गृहमन्त्रीज्यू ! तपाईका प्रहरीले मृत्युपत्रमा सही गराएका हुन् या मिलापत्रमा ?
प्रकाशित मिति : २०७३, २८ मंसिर मंगलवार १७:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
महिला हिंसाविरुद्धको सोह्र दिने अभियान समाप्त भएकै थिएन । सरकारी, गैरसरकारी संस्थाहरुका बैठक र गोष्ठी तारे होटलदेखि गाउँघरसम्म चलिरहेकै थिए । महिलामाथि हुने सबैखाले हिंसा बन्द गर्नुपर्छ भन्ने सन्देश फैलाउन तिनीहरुको मनग्गे पैसा खर्च भएको हुनुपर्छ । महिला अधिकारकर्मी संघ संस्थाहरु आफ्नो कार्यक्रमको प्रगतिको प्रतिवेदन लेख्न जुटेको हुनुपर्छ त्यो बेला ।
Advertisement
अकस्मात मंसिर २१ गते मंगलबार घटेको घटना सारा मिडिया भरी छ्याप्छ्याप्ती आयो । एउटा सुन्न पनि नसकिने चलचित्रको आततायी कथा जस्तो घटना ! त्यो पनि काठमाडौंको बार्दलीमै ! राज्य सञ्चालकको नाकै मुन्तिर त्यो पनि राज्यको सबै भन्दा सचेत वर्ग शिक्षकले कुनै ठूलो झगडामा पनि हैन । संसारमा कतै नभएको बोक्सीको आरोपमा हेर्न समेत आँखा चिम्लिनु पर्ने र सुन्न नसकेर कान थुन्नु पर्ने घटना सुन्न र देख्न पर्यो । च्वँच्वँ !!
धेरै मान्छेले जस्तै मैले पनि विश्वास गरिनँ । अनलाइनमा प्रकाशित त्यो समाचार दुई तीनपल्ट पढेँ । सपना हो कि जस्तो लाग्यो । आफैलाई चिमोटेँ । दुर्भाग्यवश, त्यो विपना नै रहेछ । देश विदेशका मिडियाले नेपालमा घटेको यो घटना महत्वका साथ प्रशारण गरेकै थिए । नपत्याएर के गर्नु र ?
अन्तत: उदास मनका साथ मैले पनि आफ्नो फेसबुकमा त्यो पाशविक घटनाको बारेमा प्रत्यक्षदर्शी दश बर्षे छोराले दिएको बयान सम्बन्धि समाचार शेयर गरेँ । आफ्नी आमाले कुटाईकै कारणले तीन दिनपछि आफ्नैअघि प्राण त्यागेको घटनाको त्यो समाचारलाई पढेर साथीहरुले कमेन्टमा यस्तो घटना त साँच्चैको घटना होईन होला भन्दै थिए । फेसबुकमा हजारौँ शेयर भएको त्यो समाचार अन्तत: सबैले पढे, मान्छेहरुले पत्याउन्न भनेर के हुन्थ्यो घटनाको सबै वृतान्त त्यहीँ थियो । यहाँ पढेकै पनि द्विविधामा परे; यस्तो पनि हुन्छ र ?
सुन्दा पत्याउन सकिने समाचार नै थिएन त्यो । त्यो पनि देशको केन्द्र भन्दा केही किलोमिटर मात्र टाढाको । हेर्दा पनि पत्याउन सकिने समाचार थिएन त्यो पनि अहिलेको विज्ञान प्रविधिको प्रचुर विकास भएको जमानामा । सुन्दा धेरैले विश्वास गरेनन् संसारले चेतना र विकासमा फड्को मारिरहँदा एउटी महिलालाई बोक्सीको आरोप लगाएको । पत्याउने कुरै भएन आरोप लगाउने मान्छे अरु कोही नभएर ज्ञान र सचेतनाको ज्योति छर्ने शिक्षक थियो भनेर । अझ त्यो निरीह दुधे बालककी आमा ती दलित महिलालाई काठको पोलमा बाँधेर कुटेको कुरा मान्छेहरुले कसरी पत्याऊन् ?
त्यो समाचार पूरै पढ्नै पर्थ्यो, पोलमा जनावरलाई जस्तो बाँधेको । एकदुई जनाले एकान्तमा मात्र बाँधेको भएपनि पत्याउन हुन्थ्यो तर सारा गाउँलेहरु रमिते बनेको खबर पनि कसरी पत्याउनु र ? अझ अहिलेको जमानामा कुकुरले सम्म नखाने दिसा खुवाईयो भन्दा मान्छेहरुले पत्याउने कुरा पनि भएन । त्यसरी बाँधेर दिसा खुवाएको कुरा पनि गौण भईसक्थ्यो होला तर यतिसम्म सहेर पनि चुपचाप घर फर्कन लागेकी घाईते महिलालाई पछाडिबाट चिर्पट लिएर रक्ताम्य हुने गरी टाउकोमा हानेको खबर कुनै चलचित्रमा देखाउन पनि सेन्सरशिप लाग्थ्यो होला !
त्यति बिघ्न यातना दिँदा पूरै समाज अन्धो भयो भन्दा पनि पत्याउनै पर्यो । यसरी मरणासन्न भएकी महिलालाई अस्पत्तालसम्म लगिएन भनेको कुरा पनि अहिलेको जमानामा कसले पत्याओस् । ज्वरो जँचाउन ठूला मान्छेहरु सिंगापुर थाईल्याण्ड उड्ने मेरो देशमा त्यत्रो टाउको फोरिँदा पनि सामान्य स्वास्थ्य चौंकीमा मात्र उपचार गराएर घर फर्किए भन्ने कुरा पनि कसरी पत्याउनु र ? तर सबैसबै कुराहरु सत्य थिए, नपत्याएर के गर्नू र ?
