काठमाडौंका डेरावालको दुःख, घरबेटीले बनाए हैरान !
प्रकाशित मिति : २०७३, २४ मंसिर शुक्रबार १७:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
२४ मङ्सिर । म र भाइ बिहानैदेखि कोठा सफा गरिरहेका थियौँ । एक्कासी ढोका ढक्ढक्याएको आवाज आयो । फेरि घरबेटी आमा आउनुभयो कि कि क्या हो, खाना पकाउने भित्तामा पत्रपत्रिका लगाएकी लगाएनन् भनेर हेर्न ।
Advertisement
कोठामा बसेकै दिन घरबेटी आमैले भन्नुभएको थियो “ल मैले कोही कसैलाई पनि कोठामा खाना पकाउनेलाई डेरा नदिने सोचेकी थिएँ, तर तिमीहरुलाई यही कोठामा पहिले बस्नुभएको भाइले सिफारिस गरेकाले खाना पकाउन दिन्छु, तर खााना पकाउन राखिएको ग्यास चुलोको भित्तातिर पत्रपत्रिका लगाउ है ।”
तर, मैले सुन्दै नसुनेको झै गरेको थिएँ । किनकि सुरुको एक महिनाजति सामान्य हिसाबले बसियो, दोस्रो महिना दशैंका बेला पनि घर गइयो, घरमै बित्यो । अहिलेको एक महिना मलाई कोठा व्यवस्थापन गर्नै ठिक्क भो । अब बल्ल भित्तामा पत्रिका लगाउने सोचिरहेको थिएँ ।
पहिलो पटक ढोका ढक्ढक्याउदा सुनेको नसुनै गरी दुवै भाइले कोठा सफा गरिरह्यौं । हामीले ढोकाको चुकुल नलगाई त्यतिकै ढोका अड्याएका थियौं । घरबेटी आमाले ढोका खोल्न बल गर्नुभयो । मैले आफैं ढोका खोलंे । ग्यासचुलोको अगाडि पत्रपत्रिका नटाँसेको हेर्नुहुन्छ र फेरि कराउनुहुन्छ कि भनेर म आफैंले ढोकाबाट बाहिर चिहाएँ । र, भनें- ‘हेर्नु न आमा, हामी त कोठा पो सफा गरिराखेका छौं ।
“कोठा सफा गरेर के गर्नु बावु तपाइहरुले त सर्नुपर्ने भयो, मैले पुरै घर होस्टेलका लागि भाडामा दिने भएँ ।”
के भन्नुभएको आमा यस्तो ?
“हो साच्चिँकै बाबु । अब केही दिनमा नै तपाईहरुले सर्नुपर्यो । एक एक कोठा र एकएक फल्याट भाडामा दिएर सारै झन्झटिलो भयो, समयमा भाडा नउठ्ने, बेलाबेलामा हरेक कोठाको दैलोमा पुग्नुपर्छ, त्यो पनि दिँदैनन् । अब सिंगै घर एकै जनालाई दिने भएँ । एकैपटक १ लाख २० हजार आउँछ ।”
के गर्ने आमा, तपाइले त हामीलाई सारै संकटमा पार्नुहुने भयो, हामीले तपाईलाई केही अप्ठ्यारोमा पारेका थिएनौं । समयमा मात्रै होइन, एक महिनाको समेत अगि्रम भाडा दिएकै थियौं । भर्खरै कोठा सरेको चार महिना पनि बितेको छैन, अब कोठा सर्नुपर्यो पो भन्नुहुन्छ ।
“हो बाबु के गर्नु, मैले पनि तिमीहरुलाई त्यस्तो नराम्रो मान्छे कहाँ पो ठानेकी छु र, मैले भोलि पर्सि नै सर्नुपर्यो भनेर पनि कहाँ भनेकी छु र, यो महिना जान अब करिव एक हप्ता छ, बिस्तारै सरे भयो नि ।”
यति भनेर घरबेटी आमा बाहिर निस्किनुभयो । अनि यसो मनमा कुरा खेलाउँदै कोठा बाहिर निस्किएँ । बाहिर त साँच्चिकै फर्निचरका विभिन्न सामान घरमा भित्रिँदै थिए । फर्निचरका सामान बोकिरहेकामध्ये एकजना युवकलाई सोधें-
भाइ यो के सामान हो नि ?
