कोरिदै विकास फेरिदै नेपालगञ्ज
प्रकाशित मिति : २०७३, १९ माघ बुधबार १६:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
संक्षिप्तमा नेपालगञ्ज
नेपाल र गञ्जको मिश्रीत स्वरुपबाट स्थापीत नेपालगञ्ज नेपालको प्राचीन इतिहास बोकेको सहर हो । नेपालगञ्ज सहरको स्थापना यात्रा १८५७ सालबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजबाट नयाँ मुलुकका रुपमा बाँकेलाई हत्याएपछि उनले नेपालगञ्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारतीय सहर हजरतगञ्जको मोडेलमा नेपालगञ्जको संरचना निर्माण गरिएको हो । नेपालगञ्ज थुप्रै सम्भावनाको सहर पनि हो । यसलाई पश्चिम नेपालका सुन्दर ठाउँहरुको ‘गेट वे’ पनि मानिन्छ । विक्रम सम्वत् २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट नगर स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषदको २०७१ साल मंसीर १६ गतेको निर्णय अनुसार साविक नेपालगञ्ज नगरपालिकाको सीमानासँग जोडिएका १० गा.वि.स.हरुलाई समावेश गरी नेपालगञ्ज उप–महानगरपालिकामा परिणत गरियो । १७ वटा वडामा १० थपीएर २७ वटा र २०७२ असोज १ मा पुरैनी गाविस समेत गाभिएर हाल २८ वटा वडा रहेका छन् । नेपालगञ्ज विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, भेषभुषा भएका बहुसांस्कृतिक सम्प्रदायहरुको संगम स्थल हो । कूल क्षेत्रफल ९५.०७ वर्ग कि.मी. रहेको छ । कूल जनसंख्या १,४६,४२४ मध्ये पुरुष ७४,७९२ र महिला ७१,६३२ रहेका छन् । नेपालगञ्जमा क्षेत्रीय विमानस्थल, वैदेशिक नाका, महत्वपूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यालय, व्यवस्थित औद्योगिक क्षेत्र, शैक्षिक संस्था, अष्पताल तथा सुरक्षा निकायका कार्यालय रहेका छन् ।
Advertisement
सडक सञ्जाल
विकासको मेरुदण्डका रुपमा सडकलाई लिने गरिन्छ । अहिले नेपालगञ्जमा सडक सञ्जाल विस्तार भएको छ । रत्नराजमार्ग अन्तगर्त कोहलपुर–राँझा–जमुनाहा सडक निर्माणपछि नेपालगञ्जको रौनक फेरिएको छ । एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास परियोजना मार्फत सडक लगायतको विकासको काम बढाइएको हो । नगरका अधिकांस भागमा सडक, ढल, नाली निर्माण गरिसकिएका छन् । करिब एक अर्ब लगानीमा ८ किलोमिटर सहरी सडक पिच र ६० किलोमिटर ढल निर्माण भइसकेको छ भने दोस्रो चरणमा पनि सडक पिच र ढल निर्माणको काम हुने तयारीमा छ । अधुरो सडक, ढल÷नालाहरुको पूर्वाधार विकासका लागि एशियाली विकास वैंकबाट क्षेत्रीय शहरी विकास परियोजनामार्फत एक अरव ७१ करोड प्राप्त हुने निश्चित भएको उपमहानगरपालिकाले जनाएको छ । अब ३६ किमी एस्फाल्ट रोड बन्ने छ । परियोजना गत वर्ष नेपालकै उत्कृष्ट योजनाको रुपमा अंकित भएको थियो । अतिक्रमित बसोवास लगायतका विभिन्न बाधा, व्यवधानका बावजूद समयावधी अगावै (सन् २०१७ जनवरी सम्म थियो ।) ति कामहरु सकिएका हुन् । सिटिसिई कालिका जेभीसँंगको सम्झौता अनुसार काम सकिनु नगरवासीहरुका लागि पनि गौरवको विषय हो । यस्तै उप–महानगरपालिकाको आन्तरिक श्रोतबाट ०.