द्वन्द्वको रूपान्तरण
प्रकाशित मिति : २०७३, २९ फाल्गुन आईतवार ०९:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डा. टीकाराम पोखरेल
नेपालगन्ज । स्थानीय तहको चुनाव घोषणाको उत्साहसँगै केही अप्रिय घटनाहरू पनि देखिएका छन् । पछिल्लो समय सप्तरीमा भएको हिंसात्मक घटनाले अब फेरि राजनीति निकासको बाटोेतर्फ नगएर अन्योलतर्फ नै त धकेलिँदैन भन्ने आशंका पनि जन्माएको छ । अप्रिय घटना नहुनुपर्ने थियो तर भइसकेको छ । भैसकेको यो घटनाबाट पाठ सिकेर आगामी दिनमा संयम अपनाउँदै थप घटना हुन नदिन सतर्कता अपनाउनुको विकल्प छैन । यो हिंसात्मक घटना अन्तिम भयो भने आगामी दिन फेरि सहज ढङ्गले अगाडि जाने छन् । यदि त्यस्तो नभएर हिंसाको शृङ्खला दोहोरियो वा प्रतिहिंसा भयो भने त्यसले कहिल्यै निकास दिने छैन, बरु देशलाई दल दलमा फसाउने छ । त्यसैले थप हिंसा हुन नदिन सबै पक्षको बुद्धिमत्तापूर्ण संयमको आवश्यकता छ ।
केही दशकदेखि नेपालमा राजनीतिमा हिंसाले प्रश्रय पाउँदै आएको छ । हिंसा गर्ने, त्यसमा प्रतिहिंसा थप्ने र हिंसा र प्रतिहिंसा दुवैलाई मानव अधिकारको उल्लङ्घनसँग नजोडेर राजनीतिसँग जोड्ने काम विगतमा भएको छ । १० वर्षे द्वन्द्वमा हिंसाको राजनीति चरम थियो । मुलुक शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि हिंसाको राजनीतिकोे अन्त्य भएन । एकपछि अर्को हिंसाका शृङ्खला दोहोरिए । हिंसा भए आन्दोलन चर्किन्छ र त्यसले आन्दोलनकारीलाई बल पुग्छ भन्ने नकारात्मक चिन्तनबाट आन्दोलनकारीहरू निर्देशित भए भने सत्ता पक्षमा दुई चारजना मान्छे मारेपछि आन्दोलन निमिट्यान्न हुन्छ भन्ने मनोग्रन्थीप्रेरित भयो । तर हिंसाबाट न आन्दोलनलाई उचाइमा पु¥याउन थप बल मिल्यो न आन्दोलन निमिट्यान्न भयो । बरु यस्ता हिंसाले थप अन्योल मात्र बढ्यो । यसैले हिंसालाई राजनीतिसँग जोड्दा उल्टो राजनीति नै विकृत भयो ।
हिंसा कुनै पनि अर्थमा राजनीति हुन सक्तैन । त्यो जुनसुकै बहानामा, जुनसुकै पक्ष वा जुनसुकै अवस्थामा गरिएको होस्, हिंसा हिंसा नै हो । हिंसा मानवलाई अमानव बनाउने प्रमुख सूचक हो । यो राजनीति नभएर जंगली जीवनशैलीको द्योतक हो । झन् प्रतिहिंसा त राजनीति हुँदै होइन । हिंसाले होस् वा प्रतिहिंसाले होस्, न त समाजलाई सुधार्छ न त कुनै परिवर्तन नै हुन्छ । त्यसैले यो परम्परागत चिन्तनबाट सबै पक्ष मुुक्त भई हिंसा र प्रतिहिंसा तत्काल बन्द गरी सभ्य र सुसंस्कृत राजनीतिको परिचय दिनु पर्दछ । हिंसा गर्ने कुरामा कसले हार्ने र कसले जित्ने भन्ने प्रतिस्पर्धा गर्नु हुन्न । यसमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनु आवश्यक छ ।
देशको राजनीति अझै संक्रमणमा छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्न धेरै काम बाँकी छ । जनआन्दोलन २०६२/६३ मा बलेको असन्तुष्टिको आगो अझै पूर्ण रूपमा निभिसकेको छैन । संविधान कार्यान्वयनमा यावत् जटिलताहरू बाँकी छन् । असन्तुष्ट पक्षको विचारलाई सम्बोधन गर्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिँदो छ । तथापि समाधानका केही प्रयास भएका छन्, तर पनि ती जनताले अनुभूति गर्ने गरी कामयावी हुन सकेका छैनन् । त्यसैले यो बेला संविधानको कार्यान्वयनमा देखा परेका समस्याको सम्बोधन गर्ने बेला हो । हिंसा र प्रतिहिंसाको राजनीति गर्ने बेला होइन ।
जनआन्दोलनपछि अहिलेसम्म जे जति राजनीतिक उपलब्धिको संस्थागत गर्ने काम भयो त्यो कुनै एक पक्षको प्रयासले भएको होइन । सर्वपक्षीय प्रयासका उपज हुन् । यसकारण बुझ्नुपर्ने कुरा के हो भने अबका दिनहरू पनि त्यति सहज छैनन् । त्यो असहजताको सम्बोधन गर्न कुनै एक पक्ष वा शक्तिको प्रयासले सम्भव हुने देखिँदैन । त्यसैले सत्तामा रहेका दल हुन् वा प्रतिपक्षमा रहेका दल हुन् सबै एकै एजेन्डामा आई अगाडि बढ्नुको विकल्प छैन ।