चलचित्रको कथामा हिरोको प्रवेशजस्तै त्यहाँ तीन दिनपछि प्रहरी आँगनमा प्रवेश भएपछि समाचार पढ्ने मान्छेहरु अलिक आशावादी बने होलान् । अब प्रहरी आएपछि दोषीलाई सजायँ र पीडितलाई न्याय मिल्छ भन्ने ठाने होलान् । प्रहरीहरु त कानुनको रक्षक र ज्ञाता हुन्छन् भन्ने सुनेका मान्छेहरुले फेरि पनि पत्याएन् । त्यत्रो जघन्य अपराध गरेको मान्छेलाई सामान्य मिलापत्र गराएर छाडे रे !
अन्तमा, त्यो आततायी चोट र रक्तश्राव सहन नसकेर ती दलित महिला लक्ष्मी नेपालीले प्राण पखेरु उडाईन् भन्ने खबर सत्य ठहर्दा सुन्नेहरुले त सुन्न सक्दैनन् भने त्यो पीडा सहनेलाई कस्तो भयो होला ? भर्खरै दश बर्ष लागेको त्यो नाबालकलाई कस्तो भयो होला ? भोलि त्यो बालकले त्यो समाजलाई कसरी बुझ्ला ?
त्यो घटना घटिसकेपछि महिला अधिकार र बाल अधिकारको पक्षमा भएका प्रगतिको प्रतिवेदन बनाउनेहरुले के सोँच्लान् ? केन्द्र र सदरमुकाममा बसेर जातीय छुवाछुत र अन्धविश्वास भजाएर विदेशी गाडी र डलरमा तलब बुझ्नेहरु र सरकारमा बसेर गफ हाँक्नेहरुले के जवाफ देलान् ? कस -कसले नैतिक रुपमा कमजोरी स्विकार्लान् ?
मलाई सोध्न मन लागेको छ त्यस्तो जघन्य अपराध गर्ने कथित शिक्षकलाई तुरुन्त कानूनी कठघरामा उभ्याउनुको सट्टा हलुका रुपमा लिई त्यो अचेत भईसकेकी चेलीको हातको ल्याप्चे लगाई मिलापत्र गराउने के बाध्यता थियो ? के त्यो मिलापत्र गराउने प्रहरी र समाजका अगुवा ठान्नेले आफ्नो परिवारमा यस्तो घटना घट्दा पनि यस्तै मिलापत्र गर्थे होला ? के हाम्रो प्रहरी प्रशासनका मूख्य हाम्रा गृहमन्त्रीज्यूले आफ्नो परिवारमा यस्तै घटना घटेको भए मिलापत्रमै टुंग्याउँथे होला र ? के ती महिला दलित र गरीब भएकै आधारमा उनीमाथि लान्छना र पाशविक आक्रमण गरिएको होईन र ?
अन्तमा: समाजमा अन्धविश्वासका धेरै दवदवाहरु बाँकी नै छन् तिनीहरु उखेल्न राज्य कोषबाट तलब खाने शिक्षक नै हत्यारा, प्रहरी नै भ्रष्ट र समाज नै अन्धो भएपछि यो जातपात र अन्धविश्वास अनि बेथितिको अन्त्य कहिले हुने होला ? भोलि ती कलिला बालक सुमन नेपालीहरुले यो समाजबाट के सिक्लान् र महिला हिंसा र बालबालिकाको हिंसाबिरुद्ध आवाज उठाउने संस्थाहरुको आगामी कार्यदिशा कस्तो होला ? भोलि यहि घटनालाई नजिर बनाएर अझ ठूला कार्यक्रम भित्र्याउनेहरु के गाउँ पस्लान् ?
कहिलेसम्म नेपालीले छुवाछुत र अन्धविश्वास अनि दाईजो र विभेदको कारणले पशुतुल्य जीवन बिताउनु पर्ने होला ? राजधानीकै आसपास, राज्य संचालकको नाकै मुनि त यस्तो हालत छ भने दूरदराजमा कस्तो होला ?
राजधानीकै अर्को छिमेकी जिल्ला रसुवामा तुलु थिंग बोक्सोको आरोपमा मारिएको पनि एक बर्ष पुगेको छैन अझै । हामी त्यो अन्धब्श्वासको पराकाष्ठाबाट कहिले माथि उठ्ने होला ?
जे हुनु भैसक्यो, अब ती दिवंगत चेली लक्ष्मी परियार केही गरे पनि फर्कने छैनन् तर यस्तो अमानवीय हर्कत गर्ने, मुकदर्शक भई बस्ने र घटनालाई जबर्जस्ती मिलापत्रमा टुंग्याउनेहरुले फेरि पनि यस्ता घटना दोहोर्याइरहे हाम्रा नेताहरुले छाँटेर नथाक्ने समृद्धिका गफ कहिलेसम्म गफै कहलिने होलान् ?
मेरो प्रश्न गृहमन्त्रीज्यू लाई- गृहमन्त्रीज्यू मान्छेलाई पशुभन्दा पनि नीच बनाई बाँधेर कुकुरले समेत खान छाडेको दिशा खुवाई पिटी-पिटी यातना दिएर मार्ने कथित शिक्षकले गरेको बर्बरतापूर्वक घटनाको जिम्मेवारी नैतिकरुपमा लिने नलिने ? कहिलेसम्म सानो बाङ्थलीहरुका दलित र गरीबहरुको जीवन खसी बोकाको जस्तो भईरहने हो ? कठै !