“यो होस्टेलको फर्निचर हो, यही घरमा बस्दै छ, त्यसैले सामान सार्न लागेको ।”
घरबेटी आमाले भन्दासम्म त खै हो कि होइन जस्तो सेचिरहेको थिएँ, तर अब आफ्नै आँखाले देखें ।
हुन त मैले यो अनामनगरमा कोठा सर्नुपर्ने अवस्था सिर्जना भएको पहिलोपटक होइन । यसअघि एक वर्षको अवधिमा ३ पटक कोठा सार्नुपरेको छ ।
सुरुमा म चावहिलस्थित एक घरमा करिव ६ महिनाजति एकजना साथीसँगै मिलेर बसें । जब साथीको भाई र मेरो भाई पनि थपिए, त्यो बेला हामी अर्को कोठामा सर्ने तयारीमा थियौं । घरबेटीलाई समेत यसबारे जानकारी गराइसकेका थियौं । तर, घरबेटीले एक दुई दिन कोठामा साथी र मेरा भाइ थपिएको निउ पारेर सधंै हाम्रो कोठामा धेरै पाहुना आउँछन् भन्दै हामी सबैैजनालाई त्यो कोठाबाट हटाइदिए ।
त्यसपछि मैले काम गर्ने र पढ्ने ठाउँलाई मध्यनजर गरेर मैले बानेश्वरमा कोठा खोज्न थालें । कतै कोठा नपाएपछि मैले आफूले काम गर्ने हिमालय टेलिभिजनमै कार्यरत ड्राइभर दाइको सहयोगबाट टेलिभिजन नजिकै एउटा घरमा कोठा भेट्टाएँ ।
अब त रमाइलो नै हुने भयो भनेर खुसी थिएँ । पढ्न जान र टेलिभिजनमा काम गर्न सहज भइरहेको थियो । बिस्तारै कोठालाई पनि व्यवस्थित बनाउँदै गइरहेको थिएँ । तर, त्यो कोठा पाएको खुसी पनि धेरै टिकेन ।
हामी बसेको चार महिनामै फेरि उक्त भवन घरमालिकले बिक्री गरिसक्यो रे, त्यसैले हामीले जतिसक्दो चाडै घर छोड्नुपर्यो, घरै डोजर हालेर भत्काइँदैछ भन्ने खबर हामीकहाँ पुग्यो । फेरि हामी संकटमा पर्यौं । अर्काको घर हामी बसिरहन्छांै भनेर पनि भन्न नमिल्ने, भन्ने बित्तिकै चटक्कै छोडेर पनि जान नमिल्ने ।
फेरि विस्तारै कोठाको खोजीमा लागियो । एउटा कोठा भेटियो, भाइका साथीहरुको सम्पर्कबाट ।
कोठा हेर्न पुगियो, मध्यबानेश्वको अलिकति भित्र सूचना आयोग नजिकैको एक घरमा । घरबेटी आमै अलिकति कडा स्वभावकी देखिन्थिन् ।
“तपाई को हो नि कोठा हेर्न आउनुभएको ? हिजो त अरु नै कोठा हेर्न आएका थिए त ?”
हिजो कोठा हेर्न आएको मेरो भाइ हो, म उसैको दाइ हो ।
“अनि भाइ खै त ?”
तल छ ।
“माथि बोलाउनुस् ।”
भाइ माथि आयो ।
“अनि को हो, बस्ने तपाई हो कि तपाईको दाइ ?”
हामी दुबै भाइ हो बस्ने । भाइले जवाफ दियो ।
“अरु त थपिँदैन नि है ?”
होइन, थपिँदैन । तर, केही दिन मात्रै हाम्रा भाञ्जा हामीसँगै हुनुहुन्छ उहाँ बस्नुहुन्छ भनेर भाइले जवाफ दियो ।
“अनि कहिलेदेखि बस्ने हो ? बैना दिएर जानुपर्छ नि फेरि ।”
मैले खल्तीमा भएको ५ सय रुपैयाँ झिकेर घरबेटी आमैको हातमा राखिदिएँ ।
“ल कति दिनपछि तपाईहरुको भान्जा जाने हो भनेर पक्का गर्नुस, अनि यो कुरा ख्याल गर्नुहोस् कि तपाईहरु दुईजना दाजुभाइ बाहेक कोही पनि आउन पाउँदैन है । तपाईहरुका आमाबुवा आउँदा समेत मलाई जानकारी नगराई कोठामा छिराउन पाउनुहुन्न ।”
यस्तो सुन्नेबित्तिकै म झस्किएँ । तर, आफ्ना आमाबुवा अहिलेसम्म काठमाडौं नआएको र त्यसरी आउने सम्भावना पनि कमै रहेको छ । आइहालेमा पनि यही कोठामा कति पो बसिन्छ र भन्ने लाग्यो । फोन नम्वर दोहोरो साटासाट गरेर हामी फर्कियौं ।