४५ कि.मी. सडक कच्ची, ९.१५ कि.मी. ग्राभेल, ०.८९ कि.मी. पिसीसी, ०.३२७ कि.मी. पिच कार्य पनि सम्पन्न भएका छन् । नेपालगञ्जको पुरानो शहरी क्षेत्रमा पनि सडक विकास, विस्तार हुँदैछ । सडक खाली गर्न कठिन हुँदै आएको सदरलाइन(चारवाहीनी–त्रीवेणीमोड) क्षेत्र पनि अब केही महिनाभित्रै खाली गरिदैछ । स्थानीय घरधनी÷व्यवसायी स्वस्फुर्त संगठित भएर आफनो घर÷संरचना भत्काउन तयार देखीएका छन् । यस्तै फुलटेक्रा– त्रिवेणीमोड, फुलटेक्रा–रामनगर– शान्तिनगर– चारवाहीनी रोड, सल्यानीवाग–गणेशपुर (सेतु विक चौक समेत) बसपार्क मिसीने रोड लगायत सात वटा सडक योजना सम्पन्न भएका छन् । यि रोडले यात्रुलाई सहज मात्र भएको छैन, व्यापार व्यवसाय बढनुका साथै नगरको सौन्दर्यता थपीएको छ । आगामी दिनमा उपमहानगरपालिकाले गाभिएका वडा(गाविस) कार्यालयसम्म पुग्ने सडक र कालोपत्रे निर्माणको योजना अघि सारेको छ । ग्रामिण क्षेत्रसँगको सडक पहुँचसँगै सरकारीे सेवा प्रवाह, ब्यवसाय÷कारोबारको सम्भावना पनि सहज र प्रभावकारी हुने देखीनेछ । एम्वुलेन्स, दमकल नपस्ने साँघुरो सडक विस्तारपछि ब्यवस्थित सहर, व्यवस्थित जीवनशैली बन्ने पक्का छ ।
ढल/नाला निर्माण
ढल/नाला बिनाको शहर सायद कल्पना गर्न सकिदैन । पानी जम्ने, अत्यधिक फोहर हुने शहरका रुपमा परिचीत नेपालगञ्जमा ढल नाली निकासको समस्या बढदो छ । नगरको भौतिक विकास र व्यवस्थित वजारको बाधकका रुपमा यहाँको ढल/नालीलाई लिइन्छ । पानी, फोहर जम्ने नेपालगञ्जमा ढल/नाली निकासको उचित व्यवस्थापन नहँुदा अनेकन समस्या सिर्जना भइरहेका छन् । उचित र प्रयाप्त ढल नाली नहुँदा नगरमा बाढी आउने, अनावश्यक फोहर वृद्धि हुने, जताततै पानी जम्ने, रोगजन्य किटाणु/जिवाणु फैलीने, रोगव्याधी लाग्ने जस्ता समस्या आउन सक्छन् । ढल/नाला निर्माण बिना फोहर व्यवस्थापन लगायतका समस्या समाधान हुने सम्भावना पनि रहदैन । एकिकृत शहरी विकास परियोजनामार्फत अहिलेसम्म नगर र नगर बाहिर गरि करिव ६० किमी ढल निर्माण गरिएको छ । नगरभित्र पानीको वहाव(भार) नआओस, पानी र फोहर नजमोस् भनेर नगर र वरिपरिका स्थान(विशेषतः प्राकृतिक) मा ढल/नाला निर्माण, विस्तार गरिएको थियो । ढल नाला व्यवस्थित नहुँदा विगतमा नगर डुवान परेको उदाहरण छ । सिटीसीकालिकाका अनुसार– राँझाचौकदेखि पश्चिम अमिलीया, दक्षिण पश्चिम दोन्द्रा नाला, बुद्ध चौकदेखि कण्ठीपुर हँुदैे डुडुवा नाला र दक्षिण पुर्व रतैया नाला निर्माण गरिएका छन् । यस्तै नगरमा ६ ओटा स्लाब कल्भर्ट, ह्युम पाइप कल्भर्ट र बजार क्षेत्रका नालामा ड्रेन कभर बनाइएको छ । एशियाली विकास वैंकको सहयोगमा क्षेत्रीय शहरी विकास परियोजनामार्फत पुनः ३६ कीमी ढल/नाला निर्माण हुँदैछ । परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जन नेपालगञ्जलाई ‘सहर’ बनाउने हो भने ढल निर्माण र सहर स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।
