निर्वाचनमा सेनाको प्रस्तुति
प्रकाशित मिति : २०७३, २० चैत्र आईतवार ०६:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डा.पुरुषोत्तम मरहठ्ठा
नेपालगन्ज ।
सेना कुनै पनि स्वतन्त्र देशको शासन व्यवस्थाका रक्षाका लागि अति आवश्यक हुन्छ । जसरी भारतमा राष्ट्रपतिलाई भारतीय सशस्त्र सेनाको सर्वोच्च कमान सुम्पिएको हुन्छ भने नागरिक रक्षाको दायित्व मन्त्रिमण्डलमा रहेको हुन्छ । भारतमा जल, थल, वायु र अर्धसैनिक गरी लगभग १४ लाख सैनिक भएको अनुमान गरिन्छ । नेपालमा पनि लगभग ९३ हजार जति सेना रहेको अनुमान गरिन्छ । अमेरिकाले १० प्रतिशतले वृद्धि गरेकै कारण चीनले हालै सेनामा सात प्रतिशतले बजेट वृद्धि गरी सेनालाई आधुनिकीकरण गर्न बाध्य भयो । सेनाकोे आकार ठूलो हुँदैमा केही हुन्न । व्यावसायिक र दक्ष सेना तिखारिराखेको छ भने व्यावसायिकता र तटस्थताले उसको उचाइ बढेको हुन्छ । त्यस्तोबाट मुलुकको सुरक्षा हुन सक्छ ।
विश्वमै लोकप्रिय रहेको नेपाली सेनाप्रति सबै नेपालीको आशा र भरोसा रहेको छ । आइलाग्नेमाथि जाइलाग्ने परम्पराबाट हुर्केको सेनाले कहिल्यै कसैको बीउ फाँड्ने अवस्था नै आएन । नेपाली सेना सदैव एउटा ब्राण्डको रूपमा रह्यो । ‘प्यारेन्ट (अभिभावक) आर्मी’ भएकै कारण अबको निर्वाचनमा यसले कसैको पनि एकथोपा रगत र आँसु नबगोस् भनेर सचेत हुनै पर्दछ ।
हाल हिंसाप्रति कतिपय नेपालीको मोह बढ्न थालेको छ । बुद्धको देशमा शान्ति खल्बलिंदै गएको छ । सबै चीज अतिवादको चपेटामा पुगेको छ । राजनीति पनि अति दक्षिणपन्थी र अति वामपन्थीमा ध्रुवीकरण हुँदै गएको छ । पृथ्वीनारायणकालीन रक्षा सूत्रले अझैसम्म मुलुक चलेको छ । तर तिनैको सत्तोसरापमा कृतघ्नहरू लागिरहेका छन् । जाइकटक नगर्नु झिकी कटक गर्नु भन्ने अढाइसय वर्ष अघिको किम्वदन्ती मिथकको रूपमा अझैसम्म बिम्ब बनेर बसेको छ । सेना र किसान राष्ट्रको मेरुदण्ड भन्ने युगद्रष्टाले कहिल्यै सेनालाई आर्थिक रूपमा कुनै सुर्ता र चिन्ता लिनु नपर्ने गरी बन्दोवस्त गरिदिएका थिए । हालका दिनमा नेपाली सेनाको कल्याणकारी कोष सायद यसैको उदाहरण हुन सक्छ । नेपाली सेनाको वहालवाला तथा भूतपूर्व र निजका परिवारका कल्याणसम्बन्धी कार्यका लागि बनाइएको यस्तो कोष पृथ्वीनारायण शाहले राज्य विस्तारमा वीरगति प्राप्त गर्ने सेनालाई दिइने ‘मरवट’भन्दा के फरक भयो ?
