरले बाटोमा हिडिरहेको जसको पनि जहाँ पनि फोटो खिच्न पाउँछ ? आज कुसुमको तस्बिरले कुनै संकट खडा नगरेकाले फोटोग्राफर जोगिएका हुनसक्छन् । तर, यो इथिक्सभित्र थिएन । कसैले पनि कसैको निजी जिवनमा हस्तक्षेप गर्न पाउँदैन । कसैले कसैको तस्बिर खिच्न मात्र हैन, अनुमति बेगर सार्वजनिक गर्न पनि पाउँदैन । कुसुमको चर्चासँगै उनको निजी जिवन पक्कै बिथोलिएको छ । कसैलाई यस्तो मन नपर्न पनि सक्थ्यो । यदि कुसुमले अहिलेको चर्चालाई मन नपराएको भए फोटोग्राफर समस्यामा पर्ने थिए । तर, सोझी कुसुम त चर्चाको उडानमै रमाइरहेकी छन् । तैपनि त्यो तस्बिरले गर्दा उनलाई धेरै ठाउँहरुबाट चित्तबुझ्दो वा नबुझ्दो अफरहरु पनि आइरहेका छन् । ‘लम्फु’ नामक चलचित्रमा अभिनय गर्न उनलाई अफर आएको खबर पनि सुनियो ।
ती खबर कति सत्य हुन् ? त्यो आफ्नै ठाउँमा छ । मोडलिङ रे, फिल्म खेल्ने रे ? के साँच्चिकै ठाउँ-ठाउँबाट उनलाई अफरहरु आएकै हुन् त ?
के त्यसरी बाटो हिडिरहेको वा अन्य काममा व्यस्त भएको बेला थाहै नदिइ वा नसोधि फोटो खिच्न पाइन्छ ? अनुमति बिना ? कुसुमलाई त आपत्ती भएन, तर अरु कोही भएको भए आपत्ति पनि हुनसक्थ्यो–थाहै नदिइ तस्बिर लिने र थाहै नदिई सामाजिक सञ्जालमा राख्ने हर्कतप्रति ।
सायद यो विषयलाई त्यति गम्भीरतापुर्वक नलिनुमा अहिलेको युग पनि जिम्मेवार छ । यो सेल्फीको युग हो । मानिसहरु हातमा सेल्फी स्टीक र मोबाइल बोकेर हिँड्छन् र हरेक गतिविधिका तस्बिर फेसबुकमा अपलोड गर्छन् । सोही कारण कुसुमको तस्बिर त्यसरी फेसबुकमा अपलोड हुनुलाई सामान्य रुपमा लिइयो । कुसुमको तस्बिर सार्वजनिक भइसक्यो र चर्चामा आइसक्यो । अब यो प्रकरणलाई शान्त, स्वस्थ र हार्दिक ढंगले चर्चामा ल्याउनुपर्छ । कुसुमले पनि अब यसलाई अलि सभ्य भएर अगाडि लैजानु नै राम्रो होला । न कि चर्चाको सुरमा मात्तिने र आत्तिने काम गर्नु हुँदैन । मिडियाले जता डोर्यायो त्यतै लाग्नु पनि हुँदैन । आफ्नो चर्चा र नामलाई जोगाई आफूलाई इच्छा लागेको विषय लिएर राम्रो कलेजमा पठनपाठन गर्नु नै बेस होला । पोजेटिभ भएर भविष्यमा सबैलाई राम्रो हुने गरि काम गर्दा राम्रो होला कि जस्तो मलाई लाग्छ ।
सामाजिक सञ्जालमै ‘फोटोलय’, ‘नेपलिजइनफोटोग्राफि’जस्ता नाममा विभिन्न पेजहरु उपलब्ध छन् । जसमा जसले पनि फोटो खिच्दै राख्छन् । एक किसिमले सोच्यो भने यी सबै राम्रा नै हुन् । आफ्ना खुबी, कलालाई सहजै सबैको माझ देखाउन पाइन्छ । पहिलेको जस्तो कहाँ छ र ? पहिला त रिलवाला क्यामराबाट फोटो खिचि धुलाउदै एल्बममा थन्क्याइन्थ्यो । सबैले देख्न पनि पाउँदैनथे । आज समय बदलिएको छ । जहाँ गए पनि हातैपिच्छे फोटो खिचेर जहाँको त्यहि इन्टरनेटमार्फत हातमै रहेको सानो डब्बा र अन्य त्यस्तै डब्बामा सजिलै तुरुन्तै हाल्न पनि भ्याइन्छ । तत्कालै सबैले हेर्न, लाइक गर्न तथा कमेन्ट गर्न पनि सकिन्छ ।
तैपनि, सवाल व्यक्तिको निजी जिवनको सुरक्षाको हो । व्यक्तिको मौलिक अधिकारको पनि हो । म स्वयम प्रोफेस्नल नभए पनि फोटोग्राफिको सौखिन हुँ । तर अनुमति लिएरै फोटो खिच्छु । फेरि पनि अन्तिम प्रश्न यहि छ कि कति जायज छ त अनुमतिबिना कसैको तस्बिर खिच्न ? अनि के त्यसो गर्नु फोटोग्राफीको इथिक्सभित्र पर्छ ?
(लेखिका खातुन पत्रकार एवं फोटोग्राफर हुन् )