डुवान न्यूनीकरण गर्नु परियोजनाको प्रमुख जिम्मेवारी भएको बताउने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गीरीराज ज्ञवाली नाला सफा राख्न सकियो भने ३ घन्टा भन्दा बढी डुवान हनुे सम्भावना नरहने ठोकुवा गर्छन् ।
ल्याण्डफिल्ड साइड
शुक्रऋषी चौलागाईं
फोहर व्यवस्थापन नेपालगञ्जका लागि अर्को चुनौती हो । फोहर व्यवस्थापनकै लागि नगरसँगै जोडिएको क्षेत्रमा ठुलो संरचना निर्माण गरिदैछ । हिरमिनीया–७ मा फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण हुन लागेको हो । ल्याण्डफिल्ड साइड निमार्ण नै अहिलेका लागि फोहोर व्यवस्थापनको उपयुक्त उपाय हो । शहर सफा गराउनका लागि शहरमा उत्पादीत फोहोरलाई व्यवस्थापन गर्न जरुरी पनि छ । टेण्डर मूल्याङ्कन(सन् २०१६ को १३ जुन) गरि RAMKY-NANC JV सँग ३३ करोड ८८ लाख २७ हजार ३ सय २५ वरावरमा २०१८ जुलाइ १२ मा सम्पन्न हुने गरी सम्झौता गरिएको छ । ल्याण्डफिल्ड साइड निर्माण प्रक्रिया शुरु पनि भइसकेको छ । एकिकृत शहरी विकास परियोजना मार्फत २० वटा गरिव वस्तीमा टोलस्तरीय संस्था गठन गरि १५ वटा रिफलेक्ट साक्षरता कक्षा संचालन गरिएको छ । कक्षामार्फत स्वास्थ्य, सरसफाईका अभियानहरु सञ्चालन भइरहेका छन् । यस्तै नगरमा ६३ वटा शौचालय निर्माण भएका छन् भने ५/६ वटा बन्ने क्रममा छन् ।
नगरसँगै जोडिएको शमशानघाट क्षेत्रमा फोहर फाल्न नदिइएपछि अहिले इन्द्रपुरमा फोहर व्यवस्थापन गरिएको छ । विभिन्न नयाँ स्थान पत्ता लगाउँदै फोहर फाल्नुपर्ने बाध्यतामा अहिले उपमहानगरपालिका रहेको छ । यदि ल्याण्ड फिल्ड साइड निर्माण भए सो को समस्या वर्षौका लागि लागि दुर हुने छ ।
आश लाग्दा थप संरचना
नेपालगञ्जमा थप आशलाग्दा विकासका संरचनाहरु पनि निर्माण हुँदैछन् । जसले नेपालगञ्जको स्वरुपमा नै परिवर्तन गर्ने आशा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार नेपालगञ्ज २७ र २८ मा अवस्थित कान्ति ताललाई अत्याधुनीक पर्यटकीय केन्द्रका रुपमा विकास गरिदैछ । दुई करोड ८४ लाख वरावरको ठेक्का सम्झौता भइ एक करोड ७० लाखको बराबरको कार्य सम्पन्न भइसकेको छ भने दोश्रो चरणको एक करोड ९५ लाखको टेण्डर आह्वान भइसकेको छ । फुल्टेक्रा चौकदेखि उक्त ताल सम्म जाने बाटो पिच र नाली निर्माण कार्य पनि बढदैछ । यसको निर्माण कार्यसँगै पर्यटन विकास प्रारम्भ हुने छ भने आय आर्जनको प्रमुख श्रोत केन्द्र पनि बन्ने छ ।