सेनाको भविष्य जुन राष्ट्रले सुरक्षित गरेको हुन्छ त्यहाँको सेनामा पनि त्याग र बलिदानीको भावना विकास हुन पुग्दछ । कठीन र कठोरमा खारिएका सेनाले नागरिकको जीवन सरल र सहज बनाइदिन सक्दछन् । घातक बल प्रयोग नेपालले अहिलेसम्म कसैको विरुद्ध गर्न परेको छैन ।
सेनामा अनुशासन, मनोबल, नेतृत्व, साहस, देशभक्ति जस्ता तìव भएकै कारण युद्ध लडिन्छ र जितिन्छ । युद्धको आफ्नो कुनै विज्ञान हुँदैन तर, युद्ध अनेक प्रकारको विज्ञानसँग सम्बन्धित रहन्छ । वास्तवमा युद्ध कला र कौशलबाट खेलिने सामरिक व्यूह रचनाभित्र पर्दछ । तर वर्तमान समयमा युद्ध ज्यादै खर्चिलो बन्न पुगेको छ । भारतले ५२ दिनसम्म लडेको कारगिल सङ्घर्षमा अर्बौं रुपियाँ सिध्यायो । निरर्थक युद्धले निरन्तरको शत्रुता बढाउने सिवाय केही गरेन । आखिर त्यसको परिणाम के ? शत्रुता बढ्ने युद्ध कुनै पनि देशको लागि प्रिय बन्न सक्दैन ।
कुकुर खेलाउनेको हातमा कुनै न कुनै तवरबाट कुकुरले टोकेकै हुन्छ । आतङ्कवाद पनि पहिलोपटक जसले खेलाउँछ त्यसले खेलाउनेलाई नै सिध्याउँछ । जर्ज क्राइलले व्यक्त गरेको यो धारणा शायद नेपालमा बढ्दै गएको उग्रवादका सन्दर्भमा लागू नहोला भन्न सकिन्न । आतङ्कवादलाई जसले जुन प्रयोजनमा खेलाएका छन् आखिर त्यसको मार पर्दा पछाडि बसेर ‘रिमोट’ चलाउनेकै विरुद्ध नलाग्ला भन्न सकिन्न । सेनाले यस्ता आतङ्क नियन्त्रणमा राखी सबै नागरिकलाई आफू सुरक्षित छु भन्ने विश्वास दिलाउनु पर्दछ ।
अर्कोतिर राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिमा नेपाली सेना लगायत सबै सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने संविधानमै लेखिएपछि स्थानीय निर्वाचन गराउनुपर्ने दायित्वबाट सेना पन्छिन सक्दैन । कसैको पनि आँसु र रगत बग्न नदिने प्रतिबद्धता सरकारले गर्ने हो भने प्रजातन्त्रको सुन्दर पक्ष निर्वाचन सम्पन्न गर्न कुनै कठिनाइ देखिन्न ।
मन्त्रिपरिषद्लाई सिफारिसका प्रयोजनार्थ प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म रहेको रक्षा, गृह, अर्थ, परराष्ट्र मन्त्रालयका मन्त्री र मुख्य सचिवसहितको राष्ट्रिय सुरक्षा परिषद्ले सेना मातहत युनिफाइड कमाण्ड अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आन्तरिक रूपमा परिचालन गर्नलाई संविधानले बाटो खुल्ला गरिदिएको छ । लोकतन्त्रको सुरक्षा र संविधान अनुसार चल्नका लागि सेना वैशाख ३१ को निर्वाचनसम्म परिचालन हुन सक्यो भने मुलुकभित्र बढ्दै गएको अस्तव्यस्त र अराजक गतिविधि केही हदमा नियन्त्रण आउने निश्चित छ ।
देशको आन्तरिक निर्वाचनमा सेना परिचालन हुनु राष्ट्र्यि सुरक्षाको दृष्टिले कसरी अनुपयुक्त हुनसक्छ ? सैनिक ऐन, २०६३ को प्रस्तावनामा नै “ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको र राज्यशक्तिको स्रोत नेपाली जनता नै रहेको हुँदा नेपाली सेनालाई नेपाली जनताप्रति उत्तरदायी बनाउन” भनिएको छ । लोकतन्त्रको शत्रु दण्डहीनता भएको र हालका दिनमा मुलुकमा देखिएको अराजक स्थितिमाथि नियन्त्रण राखी वैशाख ३१ को निर्वाचन कुनै हालतमा बिथोलिन नदिन सेना परिचालन समयको आवश्यकता बन्न पुगेको छ ।