हाम्रो कुरा सुन्दै नसुनी ती घरबेेटी आमाको धाराप्रवाह आफ्नै कुरा लादिरहेको देख्दा यो कोठामा बसौं कि नबसौं त लागिरहेकै थियो,
तीन दिनपछि ती घरबेटी आमैले फोन गर्नुभयो र भन्नुभयो, “ल तपाईहरु नआएकाले मैले कोठा अर्कैलाई दिइसकें ।”
तीन दिनपछि म बैना फिर्ता लिन गएँ । र, भनें, आमैले कोठा अर्कैलाई दिइसक्नुभएछ, मेरो बैना फिर्ता दिनुस् ।
“काठमाडौंमा पनि कतै कोठाका लागि बैना दिएको रकम फिर्ता हुन्छ त ? फेरि तपाईहरु तीन दिनसम्म नआउँदा तपाईहरुले भन्दा बढी भाडा दिने मानिस आएकाले मात्रै कोठा भाडा दिएकी हुँ । तर, ठिकै छ, म त्यस्तो गर्दैन लिनुस् तपाईको बैना ।”
पैसा भन्दा धेरै कुरा सुनाएर बैना फिर्ता गर्नुभयो घरबेटी आमैले ।
जब मेरो हातमा पैसा पर्यो, तब मैले पनि भनंे तपाईले बैना लिएर मलाई दिइसकेको कोठा पनि कसैले धेरै पैसा दियो भन्दैमा दिन मिल्छ त ? अनि कोठामा बस्दिनँ भनेर छोडे पो बैना फिर्ता हुँदैन त, हामीले कोठा छोडेको त होइन नि ?
भोलिपल्टदेखि फेरि कोठा खोजी अभियान जारी रह्यो । यसै क्रममा एउटा रेडियोका सञ्चालक दाइले आफैं बस्ने कोठा छाडेपछि मलाई त्यो कोठामा बसाउनुभयो । उक्त कोठा अनामनगरस्थित अहिले बसिरहेको कोठा हो । तर, अहिले आएर घरबेटी आमैले केही दिनमा खाली गर्नुस् भनेपछि फेरि अर्को कोठा खोज्नुपर्ने अवस्थामा पुगिएको छ ।
हुन त यो घटना राजधानीमा बस्नेहरुका लागि कुनै नयाँ होइन । र, यस्तो पीडा मैले मात्रै पनि खेप्नु परेको होइन । तर, यस्तो पीडा काठमाडौं उपत्यकामा बस्ने तपाई हामी सबैले कहिलेसम्म भोगिरहने ? यो समस्या समाधान हुन सक्छ कि सक्दैन ? यो कुरा प्रमुख पाटो हो ।
धरधनीले पनि आफ्नो घर काठमाडौंमा छ भन्दैमा र कोठाभाडामा दिँदैमा भाडामा बसेकाहरुलाई मन लागेका बेला राख्न र मन नलागेका बेला हटाउन मिल्छ कि मिल्दैन ?
सेवा सुविधाचाहिँ केही पनि नदिने र नबढाउने, तर कोही मानिस भाडामा बसेको एक दुई महिनामै कोठा भाडा बढाउन र बढी भाडा दिने मानिस आयो भने पुरानोलाई सिधै हटाउन मिल्छ र ?
काठमाडौंमा ठूला महल भएकाहरुले यो पनि बुझ्न जरुरी छ कि आफु यसरी भाडामा बसेका मानिसहरुबाट पैसा चुसेर धनी भएका हौं, एक घरबाट कैयौं घर बनाउन सकेका हौं भन्ने सम्झनुपर्छ ।
मेरो विचारमा अब तपाई हामीजस्ता भाडामा कोठा लिएर बस्नेहरुले एकैखालको मापदण्ड बनाएर अघि बढ्न जरुरी छ । यसका लागि के कस्तो सुविधामुखी कोठा अर्थात फ्ल्याटमा बस्दा कति भाडा घरधनीले लिने अर्थात हामीले तिर्ने ? बस्नु अघि कति वर्ष वा महिना बस्ने ? बसेको कति समयपछि मात्रै कोठा भाडा बढाउन मिल्ने ? यस्ताखालका सम्झौता गरेरमात्रै भाडामा बस्ने परम्परा या प्रणालीको सुरुवात गर्न सकियो भने न त काठमाडौं उपत्यकाका घरधनीहरुले तपाई हामीलाई चाहे जसरी लुट्न सक्छन्, न त जतिबेला घरधनीले चाह्यो, त्यतिबेला राख्ने र जतिबेला इच्छा लाग्यो, त्यतिबेला हटाउन सक्छन् । यसतर्फ एकपटक सबैले सोच्ने कि ?
(लेखक हिमालय टेलिभिजनमा कार्यरत पत्रकार हुन् )