व्यवस्थित बसपार्कको अभाव झेल्दै आएको नेपालगञ्जमा अब अत्याधुनिक बसपार्क बन्दैछ । सपिङ्ग कम्प्लेक्ससहितको वसपार्क निर्माण कार्य जारी रहेको छ । लथालिंग रानीतलाउलाई पनि नयाँ रुप दिइदैछ । पर्यटन प्रवद्र्धनका लागि डिप बोरिङ्ग निर्माणसँगै रानी तलाउको पुननिर्माण कार्र्य बढाइदैछ । यस्तै बागेश्वरी मन्दिरस्थित पोखरी सरसफाई र बगैचामा योग साधना केन्द्र स्थापना गरिने तयारी गरिदैछ । सांस्कृतिक, धार्मिक र जलयात्रा पर्यटनको संगमस्थलका रुपमा विकास गरिने तयारी छ । वाटरपार्कको पनि मास्टर प्लान बमोजिम कार्य अगाडी बढाउने तयारी गरिदैछ । राँझा एयरपोर्ट नजिकको सामुदायिक बन र खाली स्थानमा बोटानिकल गार्डेन सहितको इको टुरिजम पार्क, मनिकापुर आर्मी व्यारेक नजिक खाली जमिनमा गल्फ कोर्ष वा खेलग्राम निर्माणको लागि सम्भाव्यता अध्ययन गरीने पनि उपमहानगरपालिकाले जनाएको छ ।
अन्तमा
यही रफ्तारमा विकास कोरिने हो भने नेपालगञ्जको मुहार चाँडै नै फेरिनेछ । नेपालगञ्जको समस्या अरु केही या कोही होइन हामी स्वयं हौं । सबैभन्दा ठूलो समस्या भनेकै यहाँका स्थानीयमा विकासको सपना नहुनु हो । त्यसमाथि नेपालगञ्जमा बाहिरियाको बोलबाला छ । उनीहरु धेर थोर विकास निर्माण, सचेतना अभियानमा लागे पनि स्थानीयको प्रयाप्त साथ र सहयोगको खाँचो छ । नगरपालिका जनप्रतिनिधिविहीन भएपछि समस्या झनै बल्झिदै गएको हो । कार्यकारी अधिकृतका रुपमा आउने ‘नगर प्रमुख’हरु नियमित कामकाजमै व्यस्त बने भने नेपालगञ्जलाई सुन्दर र समृद्ध बनाउन राजीनीतिक दलले पनि कुनै नयाँ योजना र दृष्टिकोण ल्याएनन् । जसको फलस्वरुप नगरले फड्को मार्न सकेन । स्थानीयहरु मौन बस्ने प्रवृतिले ग्रस्त छन् । आएको विकासलाई पनि सही रुपमा सदुपयोग गर्न अघि सर्दैनन् । राझा जमुनाहा सडक गुणस्तरहीन बनीरहँदा पनि नेपालगञ्जवासी तमासे बनीरहेको उदाहरण ताजै छ । तर पछिल्लो समयमा देखीएको विकासको स्वरुपले नगरवासीको जीवन स्वरुपमा पनि सकरात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
नेपालगञ्जवासी जाग्ने हो भने यहीँकै आन्तरिक आम्दानीले पनि थुप्रै विकास गर्न सकिने सम्भावना छ । उपमहानगरपालिकाको वार्षिक आन्तरिक आम्दानी करिब ८ करोड हाराहारी छ । अन्य शहरमा विकास निर्माण लगायत सरसफाई जस्ता योजना, अभियानमा जनताको बरावरी साझेदारी हुने गर्दछ तर नेपालगञ्जमा भने शून्य झै छ । जनता जागरुक हुने हो भने नेपालगञ्जको समग्र विकास असम्भव छैन । नेपालगञ्ज राजनीतिक रुपमा पनि कमजोर छैन । केवल आपसी एकता र इच्छाशक्तिको अभाव छ । विकासे काममा साझा धारणा बनाउन नसक्नु र बनाए पनि तदारुकता देखाउन नसक्नु स्थानीय नेताहरुको कमजोरी मात्र होइन । जनभावनाको कदर गर्न नसक्नु पनि हो यसर्थ अब राजनीतिक दलले विकासमा साझा दृष्टिकोण बनाएर अग्रसरता देखाउनु पर्छ । जनताले पनि विकासका लागि हामी स्वयं भन्ने भावना जागृत गर्नु पर्दछ ।
लेखक नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति हुन् ।