संविधान जारी भएपछि पनि निर्वाचन हुन नसक्नु भनेको लाजमर्दो विषय हो । संविधान कार्यान्वयनको चरणमा संक्रमणकालीन न्यायको व्यवस्था गर्न अझैसम्म दलहरू सफल भएनन् । विभिन्न विचारको पसल खोल्ने दलहरू अझै पनि चुनावबाट डराएका छन् । हार्ने चुनाव ठानेर व्यक्तिगत र दलगत स्वार्थमा धकेल्ने काम भयो भने त्यस समय कारण दिइनेछ “सुरक्षा“ । त्यसैले ‘युनिफाइड कमाण्ड’को नेतृत्वमा रहेको सेनाले मुलुकको सबै बललाई परिचालन गरी आवश्यक नेतृत्व दिन सक्यो भने सबैले सराहनीय ठान्नेछन् । सेनाको उपस्थिति भनेको यो अवस्थाको विकल्प पनि होइन र भ्याकुममा खेल्ने ठाउँ दिनका लागि हैन । नेपाली सेनालाई हरेक चुनौतीसँग खेल्न दिनुपर्दछ तर, यो संविधान र पद्धतिमा भने बाँधिनै पर्दछ । मुलुकमा पद्धति बसाल्ने दलहरू मात्र होइन सुरक्षा बल पनि हो है भनेर अबका केही दिनमा उसको भूमिका राज्यले खोज्नु आवश्यक छ ।
एकपटकको चुनावले मात्र थिति बसाल्न सम्भव छैन । यद्यपि थिति बसाल्न सैन्य शक्तिले बरोबर हात हाल्न थाल्यो भने त्यसले सत्तामा आकर्षण देख्न थाल्दछ । देशको स्वाधीनतालाई उचाईमा राख्न सेनाको जिम्मेवारी ‘होलिस्टिक एप्रोच’को आधारमा हेरिनुपर्ने हुन्छ । संवैधानिक संकट बढ्दै गएकोे वर्तमान अवस्थामा निर्वाचन सर्दै गयो भने मुलुकले हालसम्म धकेल्दै ल्याएको उपलब्धि शून्यमा जान सक्छ । सेनाको पछिल्लो समय भूमिकामा फेरबदल भएको छ । पुरानो शक्तिसँग उसले सम्बन्ध विच्छेद गरेपछि लोकतन्त्रको आधारभूत खम्बा राजनीतिक दललाई बाइपास गर्ने अवस्थामा सेना देखिन्न । लोकतन्त्रमा दलको विकल्प दल मात्र हो । तर दलहरूमा विचारधाराको पर्खाल बाधक देखिएको छ । अबका दिनमा आवधिक निर्वाचन सहज बनाउन सकिए मात्र वर्तमान संविधान प्रयोगमा आएको सबैले महसुस गर्न सक्नेछन् ।
आतङ्कवादीको जत्थाले जहिले पनि सुधारको प्रयासमाथि ‘टार्गेट’ गरेको बिर्सन सकिन्न । नियम कानुन तोड्ने पद्धतिले अन्तरविरोध मात्र जन्माउँदैन । मुलुकभित्र कहिल्यै नमेटिने द्वन्द्वको विकास र विस्तारले विगतको शान्त मुलुक शनैः शनैः डरलाग्दो भुमरीमा फस्न गएको तीतो यथार्थ सबैले स्वीकार्नै पर्दछ । त्यसैले विदेशमा समेत प्रशस्ती पाएको सेनाबाट आगामी निर्वाचनको समयमा राम्रो प्रस्तुती भई निर्वाचनमा कसैको पनि एकथोपा रगत र आँसु बग्न नदिन, बिगँ्रदो परिस्थितिलाई नियन्त्रणमा राख्न योगदान पु¥याउनुपर्छ । राज्यले अपनाउने यो अन्तिम नभएर सुरुवाती प्रयास थालनी गर्ने होे भने सुरक्षाको अनुभूतिले स्थानीय चुनावमा मतदाताको अधिकतम भोट खस्न सक्छ । भयको रजाइँसँगै उग्रवादलाई परास्त गर्न मुलुकमा यो बाहेक अर्को विकल्प देखिन्न ।
Advertisement