जबसम्म संविधानको पूर्ण कार्यान्वयन हुँदैन, त्यो अवस्थासम्म सबै राजनीतिक शक्ति एकै ठाउँमा एउटै एजेन्डामा आउनुपर्छ । एक ठाउँमा हुन एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्छ । अरूको विचारको पनि सम्मान गर्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का भने झैँ मैले भनेकै हुनुपर्छ भन्ने हो भने कसैले चाहेको जस्तो पनि हुँदैन । बरु ‘अदृश्य शक्ति’ले चाहेजस्तो हुन्छ । त्यसैले यति धेरै संघर्ष गरेका दलहरूले त्यो अवस्था आउन दिनु हुँदैन ।
‘मधेश’ आन्दोलनमा दन्केको आगो निभ्नै लागेको थियो तर सप्तरी घटनाले त्यसलाई फेरि जगाइदिएको छ । साम्य हुँदै गएको अवस्थामा यसले चुनौती थपिदिएको छ । चुनाव हुनु हुँदैन भन्ने पक्षलाई यो घटनाले फाइदा पु¥याएको छ । त्यसैले दलहरू झगडा गरेमा प्रतिगमनलाई फाइदा पुग्छ भन्ने कुरा जिम्मेवार दलहरूले बुझ्नुपर्छ ।
द्वन्द्वको सिद्धान्तले भन्छ – द्वन्द्वलाई दबाएर कहिल्यै द्वन्द्वको अन्त्य हुँदैन । त्यसैले पछिल्लो समय द्वन्द्व र असहमतिलाई दबाउने वा वेवास्ता गर्ने होइन बरु रूपान्तरण गर्नुपर्ने अवधारणा आएको छ । रूपान्तरणको प्रक्रियामा पहिलो पाइला भनेकै द्वन्द्वका कारणहरूको खोजी हो । त्यसपछि दोस्रो चरणमा त्यसको सम्बोधन र त्यसमा संलग्नहरूको द्वन्द्व रूपान्तरण प्रक्रियामा सहभागिता हो । तर सत्तामा बस्नेहरूले जहिले पनि द्वन्द्व र आन्दोलनलाई सानो रहँदासम्म वेवास्ता गर्ने र ठूलो भएपछि दबाउन खोज्ने गर्दा द्वन्द्व भड्केर विकराल रूप लिएका उदाहरण छन् । विगतको माओवादी द्वन्द्व होस् वा मधेश आन्दोलन होस्, समयमा सम्बोधन नगर्दाका उपज हुन् । मधेशको पछिल्लो आन्दोलन पनि त्यस्तै नहोस् भन्नाका लागि यसलाई समयमै सम्बोधन गर्नुपर्दछ । यो देशले द्वन्द्व धेरै भोगिसक्यो । अब यो देशलाई द्वन्द्वको आवश्यकता छैन । त्यसैले थप द्वन्द्व नगरौँ । द्वन्द्वको समयमै रूपान्तरण गरौँ । समयमै समस्याको समाधान गरौँ । त्यसैमा सबैको जित हुन्छ ।
राजनीतिमा असहमतिका स्वरहरू जतिसुकै झिना किन हुन् तिनलाई कमजोर आँकलन गरिनुहुन्न । समयमै सम्बोधन गर्न नसके त्यो झिनो स्वर पछि ठूलो हुन्छ । पछि सम्बोधन गर्छु भन्दा ढिलो भइसकेको हुन्छ । राजनीतिमा कसैको असहमति भनेको आगोको झिल्को हो । त्यसलाई बेलैमा व्यवस्थापन नगरे डढेलोमा परिणत हुन्छ । त्यसपछि त्यसलाई निभाउन गाह्रो हुन्छ । चाहेर पनि निभाउन सकिन्न । आगो दन्केपछि पछुताउनु बाहेक अर्को विकल्प हुन्न ।
सप्तरी घटनामा कोही न कोही दोषी पक्कै छन् । तर यति बेला दोषी को हो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा पनि सबै पक्षले त्यस घटनाप्रति आत्मआलोचना गर्दै अब त्यस्तो घटना हुन नदिन आवश्यक सतर्कता अपनाउने र एक अर्काप्रति आक्रोशपूर्ण व्यवहार नगरी संयम अपनाउने समय हो । यदि त्यसो गरिएन भने त्यो द्वन्द्व गर्ने पक्षलाई मात्र होइन देशकै लागि प्रत्युत्पादक हुन्छ । यतिबेला कसैले उग्रता प्रदर्शन गरेर आफू बहादुर बनिन्छ भन्ने सोचेको छ भने त्यो उसको भ्रम हो । जति उग्रता उति नै जनताका नजरमा टाढिनु पर्छ । जो उग्र हुन्छ, जनमत उसको विपक्षमा जान्छ । चुनावको बेला जनमत नगुमाउने हो भने संयम र धैर्यको खाँचो छ ।
सप्तरी घटना नहुनुपथ्र्यो तर भयो । भइसकेको घटनालाई अब उल्ट्याउन सकिँदैन । तर थप त्यस्ता घटना नहोस् भनेर सतर्कता अवश्य अपनाउन सकिन्छ । यसरी सतर्कता अपनाउनुको सट्टा बलेको आगोमा घिऊ थप्दै जाने हो भने त्यो आगोले जनआन्दोलनका उपलब्धिमाथि नै औला ठड्याउँछ । यस्ता द्वन्द्वले विखण्डनवादी शक्तिलाई थप बलियो बनाउँछ । त्यसैले अब सप्तरीमा सल्केको आगोमा घिउ नथपौँ । पानी हालौँ । यसैमा सबैको हित छ । आगोले अरूलाई मात्र जलाउँदैन आफूलाई पनि जलाउँछ भन्ने कुरा कसैले पनि नभुलौँ । कुनै पनि जिम्मेवार दल देशमा आगो बालेर मूकदर्शक नबनौँ ।
Advertisement